लेखक बन्ने रहर !

लेखक बन्ने रहर !

आत्मानुभूति

मानिस इच्छैइच्छाको पिँजडामा बन्द प्राणी हो। यहाँ बाँच्नेहरू सबैका आआफ्ना सोख छन्, रहरहरू छन्। कसैलाई चित्र कोर्ने रहर छ त कसैलाई गीत गाउने सोख छ ! ममा भने किशोर छँदादेखि नै लेखक बन्ने रहर थियो। तिनताका म युधिर थापाका उपन्यास खोजी खोजी पढ्थें। मनोरञ्जनका प्रचूर साधन नभएको त्यस कालखण्डमा थापाका उपन्यास मेरा लागि मन बहलाउने माध्यम थिए।

आश गयो त सास गयो। ममा मनभित्रको कमजोर आशालाई पुनर्जागृत गर्नुको विकल्प थिएन। त्यसैले हरदम एउटै वाक्य दोहोर्‍याइरहेको छु, ‘चाहे आँधी आओस् या तुफान सुसाओस्, आशाको शिखर चढ्न छोड्ने छैन।’

लेखक बन्ने प्रचण्ड रहर थियो त्यतिबेला ममा। म साहित्यकारको सूचीमा आफ्नो नाम दर्ता भएको हेर्न चाहन्थें। तथापि मलाई साहित्य क्षेत्रमा लाग्न उत्प्रेरित गर्ने कोही थिएनन् भन्दा हुन्छ। आफ्नै परिवारभित्र बाट समेत सकारात्मक उत्प्रेरणा पाएको थिइनँ मैले। ‘कथा–कविताले पेट भरिँदैन। बाँच्नका लागि प्रतिफलमुखी पेशा÷व्यवसाय अँगाल्नुपर्छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाले जस्तै एक खिली चुरोटका लागि माग्दै हिँड्ने भए मात्र कवि–लेखक बन्नू !’ मान्यजनहरू भन्नुहुन्थ्यो। म भने अर्थ आर्जनभन्दा कीर्ति आर्जनको भोको थिएँ। मलाई अमरत्वसँग प्रेम थियो। सदियौं दिलको सिंहासनमा राज गर्न सफल विश्वविख्यात साहित्यकारहरू मेरो प्रेरणाका आधार थिए। सपना पाल्नु एउटा कुरा, सपना पूरा हुनु बेग्लै कुरा। चाहँदैमा लेखक बन्ने भए मनभित्र कथाको समुद्र बोकी बाँचेका अरबौं मानिस लेखक बन्ने थिए। मनका भाव वा तरंगहरूलाई कलमको निबबाट टुकुटुकु हिँडाउनु जो कोहीको बसमा हुँदैन ! लेखक बन्नका लागि केही निश्चित पूर्वसर्तहरू हुन्छन्। जस्तो कि– कल्पनाशीलता, कलात्मकता, भाषिक सौदन्र्य, अध्ययनशीलता, विषयवस्तुको ज्ञान आदिआदि। मलाई चंगा उडाउन सजिलो लाग्थ्यो तर कल्पनाशील हुनु असम्भव प्रतीत हुन्थ्यो। कलात्मकता त ममा छँदै थिएन भन्दा पनि हुन्छ। लेखक बन्ने उल्लेखित योग्यता जुटाउनु जो केहीको बसको कुरा पनि होइन।

‘बाटो हिँडेपछि देखिन्छ। हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ।’ उपरोक्त उक्ति मनन गर्दै मैले नामुद साहित्यकारका कृतिहरू खोजीखोजी पढ्न सुरु गरें। त्यति मात्र होइन, सम्भव भएसम्मका कविगोष्ठी र साहित्यिक कार्यक्रममा नबिराई सहभागी हुन थालें। अग्रज कवि–लेखकसँग साहित्य सृजनको शिक्षादीक्षा पनि लिन्थें। चाँदनीको शितल छायाँमुनि सुस्ताउँदै कथा कविता कोर्ने जमर्को पनि गर्थें। लाख कोशिसका बाबजुद कलम अघि बढाउन हम्मेहम्मे पथ्र्यो मलाई। अनि म एकजना चल्तीका साहित्यकारसँग सहारा माग्न पुगें। उनीसँग आँसुकविले जस्तै कथा–कविताको धारा बगाउने सूत्र सिकाइदिन अनुरोध गरें। क्षणिक मौनतालाई तोड्दै उनी मुस्कुराए। अनि लेखक बन्न आवश्यक योग्यताको क्याप्सुल पे्रसक्राइव गर्न सुरु गरे। बिडम्बना नै भनौं, उनले सिफारिस गरेको क्याप्सुल मैले देखेजानेको भन्दा बिल्कुलै भिन्न थियो।

‘पैसा, संगठित समूह र प्रचारप्रसार’ गरी तीन शिर्षकका क्याप्सुल प्रेस्क्राइब गरे उनले। ‘लेखेर लेखक बनिने जमाना गए। जतिसुकै अब्बल कृति लेख, संगठित समूह र पर्याप्त धन खर्च गर्ने सामथ्र्य छैन भने तिमी कहिल्यै साहित्यकारको पंक्तिमा उभिन सक्ने छैनौ। साहित्य क्षेत्रमा निम्नस्तरको कृतिलाई पनि अति विशिष्ठ भन्दै दिग्भ्रमित पार्न सक्ने तथाकथित जादुगरहरूको बोलवाला छ। त्यसका लागि आम जनसञ्चारका माध्यम र पुरस्कार गृहलाई समेत प्रभावित गर्न सक्नुपर्छ। पहिलो समस्या त यदि तिमी सेलिबे्रटीको कोटीमा पर्दैनौ भने जति नै अब्बल कृति लेख प्रकाशित गर्न हम्मेहम्मे पर्छ। रोयल्टी पाउँला भन्ने त आशै नगर। उल्टै रकम माग्छन् प्रकाशन गृहका मालिकहरू ! समकालीन नेपालमा धन साहित्यकार बन्ने जबर्जस्त योग्यताभित्र पर्ने गरेको छ।’

ती अग्रजले निराश पो बनाए मलाई ! लेखक बन्नु मेरा लागि लिगलिग कोटको दौड जितेर राजा बन्नुभन्दा दुरुह महसुस हुन थाल्यो। मसँग न पर्याप्त धन थियो न त संगठित समूह नै थियो। त्यही बीचमा मलाई केही वर्ष अमेरिका बस्ने सौभाग्य जुर्‍यो। म लेखक बन्ने हुटहुटी बोक्दै अमेरिका जान लागें। उड्नुअघि मैले धर्म, दर्शन, इतिहास, साहित्य आदि विधाका एक बाकस किताब खरिद गरें। अनि अमेरिका बस्दा उल्लेखित पुस्तकहरूको गहन अध्ययन गरें। मैले अमेरिकामा राम्रो आम्दानी हुने काम पाएको थिएँ। जब जब कामबाट फुर्सद मिल्थ्यो अन्य लेखकको सिको गर्दै कथा–उपन्यास लेख्ने गर्थें।

दुई वर्षमा उपन्यास तयार भयो। उपन्यास लेखिसक्दा मभित्र पहिलो सन्तान जन्माउँदाकै जस्तो  हर्षानुभूति थियो। साहित्यकार बन्ने पहिलो खुड्किलो उक्लन लागेकोमा दंग थिएँ। अब मलाई पुस्तक प्रकाशन गर्नु थियो। मैले गुगल सर्च गरी पब्लिकेसन हाउसहरूको खोजी अघि बढाएँ। दुःखको कुरा धेरै प्रकाशन गृहले मेरो फोन सम्पर्कलाई महत्त्व नै दिएनन्। केहीले भने अन्कनाइ अन्कनाइ मेल एड्रेसमा उपन्यासको पाण्डुलिपी पठाउन आग्रह गरे।

उपन्यास प्रकाशन हुने–नहुने टुंगो थिएन। मचाहिँ ‘सातु बेची सफलताको शिखर चुमेको सपना देख्ने सोम शर्मा’ जस्तै मधुर कल्पनामा डुबिसकेको थिएँ। आफ्नो उपन्यास बेस्ट सेलरमा दर्ज भई प्रतिष्ठित पुरस्कारहरू हात परेको सपना देख्ने गर्थें। तर पाण्डुलिपी पठाएको महिनौं बितिसक्दा पनि सकारात्मक रेस्पोन्स कतैबाट आएको थिएन। सम्भव थियो, मैले पठाएको पाण्डुलिपी कसैले पढ्दै पढेन ! विचलित थिएँ। आफूलाई फक्रनुअघि मुर्झाएको कोपिलासँग तुलना गर्थें। भाग्यवादमा विश्वास थियो ममा ! अनि एकजना भारतीय साधु महाराजकोमा जन्मकुण्डली देखाउन गएँ। उनको आशिर्वचनले कम्ति उत्साहित बनाएन मलाई।

‘आपके अच्छे दिन जल्दी आनेवाला है। आप एक दिन महाकवि कालिदासके समकक्ष पहुँचोगे !’ शिरमा हात राखी साधु महाराजले भनेका के थिए, म स्पुतनिकमा सबार भई अन्तरिक्ष यात्रामा निस्केको पहिलो मानव युरिगागरिन भन्दा बढी उत्साहित भएँ। संयोग भनौं, साधु महाराजबाट आशिर्वाद पाएकै दिन काठमाडौंको एक प्रकाशन गृहले एक हजार डलर आर्थिक सहयोग गर्नुपर्ने सर्तमा उपन्यास छाप्ने वचन दियो। मैले बिनाहिच्किचाहट प्रकाशन गृहका नाममा हजार डलर पठाइदिएँ।

उपन्यास छपाइको चिन्ता टरेपछि मेरो ध्यान विमोचनतिर गयो। अधैर्यताका साथ उपन्यास विमोचन गर्ने दिनको पर्खाइमा लागें। अन्ततः त्यो दिन पनि आइपुग्यो। अनि अपार उत्साह र उमंगका साथ काठमाडौं पुगें। काठमाडौंमा पाइला टेकेको भोलिपल्टैदेखि सञ्चारकर्मीहरू भेला पारी भव्य पार्टी दिन सुरु गरें। आफ्नो प्रथम साहित्यिक सन्तानको सम्मृद्धिका खातिर जतिसुकै खर्च गर्न तयार थिएँ। उपन्यास विमोचन कार्यक्रम सम्पन्न भयो। विमोचनको रात होटल बुक गरी आवासीय सुविधा सहितको भव्य पार्टी दिएँ मैले। त्यसो गर्नुको मेरो एक मात्र उद्देश्य मूलधारका पत्रपत्रिका र टेलिभिजनहरूले उपन्यासको प्रचारप्रसारमा सहयोग पुर्‍याउन् भन्ने नै थियो। रात नसिलो बित्यो। कति त पिउँदापिउँदै निदाए। कतिले निद्राबाट ब्युँझेपछि पुनः गिलास समाए।  छोराछोरी र श्रीमती समेतलाई उपन्यास विमोचनको कोसेली लगे। हाँसीखुसी डेढ लाख बिल चुक्ता गरें। अनि म केही दिनसम्म रेडियो, टेलिभिजन र अखबारमा ध्यान केन्द्रित गर्न थालें। तर तिनमा न मेरो नाम आयो न उपन्यास विमोचनको चर्चा नै भयो ! महिना, दुई महिना हुँदै तीन महिना बित्यो, मेरो उपन्यासको चर्चा मिडियामा हुँदै भएन भने पनि हुन्छ। त्यतिबेलासम्म प्रकाशन गृहको मालिकलाई बुझाएको रकमसमेत जोड्दा झन्डै पाँच लाख खर्च भइसकेको थियो। तर हात लागी शून्य !

उपन्यासले आशातीत गति लिन सकेन। प्रकाशकलाई मेरो उपन्यास बिक्नु र नबिक्नुसँग खासै मतलव थिएन। उपन्यासको प्रचारप्रसारमा पनि कुनै पहल गरेन उसले। एक हजार डलर अग्रीम असुली गरिसकेकाले तनावमुक्त थियो ऊ। मचाहीँ हात्ती आयो हात्ती आयो फुस्सा भनेजस्तो स्थितिमा पुगेको थिएँ। उपन्यासमार्फत समृद्धि र सफलताको शिखर चुम्ने मेरो रहर कोरा कल्पनामा परिणत भएको आभास हुन्थ्यो। सोचें, पैसाको बलमा लेखक बन्न खोज्नु मेरो ठूलो भुल थियो। पछि थाहा पाएँ, मेरो जस्तै हविगत अष्ट्रेलियन पीआरधारी नेपालीले पनि भोगेको रहेछ। उसले पनि उपन्यास प्रकाशन र प्रचारप्रसारका लागि लाखौं रकम खर्च गरेको दुःखेसो सुनायो।

यस सन्दर्भमा मलाई दार्शनिक कार्लमाक्र्सको वाक्य सापट लिन मन लागेको छ। उनी भन्थे, ‘कुनै पनि कुराको निर्णायक तत्त्व आन्तरिक हुन्छ। बाह्य वातावरण वा परिस्थिति त्यसका लागि सहयोगी मात्र हुन्छन्।’ अन्ततः म निराशाग्रस्त हुँदै अमेरिका फर्कें। निराशा सघन थियो। तथापि मैले आफूलाई सम्झाएँ, ‘उठ्, जाग्। कर्तव्य पथमा अघि बढ्। अघि बढ्नेहरू नै लक्ष्यमा पुगे। अथक योद्धाहरूले इतिहास रचे। पढ् एकचोटी मुहम्मद गोरी र पृथ्वीराज चौहानको युद्धगाथा। सत्रौं पटकको हारको बावजुद विजयी बन्न सफल मुहम्मद गोरीमा उत्साह कति बुलन्द थियो।’

आश गयो त सास गयो। ममा मनभित्रको कमजोर आशालाई पुनर्जागृत गर्नुको विकल्प थिएन। मैले विश्रृंखलित आशालाई संगठित गर्दै लगें। बिस्तारै बिस्तारै ममा आशाको बहार आउन थाल्यो। उमंगको फूल फुल्न थाल्यो। कलमको वैशाखी टेक्दै आशाको पहाड उक्लिँदै गएँ। अब म दृढ भइसकेको छु। त्यसैले हरदम एउटै वाक्य दोहोर्‍याइरहेको छु, ‘चाहे आँधी आओस् या तुफान सुसाओस्, आशाको शिखर चढ्न छोड्ने छैन।’

ममा प्यारो लेखक बन्ने रहर झनै तीव्रतर हुँदै गइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.