ठगी गर्न नक्कली प्रेस कार्डको प्रयोग
इटहरी : नक्कली सुन दिएर ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
इटहरी ९ बस्ने २० वर्षीय फैजान आलम र इनरुवा १० का ४१ वर्षीय जल्लाउदिन मियाँ पक्राउ परेका हुन् । मियाँको साथबाट इनरुवाको एक मिडियाको नाममा नक्कली प्रेस कार्ड बरामद भएको छ।
इटहरी ८ गैसारका ३८ वर्षीय यज्ञविक्रम ठकुरीलाई उनीहरुले चार लाख रुपैयाँ ठगेको आरोप छ । आफू जमिनको कारोवार गर्ने बताउँदै लगानी गर्दा फाइदा हुने लोभ देखाएका थिए । चैत ५ गते आलम र मियाँले आफूहले ८ लाख रुपैयाँ लगानी गर्ने भन्दै ठकुरीलाई चार लाख रुपैयाँ हाल्न लगाएका थिए ।
१० ग्राम बराबरको ८ वटा सुनको सिक्का राख्न दिएर साँझसम्म पैसा फिर्ता गरिदिने भन्दै फरार भएको ठकुरीको भनाइ छ ।
उजुरीपछि आलमलाई इटहरीबाट र मियालाई इनरुवाबाट पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस !
५