अन्नपूर्ण होटेल बन्द

अन्नपूर्ण होटेल बन्द

काठमाडौं : मुलुकको पहिलो पाँच तारे होटल डेला अन्नपूर्ण होटल अनिश्चित कालका लागि बन्द भएको छ।

होटेल व्यवस्थापनले कोभिड १९ को महामारीका कारण बन्द गर्नुपरेको जनाएको छ। कोभिड महामारीका कारण स्वदेशी तथा विदेशी पाहुनाको आगमन शून्यमा झर्दा आर्थिक मन्दीले होटेल बन्द गर्नुपरेको सञ्चालक सिर्जना राणाले जानकारी दिइन्। 

‘होटल सदाको लागि बन्द गर्ने भनिएको छैन। खर्च धान्न नसकेर अवस्था सुधारोन्मुख नहुँदासम्मका लागि बन्द गरिएको हो’, राणाले बताइन्, ‘बन्द गर्नुपछाडि अन्य कुनै कारण छैन। पाहुना आगमनको अभाव हुँदा बन्द गरिएको हो।’ कोभिड १९ का कारण तत्कालै नेपालमा विदेशी पाहुना आउने सम्भावना छैन। विदेशी पाहुना नआएसम्म पाँचतारे होटलले सञ्चालन खर्च उठाउन सम्भव नभएकाले तत्कालका लागि बन्द गर्नुपरेको राणाले जानकारी दिइन्। 

सन् १९६५ मा दरबारमार्गको प्राइम लोकसनमा सञ्चालनमा आएको यो होटेलमा हाल आवश्यक र नियमित मर्मतसम्भारका लागि भने केही कर्मचारी नियमित रुपमा कार्यरत रहेका छन्। होटेल पुनः कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने विषय अहिले नै यकिनका साथ भन्न नसकिने राणाले बताइन्।

राणाका अनुसार अबको ५ वर्षमा नयाँ बिजनेस प्लानका आधारमा अघि बढाउने विषयमा गृहकार्य भइरहेको छ। नयाँ बिजनेसमा पुराना कर्मचारीलाई निरन्तरता दिने वा नदिने विषयमा पनि हाल खुलाइएको छैन। होटलमा राणाको ९० प्रतिशतभन्दा बढी सेयर छ। बाँकी नेपाल ट्रस्ट, गोरख शम्शेर, खेतान समूहलगायतको सेयर छ।

होटल व्यवसायी सन् २०२१ मा कोभिड १९ को समस्या समाधान भएर व्यवसायले पुनः गति लिने र आगामी सन् २०२२ बाट पुरानै लयमा फर्किने आश गरेका थिए। तर, आगामी सन् २०२२ सम्म होटलको भविष्य आफूले नदेखेको राणाले बताइन्। 

पुराना कर्मचारीबाट असन्तुष्टि 
राणा पुराना कर्मचारीबाट असन्तुष्ट छन्। होटलमा कुल ३ सय ६० जना कर्मचारीमध्ये २ सय ६० भन्दा बढी स्थायी कर्मचारी छन्। होटल स्थापनाकालदेखि नै सेवा दिँदै आएका कर्मचारी अहिलेको समयमा प्रतिस्पर्धी बन्न नसकेको उनको गुनासो छ। 

‘यही होटलमा ४० वर्षसम्म काम गरेका कर्मचारीकोे तलब १ लाख नाघिसक्यो। गफ गरेको भरमा ठूलो तलब उनीहरूले खान्छन्, श्रम ऐनका कारण उनीहरूलाई हटाउन पनि कठिन छ’, राणाले भनिन्। कोभिडको कारण देखाउँदै होटेल बन्द भएपछि कर्मचारी राजीनामा दिन बाध्य भएका छन्। करिब ५० स्थायी कर्मचारीले राजीनामा दिएका छन् । अन्नपूर्ण होटलका कर्मचारी र व्यवस्थापन पक्षबीचको उपदानसम्बन्धी मुद्दा श्रम कार्यालयमा छ। उपदानवापतको रकम श्रमिकलाई उपलब्ध गराउनुपर्ने भन्दै श्रम कार्यालयले कर्मचारीको पक्षमा निर्णय दिए पनि व्यवस्थापनले हालसम्म कार्यान्वयनमा ल्याएको छैन। श्रम कार्यालयको निर्णयविरुद्ध होटेल व्यस्थापनले श्रम अदालतमा मुद्दा दायर गरेको छ।

होटल मजदुर अनभिज्ञ
अनिश्चितकालका लागि बन्द भएको होटेलको विषयमा कामदार भने अनभिज्ञ छन्। सञ्चालन बन्द गर्ने विषयमा आफूलाई औपचारिक रुपमा कुनै जानकारी नआएको अन्नपूर्ण होटल मजदुर संघका अध्यक्ष तिर्थ सुवेदीले बताए। 

‘होटेल सञ्चालन बन्द गर्ने निर्णयको जानकारी औपचारिक रुपमा व्यवस्थापनले कर्मचारीलाई दिनुपर्ने हो’, सुवेदीले भने, ‘तर, हालसम्म कुनै पनि जानकारी हामीलाई दिइएको छैन।’ कोभिड १९ को कारण पाँचतारे सबै होटेल सञ्चालन हुन नसकेको विषय मात्रै जानकारी गराइएको सुवेदीले दाबी गरे।

‘केही कर्मचारी काम गरिरहेका छन्, प्रशासन पनि खुल्ला छ, सञ्चालन मात्रै भएको छैन। तर, बन्द भनेको भएको होइन’, दाबी गर्दै अध्यक्ष सुवेदीले भने। ४–५ वर्षको लागि होटल बन्द भएको र आगामी दिनमा नयाँ ढंगले सुरु हुने विषयमा भने आफूहरूलाई जानकारी नदिइएको उनको गुनासो छ।

होटल संघमा छलफल
होटलसँग आवद्ध मजदूर संगठन र होटल संघ नेपाल (हान)बीच २०२१ बाट कसरी अघि बढ्ने विषयमा छलफल सुरु भएको छ। 

गत असारमा भएको हान र तीन मजदुर संघ (अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुराँ मजदुर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ) बीच मजदुरलाई १० महिनाको न्यूनतम तलब दिने सहमति भएको थियो। सहमतिअनुसार दुई तारेदेखि पाँचतारेसम्मका होटलमा कार्यरत मजदुरलाई चैत २०७६ देखि १६ पुस २०७७ सम्म न्यूनतम तलब दिनुपर्ने थियो । नयाँ वर्षबाट होटल व्यवस्थापन र मजदुर संगठन 

कुन खाकामा अघि बढ्ने विषयमा छलफल सुरु गरिएको अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर संघका अध्यक्ष माधव पाण्डेले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.