भिनाजुलाई खुकुरी हानेको आरोपमा सालो पक्राउ
ताप्लेजुङ : भिनाजु नाता पर्ने पाशाङ शेर्पालाई खुकुरी हान्ने टेकेन्द्र मगर बिहीबार पक्राउ परेका छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ का मगरलाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठले बताए ।
उनलाई खुकुरी हानेर ज्यान मार्ने उद्योग गरेको ठहर गर्दै जिल्ला अदालत ताप्लेजुङले गत कार्तिक १९ गते चार वर्ष कैद र ४० हजार जरिवानाको फैसला गरेको थियो । टेकेन्द्र र उनका छिमेकी धनबहादुर मगरले २०७६ साउन २२ गते भिनाजु नाताका शेर्पालाई खुकुरी प्रहार गरेर फरार भएका थिए ।
घटनापछि शेर्पाकी बहिनी शिक्षा शेर्पाले दुवै विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी थिइन् । धनबहादुर भने यसअघि नै पक्राउ परेर कैद भुक्तान गरिरहेका छन् । टेकेन्द्र बिहीबारै कारागार चलान भएका छन् ।