प्रधानमन्त्रीका लागि देउवा उपयुक्त
राजविराज : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वैकल्पिक सरकारको प्रधानमन्त्रीका रुपमा पार्टी सभापति शेरबहादुर देउवा उपयुक्त हुने बताएका छन् ।
राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सिटौलाले सरकारको नेतृत्व गर्न कांग्रेस तयार रहेको र सो का लागि पार्टी सभापति शेरबहादुर देउवा उपयुक्त हुने बताए ।
प्रधानमन्त्री केपी ओलीले राजनीतिक नेतृत्व लिने अवस्था नरहेको भन्दै सिटौलाले वैकल्पिक सरकारको नेतृत्वका लागि माओवादी र जनता समाजवादी पार्टीसँग छलफल चलिरहेको बताए । ओलीसँग सहकार्य गरेर आफ्नो पार्टी सरकारमा नजाने बताएका सिटौलाले ओलीको राजीनामा पछि कांग्रेस, माओवादी र जसपाको संयुक्त सरकार बनाउने गरी छलफल भइरहेको बताए ।
उनले कांग्रेसकै कमजोर भूमिका र सदासयताले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने साहस गरेको बताए । नेता सिटौलाले भने, ‘पार्टीका कतिपय साथीले स्थिर रुपमा सरकारले राम्रो काम गरोस् भनेर कांग्रेसले सदासयता देखाएको भन्छन् तर म भन्छु कांग्रेस कमजोर भएकाले दरो प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन् ।’ लोकतान्त्रिक व्यवस्थामा सदासयता राख्न नहुने बरु प्रतिपक्षले दरो भूमिका खेल्नु पर्ने उनले बताए ।
मन्त्रीलाई फिर्ता बोलाए पनि माओवादीले सरकारलाई दिएको समर्थन अझै फिर्ता नलिएकोले प्राविधिक रुपमा ओली प्रधानमन्त्री रहेको सिटौलाले बताए ।
‘माओवादीले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ र विश्वासको मत प्राप्त नभए राजिनामा दिनुपर्छ ।’ सिटौलाले भने, ‘त्यसपछि मात्र संयुक्त सरकार गठनको बाटो खुल्ने छ ।’
पत्रकारको प्रश्नको जवाफ दिँदै सिटौलाले पार्टी सभापति पदका लागि पुनः उम्मेदवारी घोषणा गर्ने बेला नभएको तर त्यस्को तयारी भने भइरहेको बताए । उनले भदौका लागि निर्धारित कांग्रेसको महाधिवेशन कुनै हालतमा सार्न र टार्न नहुनेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस !