सत्यकलि संवाद : सिक्वेल लेखन

सत्यकलि संवाद : सिक्वेल लेखन

चलचित्रका क्षेत्रमा व्यापक रूपमा देखिने ‘सिक्वेल’ लेखन साहित्यिक क्षेत्रमा पनि प्रयोग भएको पाइन्छ। ‘सिक्वेल’ अंग्रेजी शब्द भए पनि यस खाले लेखन नयाँ प्रवृत्तिचाहिँ होइन। विश्वसाहित्यमै प्रथम उपन्यास मानिने वाण भट्टद्वारा लिखित ‘कादम्बरी’ शीर्षक गद्यकृति पनि दुईजनाद्वारा लिखित सिक्वेल लेखन हो भन्ने विश्वास गरिन्छ। उनको जीवनकालमा पूरा हुन नसकेको प्रस्तुत कृति उनका छोरा पुलिन्द भट्टले पूरा गरेको चर्चा पाइन्छ। कृति पूरा गर्ने क्रममा पिता वाणद्वारा लिखित अंशलाई पूर्वभाग नाम दिई पुत्र पुलिन्दले आफूद्वारा लिखित अंशलाई उत्तरभाग नाम दिएका छन्। पश्चिमी साहित्यमा त सिक्वेल लेखनका उदाहरण प्रशस्तै पाइन्छन्।

सिक्वेल लेखन नयाँ प्रवृत्ति नभए पनि नेपाली साहित्यका क्षेत्रमा यो अधिकांशत: प्रयोगशील लेखनका रूपमा रहेको देखिएको छ। नेपाली साहित्यमा अग्रज साहित्यकारका कृतिलाई आधार मानेर उही शीर्षकमा उही सहभागीको प्रयोगका साथ अनुज साहित्यकारले अर्को कृतिको सिर्जना गरेका उदाहरण प्रशस्तै भेटिन्छन्। लेखनाथ पौड्यालद्वारा लिखित ‘सत्यकलि संवाद’ शीर्षक काव्य १९७६ मा प्रकाशित भएको तथ्य नेपाली साहित्यमा रुचि राख्ने सबैलाई विदितै छ तर लेखनाथको उक्त काव्य प्रकाशन भएको ४२ वर्षपछि देवकोटाले लेखेको ‘नयाँ सत्यकलि संवाद’ प्रकाशित भएको तथ्य अधिकांश पाठकलाई जानकारी नहुन सक्छ।

पश्चिमी साहित्यमा त सिक्वेल लेखनका उदाहरण प्रशस्तै पाइन्छन्। सिक्वेल लेखन नयाँ प्रवृत्तिा नभए पनि नेपाली साहित्यका क्षेत्रमा यो अधिकांशत: प्रयोगशील लेखनका रूपमा रहेको देखिएको छ। नेपाली साहित्यमा अग्रज साहित्यकारका कृतिलाई आधार मानेर उही शीर्षकमा उही सहभागीको प्रयोगका साथ अनुज साहित्यकारले अर्काे कृति सिर्जना गरेका उदाहरण प्रशस्तै भेटिन्छन्। 

वकोटाले लेखेको ‘नयाँ सत्यकलि संवाद’ २०१८ सालको रूपरेखा (१:६, वैशाख–जेठ) पत्रिकामा प्रकाशित छ। देवकोटाको मृत्युपश्चात् प्रकाशनमा आएको यो कृति २०१४–२०१५ तिर लेखिएको अनुमान गर्न सकिन्छ। लेखनाथकै काव्यको शीर्षक, विषयवस्तु र पात्रलाई आधार बनाएर लेखनाथले नै प्रयोग गरेको संवादात्मक शैली र वसन्तीतलका छन्दको प्रयोगका साथ कृति सिर्जना गर्नुले देवकोटा लेखनाथको प्रस्तुत कृतिबाट प्रेरित र प्रभावित भएको तथ्य स्पष्ट हुन्छ। यति हुँदाहुँदै पनि लेखनाथको काव्यमा अभिव्यक्त दृष्टिकोणको खण्डन गर्दै नवीन दृष्टिकोणको प्रस्तुतिका साथ देवकोटाले ‘नयाँ सत्यकलि संवाद’ शीर्षक कृतिको सिर्जना गरेका छन्।

संरचनागत दृष्टिले हेर्दा लेखनाथको काव्य ३७५ श्लोकमा संरचित छ भने देवकोटाको काव्य ५८ श्लोकको संरचनामा आबद्ध रहेको छ। लेखनाथले सत्ययुगलाई दाजु र कलियुगलाई भाइका रूपमा मानवीय संवेदना आरोपण गरी ती दाजुभाइका संवादका माध्यमबाट सत्यको गौरवशाली एवं आदर्श परम्पराको वर्णन गर्दै कलिमा व्याप्त लोभ, छलछाम, डकैती, घुसखोरी, व्यभिचार, विश्वासघात, दम्भ, धोकाजस्ता पापाचारलगायत हिन्दूहरूमा देखिएको असावधानीको आलोचना गरेका छन्। देवकोटाले लेखनाथका यिनै दुई भाइ पात्रलाई प्रयोग गरी सत्ययुगको निरीहता, जर्जरता एवं कर्महीन अवस्थाको जपतपजस्ता पुरातनको विरोध गर्दै कलिमा देखा परेका नवीनता एवं वैज्ञानिकताको वर्णन गरेका छन्।

कथ्यगत दृष्टिले हेर्दा लेखनाथ पौडेलको सत्यकलि संवादमा कलियुगमा हिन्दू जातिमा देखा पर्दै गएको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक एवं धार्मिक पतनलाई विषयवस्तु बनाइएको छ। हिन्दूहरूमा मौलाउँदै गएको संकीर्णता एवं आन्तरिक द्वेषलाई देखाउँदै अघि बढेको यस काव्यमा मुसलमानी आक्रमणपछि हिन्दू सभ्यता अझ क्षीण हुँदै गएर सुषुप्त अवस्थामै पुगेको वर्णन पाइन्छ। यस काव्यमा कलियुगमा देखा पर्ने अंशमुद्दा, पारिवारिक कलह, पत्नीमाथि अत्याचार गर्ने अधमहरूको कुकृत्यको चित्रण पाइन्छ। कलिको दरबारमा देखा परेका घुसखोरी, धूमपान, मद्यपान वेश्यागमन आदि अनेक विकृति चित्रित यस काव्यमा गरिब एवं निरीहमाथि गरिने शोषणको पनि चित्रण गरिएको छ।

यसका विपरीत देवकोटाको ‘नयाँ सत्यकलि संवाद’ शीर्षक काव्यमा कलियुगका नवीनता, शक्ति एवं उज्यालोको प्रशंसा गर्दै सत्यका पछौटेपन, बुढ्याइँ एवं जर्जरताको विरोधका साथ सत्ययुगको आलोचना गरिएको छ। लेखनाथको काव्यमा जस्तो सत्यको आदर्श र कलिको पतनोन्मुखी चित्रण नभएर कलिलाई सुकुमार, प्रगतिशील एवं वैज्ञानिक चेत भएको व्यक्तिका रूपमा देवकोटाले चित्रण गरेका छन्। लेखनाथको काव्यमा दाजु पात्रका माध्यमबाट सत्ययुगमा रहेको आदर्शको प्रशंसा गर्दै भाइपात्रका माध्यमबाट कलियुगमा देखा परेको अनेक विकृति एवं विसंगतिको आलोचना गरिएको छ। देवकोटाको काव्यमा चाहिँ भाइ पात्रका माध्यमबाट सत्यको आलोचना गरिए पनि सत्य र कलि हातेमालो गरेर अघि बढ्नुपर्ने समन्वयवादी अवधारणा ल्याइयो।

बाह्य रूपमा हेर्दा लेखनाथको भाइ पात्र कलियुगले दाजु पात्र सत्ययुगका विचारको पुष्टि गर्न आफ्नो अभिव्यक्ति दिएको छ भने देवकोटाले यी दुई पात्रका माध्यमबाट अग्रज पुस्ता र अनुज पुस्ताका बीचमा वाक्द्वन्द्व गराएर परम्परागत अवधारणा र नवीन एवं वैज्ञानिक अवधारणाबीच वैचारिक द्वन्द्वको सिर्जना गरेका छन्। देवकोटाले सिर्जना गरेको यो द्वन्द्व अध्यात्मवाद र भौतिकवादका बीचको द्वन्द्वका रूपमा अभिव्यक्त भएको छ र अन्त्यमा भौतिकवादको विजय भएको छ।

पात्र विधानका दृष्टिले हेर्दा सत्ययुगलाई दाजु र कलियुगलाई भाइका रूपमा चित्रण गर्दै दुवै काव्यमा एउटै पात्रको प्रयोग गरिएको छ। लेखनाथले यी दुई पात्रको बाह्य चित्रण गरेका छैनन् तर देवकोटाले चाहिँ दुवै पात्रको शारीरिक संरचनामा देखिएको बाह्य पक्षको पनि चित्रण गरेका छन्। देवकोटाद्वारा चित्रित दाजुरूपी सत्ययुग कपाल फुलेको, दाँत फुक्लेको, मैलो धमिलो, कुरूप हुनाका साथै पुरातनपन्थी एवं निष्क्रिय देखिन्छ भने भाइरूपी कलियुग ठूलो निधार भएको, फुर्तिलो, दारी सफाचट गरी उज्यालो चेहरा बनाएको विज्ञानप्रेमी कर्मठ युवकका रूपमा देखिन्छ। लेखनाथले भाइ कलिको आलोचना व्यक्तिका रूपमा गरेका छैनन् भने देवकोटाले दाजु सत्यको व्यक्तिगत निन्दा पनि गरेका छन्।

दुवै काव्यको अध्ययन गर्दा कलि आफ्नो अवधारणामा अडिग रहने स्थिर पात्रका रूपमा देखा परेको छ भने सत्यचाहिँ कलिसँगै हातेमालो गरेर हिँड्न चाहने गतिशील चरित्रको रूपमा देखिन्छ। लेखनाथद्वारा चित्रित दाजु सत्य परम्परागत हिन्दू आदर्श एवं हिन्दू पुनर्जागरणका पक्षधर देखिन्छ भने देवकोटाद्वारा चित्रित भाइ कलि नवीन चेतनाको संवाहक देखिन्छ। लेखनाथ र देवकोटाका यी दुवै काव्य सत्य र कलिको संवादमार्फत अघि बढाइएको छ। लेखनाथको कृतिमा दाजु पात्र सत्यमा आलोचनात्मक चेत बढी देखिन्छ र भाइ कलिमा व्यंग्यात्मक चेत बढी मात्रामा देखिन्छ। देवकोटाको कृतिमा भाइ पात्र कलिमा आलोचनात्मक चेत बढी पाइन्छ।

लेखनाथको भाइ पात्र कलिका अधिकांश अभिव्यक्ति दाजु सत्यको अभिव्यक्ति पुष्टि गर्नकै लागि भएका छन् भने देवकोटाको भाइ पात्र कलि दाजु सत्यको कुनै कुरा नसुन्ने आफ्नो अवधारणामा दृढ देखिन्छ। यसैले आफूभित्रको रिस दबाएरै भए पनि देवकोटाको दाजु सत्य भाइ कलिसँग हातेमालो गर्दै अघि बढौं भन्न बाध्य छ। यसबाट पुरानो पुस्ताले जति तर्क गरे पनि नयाँ पुस्ताको विचारलाई समर्थन गरेर अघि बढ्नुको विकल्प नभएको अवधारणा देवकोटाको कृतिमा अभिव्यञ्जित छ। यी दुवै कविले अभिव्यक्तिको माध्यम दाजुभाइको संवादलाई बनाएका छन् र दुवै कृतिमा वसन्ततिलका छन्दको प्रयोग गरिएको छ।

आफ्नो गौरवमय परम्परा बिर्सेका हिन्दू जातिलाई पुनर्जागरणका लागि आह्वान गर्नु लेखनाथका काव्यको अभीष्ट छ भने परम्परित थोत्रा एवं अवैज्ञानिक अवधारणाहरूलाई त्याग्दै नवीन एवं वैज्ञानिक विचारको समर्थन गर्नु देवकोटाका कृतिको अभीष्ट रहेको छ। लेखनाथबाटै प्रभावित भएर उही शीर्षकको पुनरावृत्तिका साथ उही पात्रको प्रयोग गर्दै उही छन्दमा अर्काे काव्यको रचना गरिए पनि लेखनाथभन्दा पार्थक्य विचारको प्रस्तुतिका साथ देवकोटाको ‘नयाँ सत्यकलि संवाद’ काव्यको सिर्जना भएको छ। लेखनाथबाटै प्रभाव र प्रेरणा ग्रहण गरी सिक्वेल लेखनकै रूपमा लेखिएको भए पनि देवकोटाले परिवर्तित परिवेशमा पुराना, जर्जर विचारहरूलाई त्याग्दै नयाँ नयाँ अवधारणाका साथ अघि बढ्नुपर्ने भावको अभिव्यक्तिका साथ पुरानो पुस्तालाई आफ्नो अहं त्यागेर नयाँ पुस्ताको साथ दिन आग्रह गरेका छन्। यसबाट देवकोटाको वैज्ञानिक एवं नवीन चेतनाका साथै प्रगतिशील दृष्टिकोण अभिव्यञ्जित देखिन्छ।

देवकोटाले आफ्नो कृतिलाई दिएको शीर्षक ‘नयाँ सत्यकलि संवाद’ लेखनाथकै काव्यलाई क्रमिकता दिन खोजिएको हो कि जस्तो भान हुन्छ तर यसको अन्तर्य पृथक् देखिन्छ। लेखनाथको काव्यमा दुवै दाजुभाइ पात्रले सत्यको प्रशंसा र कलिको निन्दा गरी कलिको पतनोन्मुख अवस्थाको मात्र चित्रण गरेका छन् भने देवकोटाको कृतिमा सत्य र कलि दुवै मिलेर अघि बढ्नुपर्ने अवधारणाको प्रस्तुति भएकाले देवकोटाले दिएको ‘नयाँ सत्यकलि संवाद’ शीर्षक सार्थक र सामञ्जस्यमूलक देखिन्छ। यसका अतिरिक्त लेखनाथको दृष्टिकोण पूरै अध्यात्मवादी पक्षधर देखिन्छ भने देवकोटाको दृष्टिकोण समन्वयवादी रहेको छ।

सामान्यतया सिक्वेल लेखन भन्नासाथ अग्रज लेखकले प्रयोग गरेको कथ्य, पात्र एवं अवधारणाको क्रमिकता बुझ्ने पाठकीय मनोविज्ञान छ, तर सिक्वेल लेखनको प्रयोजन अनुज लेखकले अग्रज लेखककै अवधारणा समर्थन गरेर लेख्नुपर्छ भन्ने पनि होइन। सिक्वेल लेखन कहिलेकाहीँ लहड लेखनका रूपमा देखिन्छ भने कहिलेकाहीँ पूर्ववर्ती लेखनमा अभिव्यक्त दृष्टिकोणलाई समर्थन तथा खण्डन गर्न पनि लेखिन्छ। अग्रज लेखकद्वारा अभिव्यक्त अवधारणाप्रति विमति जनाउन पनि सिक्वेल लेखन गरिन्छ र गर्न सकिन्छ भन्ने यथार्थको पुष्टि यी दुवै काव्यकृतिको अध्ययनबाट हुन्छ।

अग्रज लेखकको विचारप्रति समर्थन नजनाउनु उनीहरूप्रति गरिएको अनादर होइन, यसलाई आदर एवं सम्मानका रूपमा बुझ्नुपर्छ। आफूले गुरु मानेर सम्मान गरेका आदरणीय कविको काव्यकृतिबाट प्रेरित र प्रभावित भएर तिनै पात्रको प्रयोगका साथ लेखिएको हो। यद्यपि पूर्णरूपेण विपरीत कथ्य र दृष्टिकोणको प्रयोगका साथ नयाँ र मौलिक काव्यको सिर्जना गर्न सक्नु देवकोटाको प्रतिभामा अन्तर्निहित शक्ति हो भन्ने तथ्यको उदाहरणका रूपमा उनको यस ‘नयाँ सत्यकलि संवाद’ कृतिलाई लिन सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.