अस्पताल शिलान्यासमै विवाद
दोलखा : दोलखाका ६ वटा स्थानीय तहमा ५ देखि १५ शैय्यासम्मको ६ वटा अस्पतालको शिलान्यास गरिएको छ । संघीय सरकारले अस्पताल स्थापनाका लागि स्थानीय तहमा रकम पठाएपछि दोलखाको ६ वटा स्थानीय तहमा ५ देखि १५ शैय्यासम्मको ६वटा अस्पताल शिलान्यास गरिएको हो ।
जिल्लाको बैत्यश्वर, भीमेश्वर, मेलुङ, तामाकोशी, गौरीशंकर र शैलुङ गरी ७ ओटा अस्पताल शिलान्यास हुनु पर्नेमा गौरीशंकर गाउँपालिकामा स्थान विवादको कारण ५ शैय्याको अस्पताल शिलान्यास हुन सकेन । कालिञ्चोक गाउँपालिकाको सिंगटीस्थित सिंगटी प्राथमिक स्वास्थ्य केन्द्रलाई भने १५ शैय्या क्षमतामा स्तरोन्नति गरिएको छ ।
बैत्यश्वर गाउँपालिकाको मैनापोखरीमा, भीमेश्वर नगरपालिकाको चरिकोटमा, तामाकोशी गाउँपालिकाको मालुमा, गौरीशंकर गाउँपालिकाको सुरीमा, मेलुङ गाउँपालिकाको भेड्पुमा र शैलुङ गाउँपालिकाको बागखोरमा अस्पताल शिलान्यास गरिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए ।
गौरीशंकर गाउँपालिका–५, सुरीको इविथानमा १५ शैय्याको अस्पताल जबरजस्ती शिलान्यास गरिएको गौरीशंकर गाउँपालिकाका स्थानीय बिमल आचार्यले जानकारी दिए । अर्को ५ शैय्याको अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने विवादले शिलान्यास हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
नेपाली काँग्रेस गौरीशंकर गाउँपालिकाले मानव बस्ती नै नभएको स्थान तथा अन्य वडाहरुलाई दुर्गम पार्ने गरी अस्पताल सुरु गरेको भन्दै विज्ञप्तीमार्फत विरोध जनाएको छ भने विभिन्न वडाध्यक्षहरुले समेत सामाजिक सञ्जालमार्फत अस्पतालको स्थानको बारेमा विरोध जनाएका छन् ।
भीमेश्वर, बैत्यश्वर र गौरीशंकरमा १५ शैय्याको, तामाकोशीमा १० र मेलुङ तथा शैलुङमा ५ शैय्याको अस्पताल शिलान्यास गरिएको प्रमुख झाले बताए । संघीय सरकारले १५ शैय्याको लागि १ करोड, १० शैय्याको लागि ८५ लाख र ५ शैय्याको अस्पतालको लागि ७० लाखको दरले बजेट पठाएको स्वास्थ्य कार्यालय प्रम्ख झाले बताए ।
३ गाउँपालिकाको केन्द्र सिंगटीमा स्तरोन्नती गरिएको अस्पतालले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच बढ्दै जाने कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले बताइन् ।