बर्दियामा कोरोना खोप अभियान : ढुक्क भएर खोप लगाउन चिकित्सकको आग्रह
गुलरिया : विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड -१९) विरुद्ध सरकारले सुरु गरेको पहिलो चरणको अभियानअन्र्तगत चिकित्सकहरुले खोप लगाएर कार्यक्रमको शुभारम्भ गरेका छन् । भारत सरकारको सहयोगमा उपलब्ध कोभिशिल्ड नामक खोप कोभिड नियन्त्रणका क्षेत्रमा अग्रमोर्चामा काम गर्नेहरुलाई नेपाल सरकारको योजनाअनुरुप खोप लगाउन सुरु गरिएको हो ।
पहिलो चरणको खोप कार्यक्रमअन्र्तगत बर्दियामा सरकारले तोकेका २ हजार जनालाई खोप लगाइने तयारी गरिएको बर्दिया अस्पतालका प्रमुख डाक्टर सुभाष पाण्डेले बताए । 'मैले खोप लगाएँ । नराम्रो केही भाछैन । खोप लगाउँदा सुइले चिस्स घोचे पनि खोप लगाउन पाउँदा धेरै खुशी लागेको छ,' उनले भने,' सरकारको निर्देशन अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, पालिका अन्र्तगतका स्वास्थ्य कर्मचारी, शव व्यवस्थापनमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई खोप लगाउँछौं ।'
'सबैलाई एक हप्ताभित्र पहिलो चरणको खोप लगाएर सक्छौं । पहिलो चरणको खोप लगाएकालाई २८ दिनपछि पुनः दोस्रो चरणमा खोप लगाउनुपर्छ,' उनले थपे,' खोप लगाएपछि सुइ लगाएको ठाउँमा सुन्निने, थकाई र आलस्य महशुस हुने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, मांसपेशी वा हाडजोर्नी दुख्ने, फ्लूको जस्तै लक्षण देखिने, घाँटी दुख्ने, खोकी लाग्नेलगायतका समस्या देखिन सक्छन् । पछि आफै ठिक भएर जान्छ । डराउनु पर्दैन ।' उनले ढुक्क भएर खोप लगाउन अस्पताल प्रमुख पाण्डेले सबैलाई आग्रह गरे।
बर्दिया अस्पताल प्रांगणमा अवस्थित लारी रक्तसंचार केन्द्रको भवनलाई खोप केन्द्र बनाइएको छ । खोप कार्यक्रम सुरु भएसँगै स्वास्थ्यकर्मीलगायत कोभिडको अग्रमोर्चामा काम गर्ने कर्मचारीहरु खोप लगाउन लाइन बसेका छन् ।
प्रतिक्रिया दिनुहोस !