बेलायतको समितिमा श्रेष्ठ
लन्डन : रंगभेद तथा जातीय विभेदविरुद्ध रणनीति बनाउन बेलायती सांसदको अध्यक्षतामा गठित स्थानीय समितिमा शिवजी श्रेष्ठ नियुक्त भएका छन्।
रंगभेद तथा जातीय आधारमा हुने असमानता र विभेदबारे अनुगमन गरी त्यसको रोकथामको रणनीति तय गर्न पूर्वमन्त्रीसमेत रहेका सत्तारूढ पार्टीका बेलायती सांसदले गठन गरेको समितिमा श्रेष्ठलाई नियुक्त गरिएको हो। बेलायतको बेजिङस्टोक क्षेत्रकी सांसद मारिया मिलरद्वारा गठित ‘द रिफरेन्स ग्रुप’मा बेजिङस्टोक मल्टिकल्चरल फोरमका समेत श्रेष्ठ अध्यक्ष हुन्। सांसद मिलरको नेतृत्वमा रहेको उच्चस्तरीय समितिमा स्थानीय बेजिङस्टोक काउन्सिलका मेयर डायनी टेलर, बेजिङस्टोक जिल्ला प्रहरीका प्रमुख इन्स्पेक्टर क्यारेन म्याकमेनस, बेजिङस्टोक काउन्सिलका डेपुटी लिडर साइमन बाउन्डलगायत सदस्य छन्।
कार्यक्षेत्रमा हुने जातीय विभेदसम्बन्धी अध्ययन र अनुगमन गरी यसको रोकथामका लागि रणनीति बनाउनु नै समितिको प्रमुख कर्तव्य रहने श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस !