मकलमा कोइला बालेर सुत्दा सुत्केरीको मृत्यु, अन्य दुईजना गम्भीर

मकलमा कोइला बालेर सुत्दा सुत्केरीको मृत्यु, अन्य दुईजना गम्भीर

भक्तपुर : भक्तपुरमा सुत्केरीलाई सेक्न मकलमा बालेको कोइलाले सुत्केरीकै ज्यान लिएको छ । अन्य दुईजना भने गम्भीर घाइते भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार जिल्लाको सूर्यविनायक नगरपालिका १० मिलनचोकस्थित एक घरमा डेराकोठा गरी बस्ने काभ्रेको तिमाल गाउँपालिका ३ गुडुवाल बस्ने २२ वर्षीया सुनिता तामाङको ज्यान गएको हो । उनी वैशाख १९ गते सुत्केरी भएकी थिइन् ।

सुनिताकी आमा ४० वर्षीया शान्तिमाया ब्लोन तामाङ र बहिनी १८ वर्षीया अनिता तामाङ भने घाइते भएको परिसरले जनाएको छ । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार सुत्केरी महिलालाई सेकताप गर्न मकलमा कोइला बालेको कारण कोठामा पर्याप्त अक्सिजन नहुँदा निस्साएर सुनिताको मृत्यु भएको थियो । उनी आमा र बहिनीसँगै अचेत अवस्थामा भेटिएकी थिइन् ।

‘कोठाको सम्पूर्ण झ्याल र ढोका भित्रबाट बन्द अवस्थामा रहेकाले अक्सिजन नपुगेको देखियो’, प्रहरी नायब उपरीक्षक गिरीले भने, ‘स्थानीयको सहयोगमा झ्याल ढोकाको चुकुल फोडी हेर्दा सुनिता मुखबाट फिज काटी बेहोस अवस्थामा फेला परेकी थिइन् ।’

लगत्तै तीनैजनालाई उपचारको लागि मध्यपुर अस्पताल नयाँठिमी लगिएकोमा उपचारकै क्रममा सुनिताको मृत्यु भएको उनले जानकारी दिए । उनका अनुसार सुनिताकी बच्चालाई भने जन्मिएकै दिन बेलुका भान्जा नाता पर्ने सोनाम तामाङका साथी जेम्स कुसुलेका जेठान दाइ र दिदीलाई पालनपोषणको लागि जिम्मा दिइएको थियो । त्यसैले बच्चा सुरक्षित रहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

उनले बेहोस भएका शान्तिमाया र अनिताको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताए तर उनीहरु राम्ररी बोल्न नसक्ने अवस्थामै रहेको उनको भनाइ छ । मृतक तामाङको शव पोस्टमार्टमका लागि भक्तपुरको चाँगुनारायण नपा २ दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेजमा पठाइएको थियो । पोस्टमार्टमपश्चात लास सतगतका लागि मृतकको बुबा सलाम तामाङलाई जिम्मा दिइएको भक्तपुर प्रहरीले जनाएको छ ।

‘घटनाबारे अनुसन्धान गर्न मृत लाशको रगत र भिसेरासमेत निकाली परीक्षणका लागि पठाइएको छ’, प्रहरी नायब उपरीक्षक गिरीले भने । उनका अनुसार घटनास्थलको प्रकृति, घाइतेको अवस्था र सोधपुछबाट हेर्दा कोठाका सम्पूर्ण झ्याल ढोका बन्द गरी सुत्केरीलाई सेक्न मकलमा कोइला बालेको कारण आवश्यक मात्रामा अक्सिजनको कमीले गर्दा निस्सासिएर उक्त घटना भएको हुनसक्ने देखिएको अन्य आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार वैशाख १९ गते राति सुनिताका बाबु सलाम तामाङले मिलनचोकस्थित डेराकोठामा बस्ने आफ्नी श्रीमती शान्तिमायालाई फोन सम्पर्क गर्दा नउठेपछि उक्त घटना खुल्न आएको हो । 

आफ्नी श्रीमतीले मोबाइल फोन नउठाएपछि सलामले मिलन चोकमै रहेका छिमेकी सोनाम तामाङलाई फोन गरी श्रीमतीको फोन नउठेको के किन हो गएर बुझ्न आग्रह गरेका थिए । डेराकोठा पुगी हेर्दा ३ जना व्यक्तिहरु आफ्नै कोठाभित्र बेहोस अवस्थामा रहेको देख्नासाथ सोनामले प्रहरीलाई खबर गरेको भक्तपुर प्रहरीले जनाएको छ ।

खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी निरीक्षक सागर कार्कीसहित प्रहरी टोली उक्त घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । घटना सम्बन्धमा मृतकका बुबा सलामले महानगरीय प्रहरी वृत्त जगातीमा प्रकार नखुलेको फुटकर ज्यान मुद्दा शीर्षकमा जाहेरी दर्खास्त दिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.