अन्नको विकल्पमा फलफूल
![अन्नको विकल्पमा फलफूल](https://annapurnapost.prixacdn.net/media/albums/orance_20210125033941_4NWKy4d7K7.jpg)
उदयपुर : पुस्तौंदेखि मकै र कोदो खेती गरेर गुजारा गर्दै आएका उदयपुरको पहाडी भेगका किसान नगदे बालीतर्फ आकर्षित भएका छन्। परम्परागत खेतीबाट दुई छाक टार्न मुस्किल परेपछि किसान आधुनिक खेती सुन्तला, कागती, तेजपत्तालगायत जडीबुटी तथा फलफूल खेतीमा आकर्षित भएका हुन्। जति मेहनत र परिश्रम गरे पनि वर्षभरि खान धौ–धौ परेपछि वैकल्पिक खेतीमा किसानको आकर्षण बढेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए।
उनले भने, ‘बिक्रीमा सहज र कम मेहनतमा राम्रो उपलब्धि देखिएपछि किसानको मोह बढेको हो।’ ‘फलफूलका बोट फुल्न नपाउँदै व्यापारी बगैंचामा पुग्छन् र ठेक्का लिन्छन्’, अध्यक्ष खड्काले भने, ‘उत्पादन गर्न सक्ने हो भने बिक्रीका लागि समस्या छैन। व्यापारी घरमै आउँछन्, सहर लगे अझ हारालुछ र आकर्षक मूल्य पाइन्छ।’
कृषि क्षेत्रमा केन्द्र, प्रदेश र स्थानीय सरकारको लगानी, अनुदान, औजार उपकरण, बजार व्यवस्थापनमा सहयोग भएकै कारण किसान नगदे बालीतर्फ आकर्षित भएको ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापा बताउँछन्। खासगरी ग्रामीण भेग रूपाटार, ओख्ले, पोखरी, आँपटार, रौता, ताल्लिछा, बारहा, लेखानीलगायत क्षेत्रका किसानले पछिल्लो समय व्यावसायिक रूपमै फलफूल खेती गर्न सुरु गरेको जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियार बताउँछन्। भिरालो जमिनमा मकै र कोदो खेतीसमेत मुस्किल भएपछि परिवारको भरणपोषण र छोराछोरीको शैक्षिक भविष्यका लागि सुन्तला, कागती, नासपाती, स्याउलगायत खेती सुरु गरेको रौतामाई–४ पोखरीका किसान टेकबहादुर पाठक बताउँछन्।
गाउँको बाटो भएर खोटाङ हिँडेका पदमबहादुर दाहालले एक दशकअघि स्याउ रोप्नू भनेर दिएको एक बोट स्याउको बिरुवा हुर्केर प्रशस्त फल दिएपछि यस्तो ज्ञान हासिल गरेको उनको भनाइ छ। उनले भने, ‘बटुवाले दिएको बिरुवाबाट त यति धेरै फल फल्यो भने आफूले किन नरोप्ने भनेर मकै र कोदोको विकल्पमा स्याउ र सुन्तला खेती गर्न थालेको हुँ।’ पाठकको नर्सरीमा अहिले स्याउ, सुन्तला, नासपाती र कागतीका २० हजारभन्दा बढी बिरुवा हुर्किएका छन्। तीमध्ये एक हजार सुन्तलाले उत्पादन दिन थालेको किसान पाठकले बताए।
पोखरीमा सुन्तला र स्याउ खेती गर्न सुरु गर्ने अगुवा किसानका रूपमा चिनिने पाठकले व्यावसायिक खेती सुरु गरेपछि अहिले त्यस क्षेत्रका अन्य किसानसमेत आकर्षित हुन थालेका छन्। पाठकसँगै ललितबहादुर खत्री, धनबहादुर राई, हस्तकुमार राई, चन्द्रबहादुर कार्कीलगायत करिब दुई दर्जन किसानले सुन्तला र स्याउको व्यावसायिक खेती सुरु गरेका छन्। ‘मकै र कोदो मात्र रोप्दा खान नपुग्ने समस्या थियो’, किसान चन्द्रबहादुर कार्कीले भने, ‘तर व्यावसायिक रूपमै फलफूल खेती गर्न सुरु गरेपछि समस्या हुँदैन भन्ने आश लागेको छ।’ कार्कीले रोपेको बिरुवाले अहिले उत्पादन दिएको छैन। तर पनि व्यावसायिक रूपमा खेती गरेकाले राम्रै आम्दानी हुनेमा उनी आशावादी छन्।
रौतामाई–६ का रामबहादुर कार्कीले आफ्नो १० रोपनी जग्गामा सुन्तला, कागती र तेजपत्ता खेती लगाएको बताए। ‘कोदो र मकै रोप्न हैरान ग¥यो उत्पादन हुने बेला विभिन्न कारणले कम हुन्छ। त्यसैले हटाएर यो व्यवसाय सुरु गरेको हुँ’, उनले भने। त्यस्तै ओख्लेका अगुवा किसान तोपबहादुर ठकुरीले आफ्नो २५ रोपनी जग्गाको पूरै क्षेत्रफलमा कागती, सुन्तला, निबुवा, नासपाती, तेजपत्ता लगाएका छन्।
प्रतिबन्धित गाँजा खेती लगाउने क्रममा पटक–पटक प्रहरीले नष्ट गरेपछि गाँजाको विकल्पमा फलफूल खेती सुरु गरेको उनको भनाइ छ। जिल्ला सदरमुकाम गाईघाटदेखि १२ कोस उत्तरपश्चिममा पर्ने पोखरीमा सुन्तला र स्याउ खेती गर्न किसान उत्सुक देखिन्छन्। सरकारले नै कृषि क्षेत्रमा लगानी बढाउने गरी बजेट सुनिश्चित गरेपछि किसानको संख्या बढेको हो। जिल्लाका सबै स्थानीय तहले कृषि क्षेत्रमा होमिएका किसानलाई विशेष प्याकेज नै बनाएर अनुदान, छुट, कृषि औजार उपकरण सहशुल्कमा उपलब्ध गराउँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)