एमाले नियन्त्रणमा कार्यालय
इटहरी : पूर्वमाओवादी अध्यक्ष रहेका नगरका पार्टी कार्यालय एमाले नेतृत्वले धमाधम कब्जा गर्न थालेको छ। एमाले नेता कार्यकर्ताले कार्यालयमा ताला लगाउनुका साथै बोर्डसमेत परिवर्तन गरेका छन्।
विगतमा नेकपा एमालेले बनाएका पार्टी कार्यालय माओवादीसँगको एकतापछि नेकपा कार्यालयका रूपमा सञ्चालनमा थिए। प्रतिनिधिसभा विघटनपछि नगरका पार्टी कार्यालय नगर अध्यक्षका गुटको नियन्त्रणमा थिए।
सोहीअनुसार नेकपा ओली पक्षका अध्यक्ष रहेका कार्यालयमा दाहाल–नेपाल समूहका नेता कार्यकर्ता जान छाडेका थिए। दाहाल नेपाल अध्यक्ष रहेका कार्यालयमा पनि ओली पक्षका नेता कार्यकर्ता जाँदैनथे। ‘नगर अध्यक्ष प्रचण्ड पक्षधर भएकोले इटहरीको पार्टी कार्यालय उहाँहरूले नै चलाउनुभयो,’ ओलीनिकट अनेरास्ववियुका केन्द्रीय सदस्य जीबी गजलले भने, ‘महिनौंपछि आइतबारदेखि आफ्नो कार्यालय पुग्यौं।’
आइतबार ओलीनिकट राष्ट्रिय युवासंघ इटहरीले पार्टी कार्यालयमा ताला लगाएको छ। सोमबार बोर्ड परिवर्तन गरिएको सो संघका नगर अध्यक्ष कमल दाहालले जानकारी दिए। नगर अध्यक्ष हुँदा आफ्नै नेतृत्वमा बनाएको पार्टी कार्यालय एमालेले चलाउने नगर अध्यक्ष याम सुब्बाले बताए। धरानमा पनि पार्टी कार्यालय नियन्त्रणमा लिने योजना रहेको नगर अध्यक्ष हर्क इभङले जानकारी दिए। ‘फैसलासँगै अब त्यो कार्यालय एमालेको भएको छ,’ उनले भने, ‘अहिले उपचारको सिलसिलामा अस्पतालमा छु, निस्किनेबित्तिकै हामी त्यहीँबाट कार्य सञ्चालन गर्छौं।’
सुनसरीको इनरुवाका जिल्ला तथा नगर पार्टी कार्यालय आफ्नो बनाउनेबारे सल्लाह भइरहेको इनरुवा नगर अध्यक्ष विदुर सुवेदीले बताए। प्रतिनिधिसभा विघटनसँगै ओली नेतृत्वको नेकपाले छुट्टै कार्यालय सञ्चालनमा ल्याएको थियो।
प्रतिक्रिया दिनुहोस !