गोरखामा नेकपा एमालेको समानान्तर कमिटी गठन
गोरखा : गोरखामा नेकपा एमालेको ओली इतर समूहले समानान्तर कमिटी गठन गरेका छन्। नेपाल, खनाल तथा गौतम समूह भनेर चिनिएका जिल्ला नेता कार्यकर्ताहरुको सोमबार सम्पन्न भेलाले ६४ सदस्यीय नयाँ कार्यसमिति पुनर्गठन गरेको नेता हरि काफ्लेले जानकारी दिए।
‘नेकपाका जिल्ला उपाध्यक्ष यादव बस्नेतको नेतृत्वमा भएको भेलाले ६४ सदस्यीय कमिटी पुनर्गठन गरिएको छ’, उनले भने, ‘साविक समितिको अध्यक्ष र सचिवलाई यथावतै राखिएको छ। र अरु सदस्य थपघट गरिएको छ।’
सो भेलामा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रदेश सदस्यद्वय हरि काफ्ले र जुद्धविलाश भण्डारी उपस्थित थिए। हरमटारीस्थित निर्माण व्यवसायी संघको हलमा भेला भएको थियो। भेलामा करिब एकसय जना सहभागी रहेको काफ्लेले बताए। ‘भेलाले १४ सदस्यीय सचिवालय पनि गठन गरेको छ’, काफ्लेले भने, ‘केपी ओलीको ज्यादति देशभर बढ्यो। त्यसैले हामीले नयाँ समिति गठन गर्न बाध्य भएका हौँ। अब हरमटारीमा नयाँ कार्यालय खोल्ने तयारी गरेका छौँ।’ कार्यालयका लागि घर पक्कापक्की गरेको र एकदुई दिनभित्रमा कार्यालय खोल्ने उनले बताए।
तर साविक कमिटीका जिल्ला अध्यक्ष प्रेम गुरुङले भने सोमबार पुनर्गठित कमिटीलाई अवैध भनेका छन्। ‘एमालेको नाम जनता माझ प्यारो भएकाले उहाँहरुले त्यो नाम प्रयोग गर्नुभएको होला। नाम लिन पाइन्छ तर समिति गठन गर्नु अवैधानिक हो’, गुरुङले भने, ‘उहाँहरु आफू पनि भ्रममै हुनुहुन्छ अरुलाई पनि भ्रम पार्ने प्रयास गरिरहनु भएको छ।’
२०७५ जेठ २ गते अघि गठित साविक कमिटी ६८ सदस्यीय थियो। ओली निकट भनेर चिनिएका जिल्ला अध्यक्ष गुरुङ, सचिव कृष्ण नेपालीले यसअघि सो समिति पुनर्गठन गरी २४५ सदस्यीय जिल्ला कमिटी बनाएको छ।
प्रतिक्रिया दिनुहोस !