किसानलाई मल्हम ‘शीत भण्डार’
१६ करोड लागतमा निर्माणाधीन शीत भण्डार प्रदेश सरकारले सप्तरीका शुभनारायण कृषि फर्मलाई अनुदान सहयोग दिई साझेदारीमा बनाउन लागेको हो। भण्डार बनाउन पडरियाका ७ जना किसानले ‘लिज’मा एक विघा २ कट्ठा जग्गा दिएका छन्।
सिरहा : श्रीलाल महतो किसान हुन्। उनी आफ्नो खेतमा बर्सेनि थरीथरीका तरकारी बाली लगाउँछन्। उब्जाएर बजारमा बेच्छन्। आम्दानी गर्छन्। तर, धेरै उब्जेको वर्ष उनले सोचेको जस्तो आम्दानी गर्न सक्दैनन्। खेतमा उत्पादित तरकारी बजारमा थुप्रिन्छ। भाउ कम पाउँछन्। उनी उत्पादन गरेको कच्चा तरकारी धेरै दिन राख्न सक्दैनन्। मारमा परेका उनी शीत भण्डार भइदिए किसानलाई राहत हुने कुरा कोट्याउँछन्।
शिवदत्त राय पनि तरकारी खेती गर्छन्। लहान र वरिपरिका बजारमा लाखौं रुपैयाँको तरकारी बेच्छन्। शिवदत्त र श्रीलालको गाउँ लहान नगरपालिका–२४ झुटकी गाउँमा बर्सेनि करोड रुपैयाँसम्मको तरकारी उत्पादन हुने गरेको छ। गाउँमा सयभन्दा बढी किसान छन्। बजारमा भाउ सस्तो हुँदा उनीहरूले घाटा खेप्नुपर्ने बाध्यता छ।
उनीहरूजस्तै यहाँका हजारौं कृषकले बाली उब्जाए पनि राम्रो बजार पाउन नसक्दा समस्या भोग्नु परिरहेको छ। शीत भण्डारको अभावमा कृषि उब्जनी सडेर खेर फाल्नुपर्छ या सस्तोमा बेच्नुपर्छ। बीउ जोगाउन पनि हम्मे–हम्मे पर्छ। भण्डारण गर्ने व्यवस्था भए कृषकले सुविधा पाउने हुँदा कृषकहरू खुसी देखिएका छन्। किसानलाई शीत भण्डार ‘मल्हम’जस्तो हुने उनीहरू बताउँछन्।
कृषि उब्जनी मात्रै होइन, यस भेगका आँप किसान पनि शीत भण्डारको अभावले मारमा छन्। शीत भण्डार नभएकै कारण हरेक वर्ष आँप कृषकले सस्तोमा फल बेच्नु परेको छ। भण्डार भएपछि लामो समयसम्म आँप राख्न र खानसमेत सकिनेछ। कोभिड–१९ को अवधिमा करोडौँ रुपैयाँको तरकारी बाली खेतमा सडेको किसानहरू सुनाउँछन्।
शीत भण्डार निर्माण हुने जानकारी पाएदेखि उनीहरू हर्षित देखिएका छन्। किसानलाई ध्यानमा राखी प्रदेश २ सरकारले अनुदान सहयोग दिएर लहान–११ पडरियामा शीत भण्डार बनाउन सुरु गरेको छ। यो योजना पूरा भए घाटा खेप्दै आएका किसानलाई खुसी तुल्याउने किसानहरू सुनाउँछन्। शीत भण्डारको शिलान्यास २०७५ फागुन ११ गते प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले गरेका थिए। त्यहाँ उनले अब किसानलाई ठूलो सहयोग पुग्ने बताएका थिए।
१६ करोड लागतमा निर्माणाधीन शीत भण्डार प्रदेश सरकारले सप्तरीका शुभनारायण कृषि फर्मलाई अनुदान सहयोग दिई साझेदारीमा बनाउन लागेको हो। भण्डार बनाउन पडरियाका ७ जना किसानले ‘लिज’मा एक विघा २ कट्ठा जग्गा दिएका छन्। जग्गामा निर्माण थालनी भएको छ। काममा अझै तीव्रता दिन जरुरी देखिएको छ।
शीत भण्डारले किसानको पसिना र लगानीको प्रतिफल दिने स्थानीय किसान कमलदेव यादवको विश्वास छ। ‘घामपानी नहेरी किसान मेहनत गर्छन्, भारतको शीत भण्डारबाट बिचौलियाले तरकारी बजारमा ल्याउँदा यहाँका किसान मारमा पर्छन्,’ उनले भने, ‘यहीँ शीत भण्डारको व्यवस्था भए किसानलाई ठूलो राहत हुनेछ।’ अहिले भारतीय बजारबाट तरकारी भित्रिँदा यहाँका किसान मारमा पर्छन्। भण्डारण गर्न नसक्दा थोरै उत्पादन गर्ने गर्छन्। भण्डारण व्यवस्था भएपछि भारतीय बजारबाट आउने तरकारी आयात कम हुने उनले सुनाए।
कृषकले उब्जाएको तरकारी तथा फलफूल भण्डारण गरिने योजना मन्त्रालयले बनाएको छ। १५ सय मेट्रिक टन तरकारी भण्डारण गर्ने क्षमता यस शीत भण्डारको रहेको जनाइएको छ।
‘सिरहालगायत प्रदेश २ कै आर्थिक उन्नति कृषिबाटै हुन्छ। प्रदेश सरकारले किसानलाई लक्षित गरेर योजनाहरू सञ्चालन गर्नुपर्छ,’ स्थानीय अच्छमितलाल चौधरीले भने, ‘निर्माण थालेका योजना समयमै सम्पन्न गर्नुपर्छ; जसबाट किसान लाभदायी हुन सक्छन्।’ शीत भण्डारले स्थानीय किसानको उब्जनीलाई राम्रो बजार दिलाउने विश्वास गरिएको उनले सुनाए। साधनस्रोत हुँदा किसानलाई खेतीतर्फ आकर्षित बनाउने उनको भनाइ छ।