फस्टाउँदै बाख्रापालन
तानसेन : कोरोना कहरमा उद्योग कलकारखाना बन्द भएपछि अधिकांश व्यक्तिहरू बेरोजगार भइरहेका बेला पाल्पा गल्धाका महिलाहरूले बाख्रापालनबाट लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन्। कोरोनाका समयमा खसी बोकाको बिक्री भइरहेका छन्। अहिले गल्धाका करिब ४ सय महिला बाख्रापालन व्यवसायमा सक्रिय रहेका छन्।
निस्दी गाउँपालिका–५ गल्धा बहपुरकी खुमीसरा रानाले एउटै खसी बेचेर ३७ हजार आम्दानी गरेकी छन्। खुमिसराले अहिले २१ वटा बाख्रा पालेकी छन्। कोरोना कहरकै बीच खुमिसराले खसी बोका बेचेर २ लाख २० हजार आम्दानी गरेकी थिइन्। यस वर्ष खसी बोका बेचेर ३ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने लक्ष्य रहेको खुमिसराले बताइन्। ‘गाउँमा पढेलेखेका मानिसले कोरोनाले जागिर गयो भन्छन् तर हामीलाई कुनै असर गरेको छैन। घरमै बाख्रा पालेको, आम्दानी बढेको खुमिसराको अनुभव छ। बाख्राको आम्दानीले पाँच जनाको परिवार पालेका छौं, खसी बोका बेचेर महिनामा बीसदेखि तीस हजारसम्म आम्दानी हुन्छ,’ खुमिसराले भनिन्।
गाउँकै उर्मिला सुनारीले साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा १८ वटा खसी, बोका बिक्री गरी तीन लाख रुपैयाँ आम्दानी गरिन्। यतै मिहेनत गरे कोही विदेश जानु नपर्ने बताउँछिन्, उनी। उर्मिलाको खोरमा अहिले २५ वटा बाख्रा छन्। उर्मिलाले खसी बोका बिक्री गरेर गत वर्ष २ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको बताइन्। खासै लगानी भएको छैन तर आम्दानी भने राम्रो भएपछि अहिले श्रीमान् श्रीमती बाख्रापालनमै लागेको उर्मिलाले बताइन्।
हेफर इन्टरनेसनल नेपालले निस्दीका गाउँ–गाउँमा सहयोग गरेपछि महिलाहरू बाख्रापालनमा उत्साहित भएका हुन्। बाख्रापालन व्यवसायलाई व्यस्थित बनाउन गाउँमै महिलाहरूले गल्धा सामाजिक महिला सहकारी गठन गरे। सहकारीले गाउँ गाउँका महिलालाई गोलबद्ध गर्दै २८ वटा उपसमूह बनाएर बाख्रापालन व्यवसाय व्यवस्थित भएको हो। संस्थाले गत वर्ष मात्र वार्षिक २ करोड ५१ लाख बराबरको खसी बोका बिक्री गरेको छ।
गाउँ–गाउँमा उत्पादन भएको खसी बोका सहकारीमार्फत बिक्री हुने गरेको छ। सहकारीले जिउँदो खसी बोकाको मूल्य निर्धारण गरी बिक्री वितरण गर्दै आएका छन्।
सहकारीले २० किलोसम्मको खसी बोकालाई प्रतिकिलो ३ सय ६० मा, २० किलो देखि ३० किलोसम्म ४ सय २० मा, ३० देखि ३६ किलोसम्म ४ सय ५० मा, ३६ किलोदेखि ४० किलोसम्म चार सय ८० मा, ४० किलोदेखि ५० किलोसम्म पाँच सय, ५० किलोदेखिमाथिको तौल भएका खसी बोकालाई पाँच सय ४० रुपैयाँ प्रतिकिलो मूल्य कायम गरेको सहकारीका व्यवस्थापक दिलमाया राना बताइन्। सहकारीले गरेको बजार व्यवस्थाको कारण बिक्रीमा कुनै समस्या नभएको र ठगिनबाट बचेको बाख्रापालक उर्मिलाले बताइन्।
सहकारीले गत वर्ष ९ सय ९८ वटा खसी बोका खरिद बिक्री गरेको चालू आर्थिक वर्षको चैत मसान्तसम्म १ हजार २१ वटा खसी बोका खरिद बिक्री भएको व्यवस्थापक रानाले बताइन्। सहकारीले गाउँका पाँच स्थानमा खसी बोका संकलन गरी नवलपुरको कावासोती, पोखरा, पाल्पाको रामपुर बजारमा खपत् गर्दै आएको छ।
गाउँ–गाउँमा बाख्रापालन व्यवसायबाट महिलाहरूले राम्रो आम्दानी गरेपछि थप क्षेत्रमा विस्तारका लागि निस्दी गाउँपालिकाले बाख्रापालन अभियानलाई सहयोग गरेको छ। गाउँ–गाउँमा खसी बोका उत्पादन गरी मासुमा आत्मनिर्भर बनाउन गाउँपालिकाले बाख्रा वितरण गरेको छ। गाउँपालिकाको पशु सेवा शाखाले संघीय बजेटअन्तर्गत ससर्त कार्यक्रममार्फत ९ लाख ९० हजार, गाउँपालिकाको लागत साझेदारी कार्यक्रमबाट ९ लाख ९० हजार र सहकारीको ३ लाख २३ हजार गरी २३ लाख ३ हजार रुपैयाँ लागतमा बाख्रा वितरण गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए।
गाउँ–गाउँमा घाँसपात र चरनको प्रशस्त रहेको बजारमा खसी बोकाको माग दिनहुँ बढ्दै जानु र बाख्रा पालेर राम्रै आम्दानी गरी जीविकोपार्जन गर्न सकिने भएकोले महिला बाख्रापालनमा आकर्षित भएका हुन्।
प्रतिक्रिया दिनुहोस !