पर्‍यो पानी, घट्यो प्रदूषण

पर्‍यो पानी, घट्यो प्रदूषण

काठमाडौं : काठमाडौं उपत्यकासहित अधिकांश भेगमा वातावरण प्रदूषणबाट प्रभावित नागरिकलाई पानी परेपछि राहत मिलेको छ। भू–मध्य र अरब सागरको पश्चिमी वायु र बंगालको खाडीमा विकास भएको न्यूनचापीय क्षेत्रको प्रभावले बुधबार विभिन्न ठाउँमा वर्षा भई वायु गुणस्तरमा सुधार भएको छ।

काठमाडौं उपत्यका र आसपास, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भेगमा बुधबार साँझ वर्षा भएसँगै वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) घटेको छ। बाराको सिमरा, ललितपुरको भैंसेपाटी र भक्तपुरको एक्युआई बुधबार २०० भन्दा तल झरेको छ। यिनै ठाउँमा एक्यूआई शनिबार साढे ३ सयभन्दा माथि पुगेको थियो। जनस्वास्थ्यका दृष्टिले एक्यूआई ५० देखि १०० सम्मलाई सामान्य मान्ने गरिन्छ। एक्यूआई ३०० नाघेपछि घातक मानिन्छ। तर, एक सातायता मुलुकका अधिकांश स्थानमा डढेलो लागेपछि फैलिएको धुवाँले एक्यूआई घातक अवस्थामा पुगेको थियो।

पश्चिमी वायुको प्रभावले अन्यत्रको पनि एक्यूआई घटेको वातावरण विभागको तथ्यांक छ। पश्चिमी वायु र बंगालको खाडीको दोहोरो प्रभावले वायुमण्डलमा तैरिएको धुलो, धुवाँ र बालुवा मिश्रित ‘हेज’लाई सफा बनाएको विज्ञ बताउँछन्।

पछिल्लो चार महिनामा ७३ जिल्लाका २ हजार ७ सय १३ ठाउँमा डढेलो लागेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। ‘यसपटक डढेलोले प्रदूषण निकै बढायो। डढेलोले १० वर्षयताकै सबैभन्दा बढी क्षति भएको छ। क्षतिको विस्तृत विवरण आउन बाँकी छ’, प्राधिकरणका प्रवक्ता उद्धवप्रसाद रिजालले भने। भारतको हरियाणा, उत्तर प्रदेशलगायत भेगमा बढेको प्रदूषणको प्रभावसमेत नेपालमा देखिएको थियो।

अहिलेको वर्षाले प्रदूषण पखाल्ने, एक्युआई घटाउने र डढेलो नियन्त्रणमा सघाउ पुर्‍याउने जल तथा मौसम विज्ञान विभागका अधिकारी बताउँछन्। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का र मध्यमस्तरको वर्षा हुनेछ।

पश्चिमी वायुले बुधबार साँझ धनगढीको एक्यूआई भने ४७० पुगेको छ। मंगलबार त्यहाँको एक्युआई १७१ थियो। धनगढी आसपासका भारतीय भेगको तीब्र गतिको वायु सोझै नेपालतर्फ फैलिएपछि २४ घन्टाभित्र त्यहाँको एक्युआई तीन गुणा हाराहारी बढेको वातावरणविद् डा. धर्म उप्रेतीले बताए। बंगालको खाडीको न्यूनचापीय प्रभावले बिहीबार र शुक्रबार नेपालको पूर्वी भेगमा मध्यम र हल्का वर्षा हुने उनले बताए।

‘पश्चिमी वायुको प्रभावले नेपालका अधिकांश हिमाली भेगमा हावाको गती तीव्र हुन्छ’, उप्रेतीले भने, ‘त्यसले अहिलेको प्रदूषित वायु धकेल्न मद्दत गर्नेछ।’ बंगालको खाडीको प्रभावले भारतको आसाम, मेघालय, त्रिपुरा, मिजोरम, बंगालको खाडीको दक्षिणपूर्वी भेगमा तीब्र गतीको आधीसहित वर्षा हुने भन्दै सर्तकता गराइएको छ।

प्रतिघन्टा ४० देखि ५० किलोमिटर हाराहारीको हावाको बेगको प्रदूषित मिश्रित वायुको प्रभाव राजस्थान, हरियाणा, दिल्ली, उत्तर प्रदेश, पञ्जाव, पश्चिम बंगाल लगायतका भेगमा फैलिने भन्दै सर्तक रहन आग्रह गरिएको छ। त्यसको प्रत्यक्ष-अप्रत्यक्ष प्रभाव नेपालमा पनि देखिने डा. उप्रेतीको ठहर छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.