खेतमा परिणत हुँदै बगर

खेतमा परिणत हुँदै बगर

स्याङ्जा : झन्डै २३ वर्षअघि खोलाले पुरेर बगर बनेको खेत अहिले खेतीयोग्य बनेको छ। पुतलीबजार नगरपालिका—१ मालेबगर नजिक लगनतुमस्थित बगरे जमिन अहिले खेतीयोग्य बनेको हो। जिल्लामा लकडाउनको समयको सदुपयोग गर्दे जग्गाधनीले खेत बनाउने अभियानमा जुटेका हुन्। 

सीमित व्यक्ति र पारिवारिक सदस्य मिलेर बगर पन्छाएका हुन्। सुरुका केही दिन डोजर र ट्याक्टर प्रयोग गरिए भने पछिल्ला दिनमा आफैंले सम्याउँदै आएको खेतधनी चेतनारायण श्रेष्ठले बताए।
‘हाम्रो दुई रोपनी जग्गा, १८ मुरी माटो हो।  धानसितै खोलाले पुरेको थियो। त्यतिबेला हामी यहाँ थिएनौं, चर्न बाहिर गएका थियौं। अहिले अलि निषेधाज्ञाले सबैलाई जुटायो, फुर्सद मिल्यो र दाजुभाइ मलेर खेत बनाउँदैछौं,’उनले भने ‘लामो निषेधाज्ञाको सदुपयोग गर्दैछौं। 

२०५५ साल भदौ १३ गते रातको समयमा आएको विनाशकारी बाढीले आँधीखोला किनारका धेरै खेत पुरेको थियो। ती खेतमा ठूल्ठूला ढुंगा, गिटी र बालुवाका थुप्रा थिए। केहीले बगरमा खेती गरेका छन् भने केही त अझै बगरै छन्। 

जिल्लामा तेस्रो पटक थपिएको निषेधाज्ञा जारी छ। ‘दिनमा घरबाट अनलाइन कक्षा लिएको छु। साँझ र बिहान शीतलको समयमा दाजुभाइ मिलेर खेतमा आउछौं। सकेका ढुंगा पन्छाउने गरेका छौं। शारीरिक व्यायाम पनि भएको छ। खेत पनि बनेको छ’ महेश श्रेष्ठ भन्छन्। 

श्रेष्ठ दाजुभाइसँगै उनका छिमेकी राजु र सनिता जीटी परिवार पनि बगरे खेत बनाएका छन्। भन्डै ८/९ परिवारले यसरी नै आँधीखोलाले पुरेको खेत बिराएका छन्। केही गह्रामा मकै, तरकारी र कोदो रोप्दै छन् भने कही कही भर्खर उम्रदैछन्।  तरकारी र अन्न लगाउन पनि सुरु गरेका छन्। वर्षौंदेखि बगर पल्टेको जग्गा मलिलो देखिएको छ। 
‘पहिला हामीले खेत रोप्थ्यौ यहाँ। खोलाले पुरेपछि बगरै बन्यो। भर्खर बनाएर खेत बनेपछि सिँचाइको व्यवस्था नभएकाले कोदो रोप्दैछु सनिता जीटीले भनिन्। पति र जेठाजुले खेतका ढुंगा उठाउँदै गरेका र दुई छोराले खेत खनेपछि उनले कोदो रोप्दै थिइन्। 

स्नातक तहमा पढ्दै गरेका सञ्जीत जीटी पढाइ नभएका बेला खेत बनाउन पाउँदा खुसी देखिए। लाखौं मूल्य बराबरको आफ्नो जग्गामा ढुंगा र बालुवाले पुरे बगर बनेको छ भन्ने सुन्दा नरमाइलो लाग्ने गरेको उनले बताए। 

उनले भने, ‘कलेजमा अहिले पढाइ छैन। घरमा कति बस्नु। शीतल बेला पारेर खेत बिराउन आएको हुँ। निषेधाज्ञा पालना गर्र्दै सदुपयोग गरेको छु।’ 
एकाघरका दाजुभाइ र अर्काघरका आमा, बाबा र छोराहरू मिलेर वर्षौंदेखि बगरे जमिन खेतीयोग्य बनाएका हुन्। सुरुका समय डोजर, ट्याक्टरको प्रयोग गरी ढुंगा, गिटी, बालुवा पन्छाएपछि आफूहरू मिलेर खेती योग्य जमिन बनाएका छन्। बढ्दो कोरोना संक्रमणलाई ध्यान दिँदै सीमित व्यक्ति अथवा आफ्नै परिवार मात्र मिलेर काम गर्ने गरेको उनीहरूको भनाइ छ। 
२०५५ भदौ १३ गते रातिको बाढीका कारण वहाकोटको काउले, पुतलीबजारको वीरेन्द्रनगर, लाम्पाटा बजारका दर्जनौं घर बगाउनुका साथै आँधीखोला र अरौंदीखोला वरपरका सयौं रोपनी जग्गाहरू बगर बनेका थिए। बाढीसँगै बगेर सयौं पशुचौपायालगायत ५५ जना मानिसको निधन भएको जानकारहरू बताउँछन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.