धकेलाधकेल हुँदा वरिष्ठ नेता पौडेलको छातीमा समस्या : रिहाइको माग गर्दै तनहुँमा प्रदर्शन

धकेलाधकेल हुँदा वरिष्ठ नेता पौडेलको छातीमा समस्या : रिहाइको माग गर्दै तनहुँमा प्रदर्शन

दमौली : तनहुँको व्यास नगरपालिका १ मा रहेको बुल्दी पुल उद्घाटन विवादमा प्रहरीसँग भएको झडपमा परी संविधानसभा सदस्य रामचन्द्र पोखरेलसहित तीन कांग्रेस नेता घाइते भएका छन् । संविधानसभा सदस्य पोखरेललाई प्रहरीले तीन पटक लाठी प्रहार गरेको कांग्रेस सचिव विश्व बाँस्तोलाले जानकारी दिए ।

यसैगरी कांग्रेस सचिव लक्ष्मी आचार्य तथा महासमिति सदस्य रामचन्द्र अधिकारी पनि घाइते भएका छन् । घाइते तीनै जनाको रत्नहरि अस्पताल दमौलीमा उपचार भइरहेको छ ।

सचिव आचार्यको टाउकोमा चोट लागेको र महासमिति सदस्य अधिकारीको ढाड र खुट्टामा चोट लागेको सचिव बाँस्तोलाले बताए।

नेता पौडेलसहित कांग्रेस कार्यकर्ता पक्राउ

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहित झण्डै आधा दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् । कार्यवाहक सभापति जितप्रकाश आले, नेविसंघका गौरव पन्थ, सुनिल श्रेष्ठसहितका कार्यकर्ता पक्राउ परेको कांग्रेसले बताएको छ ।

यस अघि उद्घाटनको विरोधमा प्रशासन घेराउमा पुगेका युवा संघ जिल्ला संयोजक ईश्वर बस्यालसहित युवा संघका सह–संयोजक भगवान श्रेष्ठ, नेता बादल आलेलगायत प्रहरी नियन्त्रणमा छन् ।  

पौडेलको छातीमा समस्या

हाल प्रहरी कार्यालयमा रहेका नेता पौडेललाई केही नेतासँग भने भेट्न दिइएको छ । प्रदेशसभा सदस्य सरिता गुरुङ तथा जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्लेले उनलाई भेटेका छन्।

‘उहाँको छातीमा समस्या भएको भन्नुभएको छ,’ वाग्लेले भने । धकेला धकेल भएका कारण गाह्रो भएको बताएको वाग्लेले जानकारी दिए ।  

रिहाइको माग गर्दै प्रदर्शन सुरु

नेता पौडेलको रिहाइको माग गर्दै कांग्रेसका नेता कार्यकर्ताले दमौली मुख्य चोकस्थित प्रहरी कार्यालय अगाडि नाराबाजी थालेका छन् । उनीहरुले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।  

निषेधाज्ञापछि नेता पौडेललाई छाड्छौंः सीडीओ

प्रहरी नियन्त्रणमा रहेका कांग्रेस वरिष्ठ नेता पौडेल सुरक्षित रहेको प्रशासनले बताएको छ । 

प्रमुख जिल्ला अधिकारी (सीडीओ) सागर आचार्यले पौडेलले नेता सुरक्षित अवस्थामा प्रहरी नियन्त्रणमा रहेको भन्दै साँझ छाडिने बताए । ‘उहाँ नगइदिएको भए हुन्थ्यो,’ उनले भने,‘निषेधाज्ञाका बेलामा उहाँकै सुरक्षाका लागि नियन्त्रणमा लिएका हौं । साँझ उहाँलाई छाड्छौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.