बल्ल छुट्याइँदै गाउँ र सहर

बल्ल छुट्याइँदै गाउँ र सहर

काठमाडौं : हाम्रा देशमा कति गाउँ छन् ? सहर कति छन् ? स्थानीय तहमध्ये ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २६० वटा नगरपालिका छन्। तर, त्यहाँ हुनुपर्ने सेवासुविधा, पूर्वाधार विकास देखिँदैन। गाउँ त गाउँ नै रह्यो। अब भने सरकारले २०७८ को राष्ट्रिय जनगणनामा गाउँ र सहर छुट्याउने गरी विवरण संकलन गर्ने भएको छ।

केन्द्रीय तथ्यांक विभागका निर्देशक तीर्थराज चौलागाईंले जनगणनामा गाउँ र सहर छुट्याउन छुट्टै प्रश्नावली बनाइएको जानकारी दिए। जनगणनाको १ सय १० वर्षको इतिहासमा पहिलो पटक सामुदायिक प्रश्नावली त्यसकै लागि तयार पारिएको छ। सामुदायिक प्रश्नावलीले सहर र गाउँलाई छुट्याउने निर्देशक चौलागाईंको भनाइ छ।

स्थानीय तहको वडासम्म पुगेर सुपरिवेक्षकले त्यो प्रश्नावली भराउनेछन्। सहरी सेवासुविधामा बडावासीको पहुँचको अवस्थाको छुट्टै प्रश्नावली राखिएको छ। भौतिक पूर्वाधार, आर्थिक पूर्वाधार/सेवासुविधाको अवस्थाबारे विवरण संकलन गरिनेछ। इन्टरनेट, विद्युत्, क्याम्पस, अस्पताल, एम्बुलेन्स सेवा, बजार, बैंक तथा वित्तीय संख्या, सहकारी संख्यालगायत भौगोलिक क्षेत्रभित्र सेवासुविधा उपलब्धताको अवस्थाबारे एक/एक तथ्यांक संकलन गरिनेछ। यसका लागि विभिन्न प्रश्नावली यसरी सोधिनेछ।

वडाको केन्द्रमा वर्षभरि सडक यातायात सञ्चालन हुन्छ ? बहुसंख्यक बडावासीको सार्वजनिक यातायातको पहुँच छ ? वडामा स्थानीय यातायात/नगर यातायात सेवा उपलब्ध छ ? वडाभित्र कालोपत्रे भई बाह्रै महिना चल्न सक्ने सडक कति छ ? वडाभित्र धुले/माटे सडकको लम्बाइ कति छ ?

एक घर, एक धाराको हिसाबले पाइपबाट वितरित सुरक्षित खानेपानी कति घरपरिवारमा पुगेको छ ? घरभित्रै/घर परिसरभित्र शौचालय भएको घरपरिवार कति छन् ? शौचालयको फोहोरमैला विसजर्नका लागि ढल सेवा कति घरपरिवारमा जडानमा पुगेको छ ? फोहोरमैला नियमित संकलन गरी व्यवस्थापन गर्ने सेवा कति घरपरवारमा पुगेको छ ? राष्ट्रिय प्रसारण लाइन वा भरपर्दो विद्युत् प्रणालीमा जोडिएको घरपरिवार कति छन् ?

वडामा उच्च गतिको/ब्रोडब्यान्ड इन्टरनेट सुविधा कति जनसंख्यामा पुगेको छ ? वडामा सुरक्षित घर अर्थात् व्यवस्थित र योजनाबद्ध आवास (जग्गा विकास क्षेत्र, सामूहिक आवास, संयुक्त आवास, एकीकृत बस्ती) क्षेत्रमा बस्ने  घरपरिवार कति छन् ?

३० मिनेटको पैदलयात्रामा बजारको केन्द्रसम्म पहुँच भएका घरपरिवार कति छन्  ? लगायत गाउँ सहर छुट्याउने प्रश्नावली तयार गरिएको छ। सामाजिक पूर्वाधार/सेवा सुविधाको अवस्थाका प्रश्नावली छन्।  आधा घण्टाको पैदल दूरीमा उच्च शिक्षाको सेवा उपलब्ध छ/छैन ? आधा घण्टाको पैदल दूरीमा पुस्तकालय सुविधा उपलब्ध छ/छैन ? आधा घण्टाको पैदल दूरीमा मेडिकल डाक्टर (एमबीबीएस)को सेवा उपलब्ध छ/छैन ? आधा घण्टाको पैदल दूरीमा सुरक्षा बेस वा प्रहरी चौकी छ/छैन ? वडाको मुख्य बस्तीबाट ५ किमि दूरीमा दमकल सेवा उपलब्ध छ/छैन ? आधा घण्टा दूरीमा हरियाली पार्क वा बाल उद्यान खेल मैदान छ/छैन ?

आर्थिक पूर्वाधार र सेवासुविधाबारे विवरण संकलन गरिनेछ। वडामा परिवार नै बसाइ सरी आउने वा जाने अवस्था कस्तो छ ? आधा घण्टाको पैदल दूरीमा बैंक वा वित्तीय सेवा उपलब्ध भएका घरपरिवार कति छन् ? सहकारी पहुँच भएका घरपरिवार कति छन् ? आधा घण्टाको दूरीमा सिनेमा हल/नाचघर/कलकेन्द्र, व्यापारिक केन्द्र/सपिङ मल छ ?

प्रहरी चौकी, सार्वजनिक पुस्तकालय, सामुदायिक सिकाइ केन्द्र वृद्धाश्रम, बालगृह, सार्वजनिक शौचालय, सामुदायिक भवन वा सभाहल, पशुबधशाला, व्यवस्थित शवदाह स्थल/शव गाड्ने स्थल, खेलमैदान/टुँडिखेल, सार्वजनिक पार्क, वडा कार्यालयको आफ्नै प्रशासकीय भवन, मठमन्दिर, गुम्बालगायतको विवरण छ कि छैन  ? जस्ता प्रश्नावली तयार गरिएको छ।

निर्देशक चौलागाईंले यी प्रश्नावलीको आधारमा गाउँ र सहर छुट्टिने बताए। २०७८ जेठ २५ देखि असार ८ सम्म राष्ट्रिय जनगणना हुन गइरहेको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.