नारायणगढ–मुग्लिन सडकखण्ड : पहिरो नियन्त्रण गरिँदै
चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा पहिरो नियन्त्रणको काम सुरु गरिएको छ। सबैभन्दा बढी पहिरोको जोखिमयुक्त यो क्षेत्रमा बारम्बार सडक अवरुद्ध भइरहन्छ। गत वर्ष सबैभन्दा बढी यही स्थानमा पहिरो खसेको थियो। पहिरो खसेकै कारण यातायात अवरुद्ध हुँदा यात्रु कठिनाइ व्यहोर्न बाध्य छन्। छिनछिनमा जाने पहिरोका कारण यात्रुलाई हैरानी हुने गरेको थियो।
पहिरो पर्ने इच्छाकामना गाउँपालिका–६ मा पर्ने चार किलोमा पहिरो नियन्त्रणको काम थालिएको छ। कमजोर भौगोलिक बनोटका कारण पहिरो खसिरहने हुँदा यसै सातादेखि बारबाट पहिरो नियन्त्रणको काम सुरु गरिएको हो। यसअन्तर्गत मजदुरले डोरीमा झुन्डिएर ढुंगा फालेका छन्। मजदुर र प्राविधिकलाई निकै कठिन र जोखिमयुक्त मानिएको उक्त स्थानमा जोखिम मोलेर काम सुरु गरिएको छ। निर्माण पक्षका अनुसार एक हप्तामा खुकुलो चट्टान निकालेपछि मात्रै रक नेटिङको काम सुरु हुन्छ। अहिले ६ हजार वर्गमिटर क्षेत्रमा खुकुलो चट्टान निकालिँदै छ।
चार किलोको छेउमै करिब सात हजार वर्ग मिटरमा पहाड भत्किएको छ। त्यसका लागि छुट्टै बजेट चाहिन्छ। त्यसलाई नयाँ ठेक्का गरेर काम थालनी गर्ने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ। आयोजनाकी सूचना अधिकारी सबिना रानाभाटले इन्जिनियरले भिरालो बनाउँदै रोकथामको काम थालेका बताइन्। ‘गत वर्ष काम गर्दागर्दै पहिरोले अवरुद्ध भएको थियो’, उनले भनिन्, ‘अहिले त्यही कामको निरन्तरता गरिएको हो। अहिले ढुंगा फालेर चैत मसान्तभित्र रक नेटिङको काम सुरु गर्छौं।’
यसअघि पटक–पटक चार किलोमा पहिरो रोकथाम गर्ने प्रयास असफल भएको थियो। गत असारमा नेटिङका लागि राखिएको पाइप पहिरोले भत्काएपछि रोकिएको काम अहिले सुरु गरिएको हो। पहाडमा चट्टान चिरा परेर छुट्टिएको छ। प्राविधिकको भाषामा यसलाई ‘फ्याक्चर बोल्डर’ भनिन्छ। गत वर्ष नै पहिरो नियन्त्रण गर्ने भनिएको स्थानमा भौगोलिक जटिलताका कारण काम हुन सकेन। चट्टान खुकुलो भएका कारण मानिस जान समस्या भएपछि काम गर्न नसकिएको हो। पहाडमा बोरामा आलु राखेजस्तो चट्टान खुकुलो भई अलग–अलग भएकाले काम गर्न नसकिएको हो। अहिले पहिरो नियन्त्रणको काम सुरु गरिएको छ। पहाडको चट्टान खोस्रेर झारिएको छ। पहिरो नियन्त्रणको ठेक्का पाएको इन्टेको नेपालका सुपरभाइजर गोविन्द खड्काले एक हप्तामा खुकुलो ढुंगा फाल्ने बताए। ‘डोरीमा झुन्डिएर गर्नुपर्ने काम धेरै संवेदनशील र जटिल छ’, उनले भने, ‘धेरै मान्छे लगाउन पनि सकिँदैन, डोरीको भरमा गल लिएर खन्नुपर्ने हुनाले जोखिम पनि उत्तिकै छ।’
भिरालो र चलायमान भएकाले पहाडमा मान्छे गएर काम गर्न निकै जोखिम पनि छ। पहिरो रोकथामको करिब ८३ प्रतिशत काम सकिएको उल्लेख छ। पहिरो रोकथामको बाँकी काम गर्न नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिएको छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसमम सकड यातायात रोकेर काम गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले ट्राफिक व्यवस्थापन गरेर निर्माणमा सहज बनाएको बताए। ‘वर्षातमा धेरै दु:ख दिएको हुनाले वर्षा सुरु हुनुअघि नै यातायात रोकेर काम थालेका हौं’, उनले भने, ‘हामीले सहजीकरणको काम मात्रै गरेका हौं।’ यो अवधिमा नारायणढतर्फबाट गएका सवारीसाधनलाई सिमलताल र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्तिबजारमा रोकिएको छ।
नारायणगढ–मुग्लिन सडकको नौ स्थानमा रक नेटिङ गरिएको छ। चार किलोको दुई स्थानसहित टोपे खोला, भालुढुंगा, जलविरे, घुमाउने, भोर्ले र कालीखोलामा पहिरो नियन्त्रणको काम भइसकेको छ। २०७१/७२ बाट सडक स्तरोन्नति सुरु गरिएको हो। नारायणगढ–मुग्लिन सडकखण्डमा सामान्य अवस्थामा दैनिक करिब १० हजार सवारी चल्छन्।
प्रतिक्रिया दिनुहोस !