सेयर बजार २००० अंकमा

सेयर बजार २००० अंकमा

काठमाडौं : सेयर बजार सूचक नेप्सेले मंगलबार २ हजार अंक पार गरेको छ। सोमबारकै अन्तरदिवसीय (इन्ट्रा–डे) व्यापारमा नेप्से सूचकांक २०२८ अंक पार गरे पनि बजार बन्द हुँदा १९९५ भन्दा पनि तल झरेको थियो। मंगलबार पनि २०२२ अंकसम्म पुगेको नेप्से कारोबार रोकिँदा २०००.४० अंकमा बस्यो। मंगलबार अधिकांश कम्पनीको सेयर सस्तिए पनि बजार थेग्नमा नेपाल पुनर्बिमा कम्पनी, नेपाल टेलिकम र शिवम् सिमेन्टजस्ता कम्पनीले ठूलो सहयोग गरे।

पछिल्लो समय ११ सय अंकबाट ‘उकालो यात्रा’ सुरु गरेको नेप्से करिब ८२ प्रतिशत बढिसकेको छ। प्राविधिक विश्लेषणले सेयर बजारको बढ्दो गति अहिले नै रोकिने सम्भावना कमै रहेको देखाउँछ। यद्यपि, व्यापारको गतिले भने सूचकांक केही घटेर पुनः अर्को कीर्तिमानी स्तरमा ‘जम्प’ गर्न सक्ने संकेत गरेको छ।

विगतजस्तै बढ्दो बजारले अहिले धेरैको ध्यान तानेको छ। कोरोना महामारीबीच अधिकांश सूचीकृत कम्पनीको नाफा घट्ने र कतिपय कम्पनी घाटामै जाने निश्चित भएको छ। यस्तो बेला सेयर बजार भने लगातार उकालो लाग्नुलाई ‘वस्तुनिष्ठ’ नभएको भनेर टिप्पणी गर्ने पनि धेरै छन्। तर सट्टेबाजीको बजारमा यो प्रबृत्ति स्वाभाविक हुन्छ। सेयर बजारमा लगानीकर्ताले कुन कम्पनीको सेयर मूल्य कतिसम्म बढ्नसक्छ भन्ने आकलन गर्छन्। कसले कति लाभांश दिन्छ भन्ने लगानीकर्ताका लागि गौण हुन्छ।

लाभांश नभएर पूँजीगत लाभ (मूल्यबृद्धिबाट हुने नाफा)का लागि लगानी गर्ने भएकाले असहज परिस्थितिमा सेयर बजार उचाइमा पुग्ने गरेको विगतले देखाउँछ। चाहे सशस्त्र द्वन्द्व चर्किएका बेलामा होस् वा संविधान बन्न नसकेर व्यवसायीहरू लगानी गर्न तत्पर नभएका बेला पनि सेयर बजार उकालो लागेको थियो। भूकम्प र भारतीय नाकाबन्दीको कठीन समयमा पनि सेयर बजार उकालो लागिरह्यो। अहिले कोरोना महामारीले सबै आर्थिक क्षेत्र आक्रान्त भएका बेला सट्टेबजारबाट नाफा कमाउने लोभमा लगानी बढाउन थालिएको छ। ताकी, कोरोनाका कारण भएको वित्तीय क्षेतिमा भरथेग गर्न सघाउ पुगोस्।

बैंकमा पैसा थुप्रिँदाको परिणाम
बैंकमा पैसा थुप्रिएको छ। असोजसम्मको तथ्यांकले बैंकमा करीब २१ प्रतिशत निक्षेप बढ्दा ऋणको विस्तार साढे १२ प्रतिशतभन्दा पनि कम छ। रेमिट्यान्स आय बढिरहेको र विदेशबाट हुने आयात घटेका कारण मुलुकभित्र पैसाको सञ्चिति बढ्न थालेको हो। बैंकमा पैसा थुप्रिँदा पनि व्यवसायीले ऋण बढाउन सकेका छैनन्। उत्पादनमुलक उद्योगहरू एकातिर कामदार अभाव र अर्कातिर सामान नबिक्ने समस्याले आक्रान्त छन्। अन्तरराष्ट्रिय ब्यापारमा पनि कमी आएकाले व्यापारीले ऋण बढाउन सकेका छैनन्। यही कारण वित्तीय प्रणालीमा पैसा थुप्रिएको र ब्याजदर घटिरहेको छ। राष्ट्र बैंकको तथ्यांकले असोजमै ऋणको ब्याजदर अघिल्लो वर्षभन्दा लगभग २ प्रतिशत विन्दु घटेको देखाउँछ। पोहोर असोजमा औसत १२ प्रतिशत ब्याजद तिरिरहेका ऋणीले अहिले १० प्रतिशत पनि तिर्न नपर्ने भएको छ। त्यसमा पनि बैंकहरूले सेयर किन्न अरुभन्दा सस्तो ब्याजमा ऋण दिन्छन्। उदाहरणका लागि, एनआईसी एसिया बैंकले सेयर धितो कर्जा ७.७५ प्रतिशत ब्याजमा दिइरहेको छ। जबकी, घर, सवारी र व्यवसाय कर्जाको ब्याजदर ८.२५ प्रतिशत तोकिएको छ।

बैंकहरूले वैशाखदेखि असोज मसान्तसम्म मात्रै सेयर धितो कर्जाको पोर्टफोलियो (लगानीको आकार) ११ अर्ब ७४ करोड रुपैयाँभन्दा ज्यादा बढाएको राष्ट्र बैंकको तथ्यांक छ। अरु क्षेत्रमा ऋण लिने क्रम घट्दो पनि सेयरमा भने ऋण चुलिएको छ। त्यो तथ्यांक त्यसबीचमा जारी भएको नयाँ ऋणको वास्तविक अंक होइन। उक्त ६ महिनामा ठूलो आकारमा ऋण तिर्नेहरू पनि थिए। त्यसकारण यसबीचमा १२ अर्बभन्दा निकै बढी नयाँ ऋण सेयर बजारमा प्रवाह भएको छ। त्यसमाथि कात्तिकयता त सेयरमा यस्तो ऋण प्रवाह निकै बढेको बैंकर बताउँछन्। उनीहरूका अनुसार चैतयता ३० अर्बभन्दा बढी रकम सेयर धितोमा प्रवाह भएको हुन सक्छ। 

यद्यपि, लकडाउनपछि सेयर धितोमा कति ऋण प्रवाह भयो भन्ने आधिकारिक आँकडा भने उपलब्ध छैन। यसबाहेक बैंकहरूले कोरोनाप्रभावित व्यवसायको पुनरुत्थानका लागि भनेर ठूला ऋणीलाई १० प्रतिशत ऋण थपिदिएका छन्। त्यो पैसा पनि धेरै हदसम्म सेयरमा लगानी भएको व्यवसायी बताउँछन्। बढ्दो बजारमा पूँजीगत लाभ (नाफा) आर्जन गर्न व्यवसायिक ऋणको पैसासमेत सेयर किन्न खर्चिरहेका कारण सेयर बजार उकालो लाग्नमा सघाउ पुगेको छ।

सामूहिक लगानी कोषहरूको दुरुपयोग
सेयर बजारमा संस्थागत लगानी भित्र्याएपछि बजारको तीव्र उतारचढाव नियन्त्रण हुन्छ भन्ने आशा गरिएको थियो। त्यही आशामा खडा गरिएका सामूहिक लगानी कोषहरू ठूला लगानीकर्ताले दुरुपयोग गर्न थालेको गुनासो आएका छन्। नेपाल धितोपत्र बोर्डको आँकडाअनुसार यस्ता कोषले साढे १३ अर्बभन्दा बढी रकम सर्वसाधारणसँग उठाएका छन्। अझै ३ अर्ब रुपैयाँ संकलन गर्ने योजना पाइपलाइनमा छ। यो सबै पैसा सेयर बजारमा लगानी नभए पनि ठूलो हिस्सा भने गएको छ।

ब्रोकरका अनुसार ठूला लगानीकर्ताले नै सञ्चालन गरेका यस्ता सामुहिक लगानी कोषलाई अहिलेको उतारचढावपूर्ण बजारमा लगानी बढाउन साहुजिहरूले निर्देशन दिइरहेका छन्। जनतासँग १० रुपैयाँको दरले एकाइ बेचेर संकलन गरेको अर्बैैं रुपैयाँ ठूला सेयर खेलाडीका लागि ‘चलखेल गर्ने हतियार’ भएको ब्रोकर बताउँछन्। ‘पहिले आफूले सस्तोमा कुनै कम्पनीको सेयर किन्ने र पछि यस्ता कोषको लगानी बढाएर भाउ उचाल्ने काम भइरहेको छ,’ ती ब्रोकर भन्छन्, ‘यस्तो अभ्यासले आफू कमाउने, जनताको पैसा डुब्ने जोखिम बढेर गएको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.