कर्णाली प्रहरी प्रमुख डीआईजी भन्छन्ः कर्णालीमा महिला हिंसाका घटना उच्च
दैलेख : कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्तकुमार पन्तले कर्णालीमा सामाजिक अपराधका घटना उच्च रहेको बताएका छन् ।
प्रहरी चौकी तल्लो डुङ्गेश्वर र प्रहरी चौकी चुप्राको नवनिर्मित भवन उद्घाटनको शिलशिलामा दैलेख आएका प्रहरी नायव महानिरीक्षक पन्तले प्रदेशमा महिला हिंसा, मादक पदार्थ सेवन गरेर झै–झगडा गर्ने, आत्महत्या तथा बाल विवाहका घटना उच्च रहेको बताएका हुन् ।
प्रदेशको शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै प्रहरी नायव महानिरीक्षक पन्तले भने ‘सामाजिक अपराधलाई न्यूनिकरण गर्न प्रहरीले विभिन्न अभियानहरु सञ्चालन गरिरहेको छ ।’
सामाजिक अपराधमध्ये महिला हिंसाका घटना थप बढिरहेको उनको भनाइ छ । कोभिड–१९ का कारणले पनि आत्महत्याका घटना बढेको प्रहरी नायव महानिरीक्षक पन्तले बताए । ‘सामाजिक अपराधका घटना अन्त्य गर्न हरेक व्यक्ति शिक्षित हुनुपर्छ यद्यपि हालको अवस्थामा प्रहरीले जनचेतनामुलक कार्यक्रमहरु, घरदैलोमा पुगेर समस्याहरु पहिचान गरेर समस्या समाधान गर्ने तथा नागरिकहरुलाई सुसुचित गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ,’ प्रहरी नायव महानिरीक्षक पन्तले भने ।
सामाजिक अपराधका घटनाहरु न्यूनिकरण गर्न कर्णालीका १० वटै जिल्लामा कार्यरत महिला र पुरुष प्रहरी अधिकृतहरुलाई तालिम दिएर गाउँ गाउँमा पठाउने तयारी गरेको पनि उनले बताए । तालिम प्राप्त प्रहरी अधिकृतहरुले महिला हिंसा बढि भएका क्षेत्रहरुमा केन्द्रित गरेर कार्यक्रम सञ्चालन गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस !