‘समृद्ध नेपाल सुखी नेपाली’

‘समृद्ध नेपाल सुखी नेपाली’

काठमाडौं : रातो रङमा सुशोभित चिटिक्क परेको डोलीमा घुम्टो ओढेर बेहुली बसिरहेझैं लाग्छ। डोली छेउमै विभिन्न रङका नोटका गड्डी थुपारिएको छ। चित्र हेर्दा यस्तो लाग्छ, पैसा र डोलीबीच साटफेर भइरहेको छ। 

माथि वर्णित चित्रले छोरीको बिहेमा कोसेलीस्वरूप ‘सनेस’ दिइने चलन क्रमशः दाइजो माग गर्ने खराब प्रथामा विकसित भइरहेको यथार्थ प्रस्ट पारेको छ। यस्तै छेउको अर्को चित्रको पृष्ठभूमिमा छ, झलमल्ल बलेका सुनौला दरबारहरू। दरबार परिसरमै कुनै सुकोमल जवानको लास राखिएको रातो कफिन छ। खाडी मुलुकलाई समृद्ध बनाउन विदेश पसेका सयौं नेपाली युवा कफिनमा आउने बाध्यता चित्रले प्रतिविम्बित गरेको छ। 

चित्र बनाउने कलाकार हुन्, सर्लाहीका हरिओम मेहता। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले देशका सातवटै प्रदेशको जनजीवन र संस्कृति झल्कने गरी चित्र प्रदर्शनी गरेको छ। प्रदर्शनीमा सात प्रदेशका ७ कलाकारका १४ चित्र समावेश छन्।

यही प्रदर्शनीमा समावेश छ, हरिओमले बनाएको ‘जाटजटिन’ नामक चित्र पनि, जहाँ खडेरीले पटपट फुटेका खेतका गरा छन्। रातो साडी लगाएका केही महिला ओखल कुटिरहेझैं देखिन्छ। ओखलमुनि हरियोटाउके भ्यागुता पनि देखिएका छन्। मधेसमा पानी नपरेर खडेरी परेको समयमा जाटजटिन गर्ने परम्परा छ। महिलाले गीत गाउँदै ओखल कुट्दा भ्यागुताले ट्वार ट्वार आवाज निकालेपछि पानी पर्छ भन्ने मान्यता छ। 

ललितकला प्रज्ञा–प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय स्तरको प्रदर्शनी गर्दै आएको छ। २०७६ सालमै गर्नुपर्ने प्रदर्शनी कोरोनाका कारण रोकिएको थियो। यही कार्यक्रमको निरन्तरतास्वरूप ‘सुखी नेपाली समृद्ध नेपाल’ नामक प्रदेशस्तरीय चित्रकला प्रदर्शनी सुरु भएको हो। यस क्रममा चित्रकलासम्बन्धी चारवटा पुस्तक पनि सार्वजनिक गरिए।

प्रदेश १ बाट सन्तोष राईले नीलो रङभित्र प्रदेशको नक्सामा गजबको चित्र बनाएका छन्। चित्रमा विश्वको अग्लो स्थान सगरमाथादेखि नेपालकै होचो स्थान केचना पनि अटाएको छ। त्यस्तै बागमती प्रदेशबाट उद्धवराज रिमालले ‘राउन्ड द चोक’ लेखिएको चित्रमा मठमन्दिर र स्थानीय शिल्पकारलाई समेटेका छन्। 

म्याग्दीका पकबहादुर थापाले बनाएको चित्र गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै ग्यालरीमा उभिएको छ। यसमा बाँसको डालोमा स्थानीय अनाज टिप्दै गरेकी मगर भेषभूषामा सजिएकी महिला बसिरहेकी छन्। यस्तै उनले बनाएको अर्को चित्रमा स्कुल डे«समा सजिएकी एक बालिकालाई उनका बुवाले हात समाएर गइरहेका छन्। बाटोभरि आन्दोलन छ, हातमा लट्ठी बोकेका प्रहरीहरू तैनाथ छन्। बालिकाकी आमा उत्सुकतासाथ आन्दोलनकारीलाई हेरिरहेकी छन्। छोरी भने पर लेखिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा हेरिरहेकी छन्। 

यस्तै विक्कुकुमार थापाले लुम्बिनी प्रदेशलाई प्रतिनिधित्व हुने चित्र बनाएका छन्। चित्रमा ग्रामीण जीवनको घर, गोठ, वरपर कुखुराका चल्लाहरू चर्दै गरेको दृश्य छ। उता कर्णाली प्रदेशलाई चिनाउन मुगुबाट कोसल हमाल आएका छन्। उनले पृष्ठभूमिमा कर्णालीको सुन्दरतासँगै स्थानीय आदिवासी राउटे मानिसको पोट्रेट चित्रमा उतारेका छन्। स्वतन्त्रताको तिर्खा शीर्षकमा सुदूरपश्चिमका प्रदीपपल साउदले पनि जीवन्त चित्र बनाएका छन्। उनको चित्रमा सिमानामा नेपालीले पाउने दुःख प्रतिविम्बित गरिएको छ। प्रदर्शनीमा समावेश चित्रले समग्र नेपाललाई चिनाउँछन्। प्रदर्शनी मंगलबार सकिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.