जाजरकोटमा चार वटा आरोग्य सेवा केन्द्र
जाजरकोट : जाजरकोटका चार वटा गाउँ तथा नगरपालिकामा चालु आर्थिक वर्षमा चार वटा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएका छन् ।
संघीय सरकारको स्वीकृत वार्षिक कार्यक्रम अनुसार स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखा जाजरकोट द्वारा आरोग्य केन्द्र स्थापना भएका हुन् । स्वास्थ्य सेवा कार्यालय, आयुर्वेद शाखा प्रमुख प्रभात सुवेदीले आयुर्वेद, प्राकृतिक चिकित्सा, योग तथा होमियोप्याथी लगायत चिकित्सा प्रणालीलाई एकीकृत रुपमा विकास र विस्तार गर्न आरोग्य केन्द्र स्थापना गरिएको बताए ।
नेपाल सरकारले स्वास्थ्य नीति–२०७६ अनुसार जिल्लाका बारेकोट गाउँपालिका–२ लिम्सा, कुशे गाउँपालिका–६ थर्पु भार्मा, छेडागाड नगरपालिका–३ चुवा र जुनीचादे गाउँपालिका–११ मेसुमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको सुवेदीको भनाइ छ ।
आरोग्य केन्द्रमा नियमित रूपमा बिरामी जांच, औषधि बितरण, पन्चकर्म, पूर्वकर्म, योग ध्यान, विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम आरोग्य केन्द्रबाट सन्चालान हुनेछन् ।
आयुर्वेद उपचारको सेवा नपुगेका जिल्लाका विभिन्न पालिका र बस्तीहरुमा नागरिक आरोग्य सेवा केन्द्र मार्फत् सेवा विस्तार गर्ने उद्देश्यले एक पालिका एक आयुर्वेद संस्थाको नीति अनुरुप संघीय सरकारले संस्था स्थापनाका लागि बजेट बिनियोजन गरेको हो ।
प्रतिक्रिया दिनुहोस !