परिवारमा नैतिक शिक्षा

परिवारमा नैतिक शिक्षा

एलेक्स हेरीले भनेका छन्, ‘हजुरबुबाहरूले साना बच्चाहरूका लागि जुुन काम गर्न सक्छन्, त्यो काम अरू कसैले गर्न सक्दैनन्। हजुरबुबाआमाहरूले आफ्नो मायाले बालबच्चाको जीवनमा आशीर्वाद प्रदान गर्छन्।’ हेरीको यो उद्गारले ज्येष्ठ नागरिकहरू सन्ततिको शिक्षा–दीक्षा, माया ममता र सद्भावकै प्रेरणा स्रोत हुन् भन्ने कुरा पुष्टि गर्दछ।

छोराछोरीको भविष्य उज्वल बनाउनु नै आजका आमाबाबुको पहिलो सपना हो। यो प्राप्तिका लागि उनीहरूले धेरै कठिनभन्दा कठिन कामलाई पनि सहर्ष स्वीकार गरेका हुन्छन्। हाम्रो वर्तमान शिक्षाप्रणालीले कारिन्दाभन्दा ठालु र बाबु(साहेव उत्पादन गरिरहेको छ। हाम्रोजस्तो विकासोन्मुख देशमा डिग्री पास गरेको भोलिपल्टैदेखि उसले आफ्नै खुट्टामा उभिएर काम गर्नसक्ने हुनुपर्ने हो। प्राविधिक(व्यावहारिक ज्ञानवाला शिक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ। यसप्रकारको शिक्षामा सीप र दक्षतालाई नै बढी जोड दिइएको हुन्छ। हाम्रो शिक्षा सामाजिक संस्कार, त्यसको मर्म र भावनासँग मेल खाने हुनु नितान्त आवश्यक देख्दछु।

केही महिनाअघि राजधानीको एउटा विद्यालयमा अभिभावक शिक्षा तर्जुमा छलफल कार्यक्रमका प्रस्तोता माधव रेग्मीका अनुसार अभिभावकहरूले बालबालिकाले सैद्धान्तिक र व्यावहारिक दुवै शिक्षा सन्तुलित रूपमा पाउन, सामाजिक र सांस्कृतिक विषयसम्बन्धी ज्ञान प्राप्त गर्नका साथै विशेषगरी नैतिकवान र चरित्रवान बन्न सकुन् भन्ने धारणा राखेको पाइयो। स्कुलमा गरिने कार्यक्रममा पनि असल र इमान्दार होइन, ठूलो र प्रख्यात मानिस बन्न सिकाइन्छ। पारिवारिक, सामाजिक, सांस्कृतिक मूल्य–मान्यतासहितको नैतिक शिक्षा दिन आवश्यक ठानिएको छैन। व्यक्तिको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनका लागि तथाकथित ठूलो होइन। असल, कर्तव्यनिष्ठ र इमान्दार व्यक्ति हुनु आवश्यक छ भन्ने कुरामा ध्यान पुगेको छैन।

पहिलेको शिक्षामा व्यक्तिको नैतिक मूल्य–मान्यता, इमान्दारिता, सहिष्णुता र कर्तव्यजस्ता विषयलाई प्राथमिकतामा राखिन्थ्यो। यसर्थ पहिलेका बहुसंख्यक मानिस तेजिला, कर्तव्यपरायण, नैतिकवान र इमान्दार हुने गर्दथे। वर्तमान शिक्षा प्रणालीको परिवार, समाज र राष्ट्रप्रतिको कर्तव्यमा जोड्नेतर्पm ध्यान गएको देखिँदैन। नेपालको वर्तमान जनसंख्या वृद्धिको अनुपातलाई हेर्दा ज्येष्ठ नागरिकहरूको जनसंख्या वृद्धि दर उच्च छ। जसले गर्दा आश्रित र परित्यक्त ज्येष्ठ नागरिकहरूको संख्या पनि दिनप्रतिदिन बढिरहेको छ। संयुक्त परिवारहरूको विखण्डीकरण, सहरीकरण र बसाइसराइले गर्दा ज्येष्ठ नागरिकहरू प्रतिको हेरविचार र स्वास्थ्यस्थिति पनि जोखिमयुक्त बन्दै गएको छ।

युवापुस्ता र ज्येष्ठ नागरिकहरूको बिच कायम रहँदै आएको सन्निकट सम्बन्ध पनि टाढिँदै गएको छ। व्यस्त जीवनशैलीकै कारण युवापुस्ताले ज्येष्ठ नागरिकहरूको स्याहारसुसार र हेरचाह गर्ने समय पाउन छोडेका छन्। आजको युवापुस्ताको दृष्टिकोण, जीवनदर्शन, व्यवहार र संस्कारपद्धति पाश्चात्य सभ्यताको प्रभावले परिवर्तित र अधोगामी भइरहेको छ। यसैको कारण युवापुस्तामा आफूले अपनाइआएको मूल्यमान्यता र आधुनिक मूल्यमान्यताको बिचमा तनाव र द्वन्द्व सिर्जना गराउँदै छ। युवापुस्ता र ज्येष्ठ नागरिकबिचको सम्बन्धको दूरी पनि दिनप्रतिदिन बढिरहेको छ, परिणामस्वरूप युवापुस्ताले ज्येष्ठ नागरिकलाई बेवास्ता र हेलचेक्र्याइँ गरिरहेका छन्।

एकअर्का बिचको दूरी र सम्बन्धमा यसरी तनाव आउनुको मुख्य कारण दुवै पक्षले एकअर्कोको कुरा राम्ररी नबुझ्नु र समझदारीमा कमी हुनु नै हो। योभन्दा अझ बढी डरलाग्दो र खतरनाक अवस्था त युवापुस्ता शिक्षा र रोजगारीका लागि बुढा बुबाआमालाई गाउँमा छोडेर सहर तथा विदेश पलायन हुनुले निम्त्याएको छ। जसले गर्दा हाम्रा ज्येष्ठ नागरिकहरूमा एकांकीपना, आर्थिक र मानसिक असुरक्षाको समस्या समेत दिनप्रतिदिन बढिरहेको छ। त्यसकारणले पुस्तान्तरको खाल्डोलाई भर्न, समाजिक संघसंस्थाको भूमिका अपरिहार्य छ, जसले पुस्ताहरूको बिचको समाजिक र भावनात्मक दूरी घटाई मेलमिलापको सन्देश दिन सकोस्।

यो उद्देश्य तब मात्र पूरा हुन्छ जब हामी युवापुस्ताको मनमस्तिष्कमा ज्येष्ठ नागरिकप्रति अपनाउनुपर्ने आत्मीयता र मेलमिलापको वातावरण सिर्जना गर्न सक्छौं। बालबालिकालाई सुरुदेखि नै वृद्धावस्थामा आइलाग्न सक्ने अवश्यम्भावी समस्या र स्वास्थ्यसम्बन्धी विकृति उत्पन्न हुनसक्ने जटिलताका बारेमा जानकारी गराउनुपर्छ। जुन मूल्य–मान्यताहरूलाई बालबालिकाको मनमस्तिष्कमा समाहित गराइँदैन, ती मूल्य–मान्यताहरू अन्ततोगत्वा समाजबाट बिलाएर जान्छन्। वास्तवमा बालबालिकाहरूको पाठ्यसामग्रीमा ज्येष्ठ नागरिकहरूको स्याहार, सम्मान र आत्मीयता अभिवृद्धि गर्ने, विषयवस्तु समावेश गर्नेतर्फ समाज नै अग्रसर हुनुपर्छ।

पारिवारिक, सामाजिक, सांस्कृतिक मूल्य–मान्यतासहितको नैतिक शिक्षा दिन आवश्यक ठानिएको छैन। असल, कर्तव्यनिष्ठ र इमान्दार व्यक्ति हुनु आवश्यक छ भन्ने कुरामा ध्यान पुगेको छैन।

बालबालिकालाई वृद्धावस्थाको बारेमा सोच्ने, मनन गर्ने तथा ज्ञान दिलाउने उपयुक्त स्थान भनेको विद्यालय नै हो। त्यसैले बुढापाकाहरूको हेरचाह र स्याहार सुसार सम्बन्धित विषयवस्तु विद्यालयको पाठ्यक्रममा समावेश गरिए बालबालिकामा सकारात्मक प्रभाव पर्दछ। विद्यार्थीहरूलाई स्वाबलम्बी शिक्षाको अतिरिक्त वृद्धहरूलाई सम्मान र माया गर्ने शिक्षा प्रदान गर्नु उत्तिकै जरुरी छ। उनीहरूले फुर्सदको समयमा समाजमा एकांकी जीवन बिताइरहेका ज्येष्ठ नागरिकहरूलाई सहयोग र सम्मान प्रदान गर्नुको साथै असहाय गरिब र विरामी वृद्ध नागरिकहरूलाई अस्पताल पुर्‍याउने कार्य गर्न सक्दछन्। उनीहरूले समुदायमा रहेका वृद्ध नागरिकहरूको भलाइ र स्याहारका लागि क्लब, संघसंस्था पनि स्थापना गर्न सक्छन्। वास्तवमा विद्यालय तहमा मानवीय मूल्य र मान्यताहरूको विकास र अभिवृद्धि गर्न शिक्षाको सबैभन्दा ठूलो भूमिका हुन्छ।

स्वच्छ र उन्नतशील समाजको निर्माणमा स्वस्थ्यसंस्कार र अनुकूल शैक्षिक वातावरणले महत्त्वपूर्ण अर्थ राख्छ। तर यो तब मात्र सम्भव छ जब देशको शिक्षा प्रणालीमा नैतिक शिक्षाको विषयलाई प्राथमिकताका साथ समावेश गरिन्छ। यसको लागि आजको नयाँ पिँढीलाई हिजोका हाम्रा अग्रजहरूले निर्दिष्ट गरेका नैतिकता, सदाचार, अनुशासन र कर्तव्य परायणताजस्ता सद्गुणको महत्त्वबोध गराउने पाठ्यक्रमहरू तयार गरी प्राथमिक विद्यालय स्तरदेखि नै लागू गर्नु आवश्यक हुन्छ। जुन परिवार वा समाजमा मातापिता, गुरु र अग्रजहरूको यथोचित मानसम्मान र मर्यादा गर्ने परिपाटी हुँदैन। त्यो परिवार र समाजलाई सुसंस्कृत र पठित भन्न सुहाउँदैन।

कतिपय जेष्ठ नागरिक परिवारबाटै अपहेलित भएर वृद्धाश्रमहरूमा बस्न वाध्य छन्। हुन त वृद्धाश्रमहरूमा बस्ने वृद्धवृद्धाका लागि बस्न खानको ठिकै व्यवस्था गरिएको पनि होला तर परिवारमा छोराछोरी, नातिनातिनाको माझमा माया पाएर बस्नुको तुलना त्यो एकांकी जीवनसँग कसरी हुनसक्छ ? यदि नैतिक शिक्षा र सुसंस्कार आजका युवा पिँढीले विद्यार्थी जीवनदेखि नै बुझेका हुन्थे भने बुबाआमालाई वृद्धाश्रममा पुर्‍याउनुअघि धेरै कुरा सोच्न सक्थे। खेदपूर्वक भन्नुपर्छ, अति महत्त्वपूर्ण नैतिक शिक्षालाई पनि उपदेशात्मक वा धार्मिक शिक्षा ठानेर तिरस्कार गर्दै विद्यालयहरूका पाठ्यक्रमबाटै हटाएर राष्ट्रको नीतिनिर्माण तहको जिम्मेवारी लिएर बसेका तत्कालीन ठालुले गल्ती गरेका छन्।

निश्चय नै आजको आधुनिक शिक्षा प्रणाली विज्ञानमुखी भएकाले अर्थमुखी पनि हुँदै गएको छ। तर यसले आफ्नो घरपरिवारमा र समाजप्रतिको कर्तव्य र जिम्मेवारीलाई भने बोझको रूपमा लिएर स्वतन्त्रताको नाममा छाडापन मौलाउँदै गएको देखापर्छ। यस कुरामा समयमै सरोकारवालाहरूको ध्यान आकृृष्ट भएन भने परिवार र समाजको नैतिक धरातल नै ध्वस्त हुन सक्ने खतरा देखिएको छ। नैतिक शिक्षामा ह्रास आएकै कारणले देशमा पनि गुण्डागर्दी, तोडफोड, प्राकृतिक सम्पदाहरूको अवैज्ञानिक दोहन र संस्थागत भ्रष्टाचार फस्टाउँदै आएको छ। नैतिक शिक्षा कमजोर भएको अवस्थामा स्वच्छ परिवार, स्वच्छ समाज र स्वच्छ देशको परिकल्पना नै गर्न सकिँदैन किनभने हामीले परिवारमा सिकेकै कुरा समाज र देशमा प्रतिविम्बित हुने हो।

आम सचेतीकरण, सम्वाद र सहकार्यमार्फत अन्तरपुस्ता बिचको दुरी कम गरी ज्येष्ठ नागरिकलाई परिवारमा खुसीपूर्वक बस्ने वातावरण सृजना गर्नुपर्छ। जेष्ठ नागरिक भनेको सन्तानको निम्ति बोल्ने देवता र राष्ट्रका गहना हुन्। तिनको अनुभव, सीप र सल्लाह सुझावलाई घर परिवार र समाजको साथै राष्ट्रले पनि विशेष महत्त्वको साथ ग्रहण एवं अनुसरण गर्न सकेमा राष्ट्रनिर्माण कार्यमा ठूलो सहयोग पुग्न सक्छ। यसका लागि नैतिक शिक्षाको महत्त्वलाई देशव्यापी रूपमा फैलाउन कुन तहदेखि नैतिक शिक्षा राख्न आवश्यक हुन्छ। राष्ट्रका नीतिनिर्माण तहतप्काबाटै निर्णय गरी लागू गर्न आवश्यक देखिन्छ न कि झारो टार्ने प्रकारले काम गर्दा राष्ट्रले भविष्यमा ठूलो मूल्य चुकाउनु पर्ने अवस्था सृजना नहोस्।
- लेखक राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको महासचिव हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.