अख्तियार स्वतन्त्र होस्

अख्तियार स्वतन्त्र होस्

देशमा जबसम्म अख्तियार दुरूपयोग अनुसन्धान आयोग छ भन्ने अनुभूति हुँदैन, तबसम्म भ्रष्टाचार कम हुँदैन


नेपालमा संवैधानिक नियुक्तिहरू निकै चर्चामा रहने गर्छन्। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका संवैधानिक नियुक्तिले पनि प्रशंसाभन्दा पनि बढी आलोचना खेपेका थिए। एक पक्षले संवैधानिक नियुक्ति असंवैधानिक ढंगले गरियो भन्दै खारेजीको मागसमेत राखेका थिए भने अर्को पक्षले आशाको किरणको रूपमा हरेका थिए।

संवैधानिक नियुक्तिहरूमा पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीको नियुक्ति सधैंजसो चर्चामा रहने गर्छ। हरेक दल प्रमुखका आआफ्नै काण्डले पनि होला अख्तियार प्रमुखमा आफ्नो पक्षको मान्छे राख्न हरेक दल हानाथाप गर्ने गरेका छन्। पछिल्लो समय ओलीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको रूपमा प्रेमकुमार राईलाई नियुक्ति गरेका छन्। उनको नियुक्ति विवादित बने पनि पछिल्लो समयको उनको काम गराई कुनै विवादमा मुछिएको छैन। त्यसैले पनि आमसर्वसाधारणले उनमा एउटा आशाको किरणको रूपमा हेरिरहेका छन्। उनी अहिले पनि आमनागरिकदेखि सरोकारवाला निकायका चासोका केन्द्र बनेका छन्।

अख्तियारका प्रमुख आयुक्तको नियुक्ति किन चर्चामा आयो ? त्यसका पछाडि विभिन्न कारण छन्। एक त नेकपाभित्र भागबन्डाको कुरा नमिल्दा नै किचलो सुरु भएको थियो। लामो समयदेखि रिक्त रहेका ंसंवैधानिक परिषद्का पदहरूमा आआफ्ना मानिस राख्ने होडबाजीले पनि नेकपालाई फुटसम्म पुर्‍याएको हुनसक्छ। नेकपामा दुई खेमामा विभाजन भइसकेपछि एक पक्षलाई तह लगाउन प्रधानमन्त्रीले अख्तियारमा राईलाई नियुक्त गरे भन्ने आरोप पनि उनलाई लगाइने गरेको छ। नियुक्ति पछि राईले दिएको अभिव्यक्तिले पनि उनलाई चर्चामा ल्याएको हो। उनले निर्दोषलाई सजाय भोग्न दिन्नँ र जो कोही पनि दोषी देखिएमा छोड्दिनँ भन्ने अभिव्यक्ति दिएका थिए।

आयोग कुनै पनि लाभ र राजनीतिक दबाबमा आउनु हुँदैन। अब अख्तियार नै अरूको दबाबमा पर्न थाल्यो भने देश भ्रष्टाचारमा लिप्त हुन पुग्छ। त्यसैले अख्तियार दुरूपयोग अनुसन्धान आयोग भन्ने नाम सुन्दा नै भ्रष्टाचारीको मुटु काम्न थाल्नु पर्छ।

प्रमुख आयुक्तको नियुक्ति बारेमा सत्ता पक्ष र प्रतिपक्षका फरक फरक विचार थिए र अहिले पनि छन्। तर, हामी आमनागरिकले बाहिरबाट हेर्दा राईको काम कर्तव्य माथि अहिलेसम्म कुनै शंका गर्ने ठाउँ भेटिएको छैन। उनले नियुक्ति भएदेखि अहिलेसम्म कुनै त्यस्तो विवादित काम गरेका छैनन् जसले उनलाई शंकाको नजरले हेर्नु परोस्। राईलाई राज्यले एउटा जिम्मेवारी सुम्पिएको छ। त्यो जिम्मेवारी उनले पूरा गर्नुपर्छ। देशमा भएका आर्थिक अनियमिततालाई खबरदारी गर्नुपर्छ। अहिलेसम्मको काम गराई हेर्दा उनले आफ्नो कर्तव्य पूरा गरिरहेका छन् जस्तो लाग्छ। राईसँग सरकारी सेवाको लामो अनुभव छ। काम गर्दा गर्दै खारिएका, लामो प्रशासन यन्त्रको अनुभव प्राप्त गरेका, औपचारिक अनौपचारिक अध्ययन अनुसन्धानमा पोख्त र मर्यादित व्यक्ति हुन् राई।

नेपालमा देखिएको राजनीतिक संकटका कारण उनीहरूले झट्टै ठुलै काम गर्ने वातावरण पाउन सकिरहेका छैनन्। काम कारबाही नै सुरु नहुँदै यसले काम गर्न सक्दैन, स्वार्थ पूर्तिका लागि नियुक्ति गरिएको हो भनेर शंका उब्जाउने हो भने अख्तियार मात्र नभएर कुनै पनि निकाय अछुतो रहन सक्दैन। सबैभन्दा पहिले काम गर्न दिनुपर्छ। त्यसपछि काम कारबाही गलत लाग्यो भने आवाज पनि उठाउनु पर्छ। राईका सन्दर्भमा कसैले आवाज उठाउनु पर्छजस्तो लाग्दैन। उनले अहिलेसम्म निष्ठापूर्वक काम गरिरहेका छन्। अघिल्ला दिनहरूमा पनि आफ्नो निष्ठालाई पूर्ण रूपमा कायम राख्नेमा म विश्वस्त छु।

एउटा कुरा के सत्य हो भने अख्तियार दुरूपयोगले अहिलेसम्म जनचाहना अनुरूप काम गर्न सकेको छैन। ठुला माछालाई समात्न नसक्ने र ससाना घटनाहरूमा बढी ध्यान दिँदा देशमा भ्रष्टचार मौलाएको कुरा पनि सत्य हो। यसअघि नियुक्त भएका केही प्रमुख आयुक्तहरू आफैं भ्रष्टाचारको मामलामा मुछिएका कारणले पनि मानिसले अख्तियारलाई विश्वास गर्न छोडेका छन्। तर, सबैलाई एउटै शंकाको नजरबाट हेर्नु पनि सही हुँदैन। अहिलेसम्मको नियुक्तिमा राई सबैभन्दा बढी आशा गरिएका पात्र हुन्। केही समयका लागि उनले गर्ने काम कारबाहीलाई हामीले नियाल्न सक्नुपर्छ। राईले भनिरहेका छन्, ‘भ्रष्टाचारका मुद्दामा निष्पक्ष रूपमा अनुसन्धान र छानबिन गरिन्छ। दुधको दुध र पानीको पानी छुट्याइन्छ। जो दोषी छ, ऊ कुनै पनि हालतमा उम्किन सक्दैन।’

सायद यस्तै गर्छन् पनि होला, एकपटक हामीले सकारात्मक दिशातर्फ सोच्नु पनि आवश्यक छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको स्थापना कालदेखि नै उसले गरेका कतिपय काम कारबाहीहरू अदालतले बदर गर्ने, कतिपय सदर गर्ने, कतिपय खण्डीकृत हुँदै आए। अख्तियारले गरेका सबै काम सही थिए भन्ने पनि छैन र सबै गलत थिए भन्ने पनि होइन। यसमा अख्तियारलाई प्रश्न उठाउन पनि सकिएला तर उसमाथि अविश्वास गरेर मात्र समस्याको समाधान हुन सक्दैन। अख्तियार कहाँ नेर गलत भयो, केमा त्रुटि भयो भन्ने विषय नियालेर त्यसमा काम गर्नु आवश्यक छ। आयोगले आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्न र गराउन अनुसन्धान प्रक्रिया र पद्धति परिवर्तन गर्नुपर्छ। अर्थात् अनुसन्धान प्रक्रियालाई परिमार्जन गर्नुपर्छ।

सधैं परम्परागत अनुसन्धान प्रक्रियाले मात्र नतिजा दिन सक्दैन, त्यसलाई युग सुहाउँदो बनाउनु आवश्यक हुन्छ। नयाँ कानुन निर्माण गर्ने र त्यसको कार्यान्वयनका लागि सरकारसँग पहल गर्ने। अनुसन्धानमा अत्याधुनिक उपकरणहरूको प्रयोग गर्ने। पद्धति र प्रक्रियामा संशोधन गरेर नयाँ अनुसन्धान पद्धति अवलम्बन गर्ने कार्य गर्नु निकै आवश्यक रहेको छ।  जसले अनुसन्धानमा लामो अनुभव संगालेका छन् उनीहरूसँग सल्लाह सुझाव लिने, छलफल गर्ने, अनुभव साटासाट गर्ने। नयाँ तौरतरिकाहरू अवलम्बन गर्ने र अनुसन्धानलाई विश्वसनीय र भरपर्दो बनाउने काम अहिलेको नेतृत्वले गर्छ जस्तो लाग्छ। र गर्नु पनि पर्छ। गर्नु पर्ने र नगरी नहुने पहिलो कुरा अनुसन्धान पद्धति परिमार्जन नै हो।

अब कोही पनि मानिस शंकाकै भरमा पीडित नहोस्। शंकाकै भरमा उसलाई मुद्दा नलागोस्। एक निर्दोष व्यक्तिलाई समाजमा अपराधी, भ्रष्टचारी, घुसखोरी भन्ने आरोप लाग्यो भने त्योभन्दा गलत काम अरू हुन सक्दैन। त्यसैले तथ्य र प्रमाणको आधारमा अनुसन्धान अगाडि बढाउनु पर्छ। कसैले उसलाई फसाउन पो खोजेको हो कि भन्ने विषयमा छड्के शैलीमा सोच्नु पनि आवश्यक हुन्छ। आउँदा दिनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुलुकमा भइरहेका चरम आर्थिक हिनामिना र भ्रष्टचार रोक्न सहयोग गरोस्। देशलाई भ्रष्टाचार मुक्त बनाउनलाई सहयोग गरोस्।

आयोगको स्थापना पनि मुलुकमा आर्थिक अनियमितता रोक्नका लागि गरिएको हो। यो यस्तो निकाय हो, जुन निकायले जिम्मेवार व्यक्ति, नेता, नेतृत्व र सरकारका प्रतिनिधिहरूलाई गैरकानुनी लाभ लिनबाट सचेत बनाउने काम गर्र्छ। आयोग कुनै पनि लाभ र राजनीतिक दबाबमा आउनु हुँदैन। अब अख्तियार नै अरूको दबाबमा पर्न थाल्यो भने देश भ्रष्टाचारमा लिप्त हुन पुग्छ। त्यसैले अख्तियार दुरूपयोग अनुसन्धान आयोग भन्ने नाम सुन्दा नै भ्रष्टाचारीको मुटु काम्न थाल्नु पर्छ। भन्नका लागि यो राज्यले प्रयोग गर्ने लठ्ठी हो। त्यो लठ्ठी देखेर सबै सतर्क हुन् र अनियमितता र गैरकानुनी आर्जनमा नलागुन्। भ्रष्टचार नगरुन्। त्यस्तो लठ्ठी कुठाउँमा लाग्नु हुँदैन। निर्दोषलाई त्यस्तो लठ्ठी सहनुपर्ने अवस्था नआओस्। दोषीले मुक्ति नपाओस्।

अहिलेका प्रमुख आयुक्तले मानिसहरूमा गुमेको अख्तियारप्रतिको विश्वासलाई पुनः कायम गर्नेछन् भन्ने विश्वास मलाई लागेको छ। उनको काम गराइमा त्यसको लक्षण पनि देखिएको छ। उनी निडर व्यक्ति हुन्। उनले आजसम्म धेरै अनुभव पनि संगालेका छन्। कहाँ कसले र कसरी भ्रष्टाचार गरिरहेको छ, उनलाई राम्रोसँग थाहा हुन्छ। त्यसैले निडरताका साथ राई अगाडि बढ्नुपर्छ। राई अगाडि बढे भने उनलाई आमनागरिकको पनि साथ मिल्ने देखिन्छ। अब अख्तियारले साना मात्र होइन, भ्रष्टाचारका ठुला केसहरू पनि समात्नुपर्छ। जबसम्म जालमा ठुला माछा पर्दैनन् त्यसको चर्चा कतै हुँदैन।

राईका लागि यो ठुलो अवसर हो। उनले आफ्नो अधिकार र अवसरलाई निष्ठापूर्वक निभाएर आफूलाई पुष्टि गर्नु पर्छ। त्यसको फाइदा उनलाई मात्र नभएर समग्र देशलाई नै हुनेछ। देशबाट भ्रष्टाचारका कसिंगरहरू बढार्ने काम राईले गर्नेछन् भन्नेमा पूर्ण आशावादी छु। उनले यो काम गर्न सके भने आयोगमाथि गुमेको सर्वसाधारणको विश्वास पुनः पलाउने छ। यसलाई सबैले विश्वास गर्न सक्ने संयन्त्रको रूपमा विकास गरियोस्। आउँदा दिनमा कसैप्रति दूराग्रह पूर्वाग्रह नराखी निष्पक्षरूपमा संविधानले सुम्पिएको जवाफदेहिता पूरा गर्न आयोग अगाडि बढोस्। देशमा जबसम्म आयोग छ भन्ने कुराको अनुभूति हुँदैन, तबसम्म भ्रष्टाचार कम हुँदैन। त्यसैले आयोगले मन वचन र कर्मका साथ काम गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.