चिसो बढेसँगै सिन्धुली अस्पतालमा बिरामीको संख्या बढ्यो
![चिसो बढेसँगै सिन्धुली अस्पतालमा बिरामीको संख्या बढ्यो](https://annapurnapost.prixacdn.net/media/albums/Sindhuli-Hospital_20201007070350_McSV0QtgLX.jpg)
सिन्धुली : केही दिनयता चिसो बढ्दै जाँदा सिन्धुलीका नागरिकको जनजीवन कष्ठकर बन्दै गएको छ । अत्याधिक चिसो बढ्दा जेष्ठ नागरिक, बालबालिका तथा सुत्केरी महिला बिरामी पर्न थालेका छन् । चिसोका कारण कोरोना भाइरस संक्रमण दर समेत बढ्न थालेको छ ।
मौषममा आएको बदलीसँगै जिल्लाको उच्च भागमा हिउँ तथा तुसारो पर्न थालेको छ । जिल्लाको जलकन्या, मझुवा, तिनकन्या, रतनचुरा, हरिहरपुरगढी, भद्रकाली, नेत्रकाली लगायतका उच्च क्षेत्रमा हिउँ तथा तुसारो पर्न थालेको स्थानीयले जनाएका छन् । निजी आवास निर्माण सम्पन्न नगरेका कतिपय भुकम्प पिडितहरुको चिसोका कारण कन्तविजोग भएको छ ।
चिसोका कारण टेण्ट तथा टहरो बाहिर निश्किेर हिँडडुल गर्न समेत नसक्ने अवस्था आएको हरिहरपुरगढी गाउँपालिकाकी उपाध्यक्ष अनिता कुमारी राईले बताइन् । 'हरिहरपुगढीमा अझै निजी आवास पुनर्निर्माण सम्पन्न भएको छैन् । यहाँका विपन्न, दलित तथा जनजातीहरु सामान्य टहरामा बस्दै आएका छन् । उनीहरुलाई चिसोले प्रभावित बनाएको छ,' उनले भनिन् ।
यस्ता समुदायका वृद्धवृद्धा सुत्केरी महिला तथा बालबालिका बिरामी समेत हुन थालेका छन् । चिसोले बालबालिकामा निमोनिया, ज्वोरो, खोकी, वान्ता हुने र सुत्केरी र वृद्धवृद्धामा जीउ सुनिने, ढाडकम्मर दुख्ने जस्ता समस्या देखा पर्न थालेका छन् ।
बालबालिका र वृद्धवृद्धाहरु अत्याधिक चिसोका कारण कठ्याङ्गिएर बस्नुपरेको नेत्रकालीका सोइजन वाइवाले बताए । उनले भने, 'नेत्रकालीको उच्चभागमा हिउँ र तुसारो ओइरिएको छ । घरबाट बाहिर निश्कन सक्ने अवस्था छैन् ।'
कमलामाई नगरपालिका ३ जलकन्याका श्याम गजमेर ठुलामान्छेकै मुटु जाम होलाजस्तो चिसो हुन थालेको र बालबालिकाहरु त मिनेटभरमै चिसोले कक्रिने अवस्था आएको गुनासो गर्छन् । 'चिसोका कारण त्यस क्षेत्रमा खान पकाएर खान समेत मुस्किल हुने गरेको छ । पानीहिउँ जत्तिकै चिसो बनेको छ । चिसोले स–साना चरा तथा चल्लाहरु मर्न थालेका छन् । गाई भैसी खुल्ला आकाशमुनी कठ्याङ्ग्रिएका छन्,' गजमेरले भने ।
सुनकोसी गाउँपालिकाको सबभन्दा उच्च क्षेत्र मानिने मतनबास निवासी सरोज विकका अनुसार अहिले त्यस क्षेत्रमा हिउँ पर्न थालेको छ । हिउँ र तुसारोका कारण त्यस क्षेत्रका सर्वसाधराणले खान पकाएर खान समेत सकेका छैनन् भने गाई बस्तुलाई घाँस पात गर्न समेत कठिनाइ हुने गरेको छ।
मंगलबारबाट जिल्लामा थप चिसो बढेको छ । दैनिक जसो चिसो बढ्न थालेपछि बालबालिकाहरुमा निमोनीया, खोकी, ज्वारो जस्ता रोगका लक्षणहरु समेत देखा पर्न थालेको सिन्धुली अस्पतालका प्रमुख डाक्टर लक्ष्मण खड्काको भनाइ छ । 'हिजोआज अस्पतालमा ६० प्रतिशतबढी चिसोका कारण प्रभावित बिरामीहरु आउने गरेका छन् । बालबालिकासँगै, सुत्केरी महिला र वृद्धवृद्धाहरुमा निक्कै समस्या देखिने गरेको छ,'उनले थपे ।
चिसोले मौषमी तथा वेमौषमी तरकारीबालीमा समेत क्षति पुगेको छ । आलु, खुर्सानी, टमाटरलगायतका कृषि उत्पादनमा क्षत्री भएको रतनचुराका कृषक निर्मल रम्तेलले गुनासो गरे । अन्य भागको तुलनामा जिल्लाको उत्तरी भागमा अत्याधिक चिसो बढेको बताइएको छ ।
चिसोका कारण सिन्धुलीका प्रभावितहरु । फाइल तस्बिर : राजन गाउँले
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)