सुदूरपश्चिममा कोरोनाको नयाँ भेरियन्ट

सुदूरपश्चिममा कोरोनाको नयाँ भेरियन्ट

धनगढी : डोटीको जोरायल गाउँपालिका–३ का ३० वर्षीय पुरुष भारतको पञ्जाबबाट चैत १२ गते घर फर्के। कैलालीको गौरीफन्टा नाका हुँदै आएका उनको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखियो। भारतबाटै चैत १४ गते फर्किएका डँडेलधुराको परशुराम नगरपालिका–४ का ३१ वर्षका पुरुष र कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का २२ वर्षका पुरुषको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखियो।

नाकामा चैत १५ गतेसम्म परीक्षण गर्दा पोजिटिभ देखिएकामध्ये २० जनाको स्वाब नमुनामा तीन जनामा अर्को भेरियन्टको कोरोना भेटिएको छ। ‘प्रदेश सरकारले २० जनाको नमुनामा फरक भेरियन्टको कोरोना छ कि छैन भनेर नमुना जाँचका लागि भन्यो। हामीले २० जनाको स्वाबको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठायौं’, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका कोभिड स्रोत व्यक्ति नरेन्द्रसिंह कार्कीले भने । 

उनले भने, ‘त्यहाँ ३ जनामा फरक भेरियन्टको कोरोना पुष्टि भएको भन्ने खबर आएको छ।’

तर उनले कुन भेरियन्टको कोरोना हो भनेर अझै रिपोर्ट नआएको बताए। ‘भारतमा ४ भेरियन्टका कोरोना भेटिएका छन्। त्यसमा पनि यूके भेरियन्ट सबैभन्दा बढी छ। नेपालमा पनि यूके भेरियन्टको कोरोना यसअघि नै पुष्टि भइसकेको छ’, उनले भने, ‘तर, सीमा नाकाबाट फर्केका नेपालीहरूमा फरक कोरोना  देखिएपछि, भेरियन्ट भने अझै थाहा हुन सकेको छैन।’

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विदेश पठाएको नमुनाको रिपोर्ट भने अझै पठाइनसकेको बताए। ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रिपार्ट पठाएको छैन। केमिकल उपलब्ध भए नेपालमै पनि फरक भेरियन्टको जाँच गर्न सकिने कुरा आएको थियो। तर, ३ जनाको नमुना विदेश पठाउने तयारी गरिएको थियो’, उनले भने, ‘हामी रिपोर्ट कुरिरहेका छौं।’

सुदूरपश्चिम प्रदेश सरकारले भारतका महाराष्ट्र, पञ्जाब र नयाँदिल्लीलाई कोरोनाको हटस्पोटको श्रेणीमा राखेको छ। ती तीनै ठाउँबाट आउनेहरूको नाकामै एन्टिजेन परीक्षण भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सेती प्रादेशिक अस्पतालको कोभिड प्रयोगशालाका इन्चार्ज रमेश शाहीले पहिलाको कोरोनाका लागि आरडीआरपी जिन, एन जिन र ओआरएफ जिन परीक्षण गरिने गरिएकोमा नयाँ भेरियन्टका लागि एस जिन परीक्षण हुने गरेको बताए। ‘अहिले भारतमा पनि फरकफरक भेरियन्टको कोरोना आएको छ। त्यहाँ रहेका नेपालीका माध्यमबाट त्यो फरक खालको कोरोना नेपालमा पनि सर्ने सम्भावना छ’, उनले भने।

चैत ३ गतेयता कैलाली र १७ गतेयता कञ्चनपुरको नाकामा गरिएको एन्टिजेन परीक्षणमा झन्डै ५ सय जनामा कोरोना भेटिएको छ। अहिले दुवै नाकाबाट दैनिक ३ हजारको हाराहारी नेपालीहरू घर फर्किरहेका छन्।

कोरोनाका बिरामी पनि बढ्न थालेपछि आइसोलेसनहरू पुनः सञ्चालनको तयारी थालिएको छ। कैलालीमा हिउँदभरि बिरामी शून्य भएको ५० बेडको कोभिड अस्पतालमा बिरामी आउन थालेका छन्। ‘कोभिड अस्पतालमा गम्भीर प्रकारका बिरामीको मात्रै भर्ना हुन्छ। २ जना भर्ना भएका छन्’, सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा. शेरबहादुर कमरले भने, ‘३–४ महिनासम्म बिरामीविहीन भएको थियो। अहिले बिरामी बढ्न थालपछि हामीले कोभिड अस्पताल फेरि सञ्चालन गरेका छौं।’

उनले भारतमा चार, नयाँ प्रकारका कोरोनाका बिरामी भेटिएकाले नेपालीको आगमनका कारण सुदूरपश्चिम पनि हटस्पोट बन्न सक्ने बताए। ‘पहिलेको कोरोनाभन्दा नयाँ भेरियन्ट अझ खतरनाक छ। तर गत वर्षको जस्तो मास्क, सेनिटाइजरको प्रयोग पनि भइरहेको छैन, भीडभाड हुने कार्यक्रम यथावत् नै छन्, यसले जोखिम बढाएको छ’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.