घर बने तर मान्छे बस्दैनन्

घर बने तर मान्छे बस्दैनन्

दोलखा : विनाशकारी भूकम्पको ६ वर्ष अवधिमा दोलखामा ६३ हजार निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ। त्यत्रो संख्यामा घर त बन्यो तर बस्ने मान्छे नभएर करिब ४ हजार घरमा ताला लगाइएको छ।

दोलखामा करिब ९० प्रतिशत घर बनिसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखाको तथ्यांक छ। नौ स्थानीय तहका ७४ वडामा गरी करिब ४ हजार घरमा बस्ने मान्छे नभएर ताला लगाइएको हो। रोजगारीका सिलसिला, वैदेशिक रोजगार र नयाँ अवसरको खोजीमा जिल्लाबाहिर गएका लाभग्राहीले निर्माण गरेका अधिकांश घरमा ताला लागेको छ।

महालेखा परीक्षकको कार्यालयको कार्यमूलक लेखापरीक्षण प्रतिवेदन २०७७ मा दोलखाका ४ हजार आवासको उपयोग नभएको उल्लेख छ। भूकम्प प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन २०७२ अनुसार पुनर्निर्माण प्राधिकरणबाट प्रवाह भएको अनुदानबाट निर्मित निजी आवास उपयोगमा ल्याइएको हुनुपर्ने उल्लेख छ। आवश्यकताका आधारमा सार्वजनिक कोषको उपयोग गरिनुपर्नेमा गलत लाभग्राही पहिचान भएबाट त्यस्ता घरमा मान्छे नबसेर ताला लगाउनुपरेको प्रतिवेदनमा औंल्याइएको छ।

पुनर्निर्माण प्राधिकरण दोलखाका प्रमुख रामप्रसाद पोखरेलले अनुदानबाट बनेका धेरै घर उपयोगविहीन रहेको गुनासो आइरहेको बताए। प्राधिकरणले भूकम्प प्रतिरोधी घर बनाउन मात्र नभई अनुदानबाट बनेका घरहरूको उपयोगको अवस्था के कस्तो छ भनेर खोजी गर्नुपर्ने बेला भएको प्रमुख पोखरेलको भनाइ छ।

कालिञ्चोक गाउँपालिका–८ सुनखानीका वडाध्यक्ष नन्दराज शिवाकोटीले वडाका करिब डेढ सय घरमा मान्छे नबसेको बताए। ‘केही घरमा ज्येष्ठ नागरिकबाहेक ६० प्रतिशत घरमा ताला लगाइएको छ’, गौरीशंकर गाउँपालिका–७ मार्बुका स्थानीय निमा शेर्पाले भने।

जिलु र बोसिम्पा एकीकृत बस्ती तथा दोलखा सम्पदा बस्ती पुनर्निर्माणमा सुस्तताले जिल्लाको समग्र निजी आवास पुनर्निर्माणको प्रगति प्रतिशत कम देखिएको कार्यालय प्रमुख पोखरेलको भनाइ छ। जिलु र बोसिम्पा एकीकृत बस्ती ६५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको प्राधिकरणको तथ्यांक छ। दोलखाका ५ सय ८५ घरलाई सम्पदा बस्ती बनाउने भनिए पनि अझै २ सय ३१ घर पुनर्निर्माण बाँकी नै रहेको भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष विराजमान श्रेष्ठले बताए। त्यसमध्ये पनि ५५ घरमा १ सय ३८ लाभग्राहीका बहुस्वामित्व भएको कारण सबैभन्दा जटिल हुन पुगेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ।

७० हजार २ सय ३० लाभग्राहीले अनुदान सम्झौता गरेकामा ६३ हजार २ सय ६६ घरको निर्माण सम्पन्न भएको छ। प्रमुख पोखरेलका अनुसार वैशाख पहिलो सातासम्म ३३ सय ३३ लाभग्राहीले अझै सम्झौता गरेका छैनन्। दोलखाको निजी आवास पुनर्निर्माणका लागि हालसम्म २० अर्ब रुपैयाँ भुक्तानी भइसकेको जनाइएको छ। अनुदान पाएर पनि घर नबनाउने १ सय ६१ जनाले ८४ लाख ५० हजार रकम सरकारी कोषमा फिर्ता गरिदिएका छन्।

८ जना अझै बेपत्ता
६ वर्ष अघिको भूकम्पमा परेका दोलखाका ८ जना अझै बेपत्ता रहेको दोलखा प्रहरीको तथ्यांक छ। प्रहरीले बिगु गाउँपालिका–१ लामाबगरका पासाङ छिरिङ गुरुङ, पेम्बा नुर्वु शेर्पा तथा राम तामाङ, वडा नम्बर २ ओराङका पासाङ तामाङ, वडा नम्बर ६ आलम्पुका अशोक थामी, तामाकोसी गाउँपालिका–१ भीरकोटका टंकबहादुर मगर, कालिञ्चोक गाउँपालिका–६, लापिलाङका नेत्रकुमार थामी, शैलुङ गाउँपालिका–२, भुषाफेदाका नरबहादुर मोक्तान गरी ८ जनालाई बेपत्ताको सूचीमा जनाई राखेको पाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.