जनाधार भएर पनि कमजोर कांग्रेस

जनाधार भएर पनि कमजोर कांग्रेस

दुईचार महिना ढिलो छिटो संघीय संसद्को चुनाव हुन्छ नै। संसद् पुनस्थापना भएमा पनि छिटै नै चुनाव हुन्छ।


देश आज निकै अप्ठ्यारो परिस्थितिमा उभिएको छ। विभिन्न पार्टीहरू फुटको अवस्थामा छन्। मुलुकमा मनपरी तन्त्र चलिरहेको छ। नियम र कानुनको अपव्याख्या भइरहेका छन्। यस्तो राजनीतिक अवस्थामा पनि देशकै ठूलो, पुरानो र विश्व मञ्चमा विश्वास बनाएको दल नेपाली कांग्रेसको भूमिका निकै निराशाजनक देखिन्छ।

देशलाई नेतृत्व गरेर अगाडि बढ्नुपर्ने समयमा कांग्रेस चुप लागेर बस्यो। अहिले समय घर्किइसकेको छ। यस्तो अवस्थामा कांग्रेसले बिल्कुलै अस्वाभाविक र नसुहाउँदो गठबन्धन गरेर बसिरहेको देखिन्छ। नेपाली कांग्रेसबाट नेपाली जनताले प्रभावकारी, सशक्त र नेतृत्वदायी भूमिका खोजिरहेका छन्। तर, कांग्रेसको दिमागमा त्यो कुरा छिर्न सकेको छैन। नेपाली कांग्रेस यस्तो जनाधार भएको राजनीतिक दल हो जसको क्रियाशील सदस्यतामात्रै आज दस लाख पुगिसकेका छन्। तर, यो ठूलो जनसमूहलाई परिचालन गर्नु त परको कुरा यो शुभचिन्तक समूहको चाहनासमेत बुझ्न नखोज्ने कांग्रेस नेतृत्वको शैली चित्तबुझ्दो छैन। नेपाली कांग्रेस आफैंमा ठूलो गौरवपूर्ण इतिहास बोकेको राजनीतिक दल हो।

विश्व मञ्चमा चिरपरिचित र विश्वका राजनीतिक शक्तिहरूले विश्वास गरेको एउटा सशक्त लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस विश्व मञ्चमा सबैभन्दा प्रभावकारी नेपाली राजनीतिक शक्ति हो। इतिहासमा कहिल्यै नदबेको र नझुकेको कसैसँग मोलमोलाइ गरेर सम्झौता नगरेको कांग्रेस त्यही इतिहासका कारण अन्तर्राष्ट्रिय राजनीतिक शक्तिमाझ विश्वासिलो बनेको हो। पञ्चायती व्यवस्थामा राजाले सम्झौता गरेर मुलुक चलाउने प्रस्ताव गर्दा राजासँग लोकतन्त्र र जननिर्वाचित सरकार, संसदीय प्रणालीको अडान राख्ने शक्ति नेपाली कांग्रेस नै हो। संसदीय प्रजातन्त्र निःशर्त राजाले स्वीकार गर्नुपर्छ भनेर पञ्चायत व्यवस्थाविरुद्ध लड्दै आएको तथा २००४ सालदेखि आजसम्मका सबै राजनीतिक घटनामा मुलुकवासी जनतालाई नेतृत्व दिँदै आएको, लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस आज किन दिशाविहीन देखिन लागेको छ। आज कांग्रेसको यस्तो हविगत किन भयो ? यसका पछाडि के कारण होला ? यी र यस्तै यावत प्रश्नको उत्तर खोज्नुपर्ने समय आएको छ।

नेकपा माओवादी अहिले निकै कमजोर छ। नेकपा एमाले पनि फुटको संघारमा पुगेका कारण चुनाव जित्ने सम्भावना छैन। मधेसी दलका नेताहरूले पनि एकले अर्कोलाई कारबाही गरेर पार्टी फुटाउन तमतयार छन्। अन्य पार्टीहरू कमजोर हुँदै गएका छन्।

अहिले नेपाली कांग्रेससामु न कहाँ पुग्ने भन्ने लक्ष्य छ न त कुनै योजना नै। स्थापनाको सात दशक बित्दासम्म आफ्नो निश्चित कार्यदिशा, उद्देश्य, लक्ष्य लिएर अगाडि बढिरहेको कांग्रेस आज किन अचानक दिशाविहीन बन्न पुग्यो ? नेपाली कांग्रेस जनताको म्यान्डेटविपरीत अगाडि सर्ने राजनीतिक शक्ति होइन। तर किन अहिले नेपाली कांग्रेसका नेता नेपाली जनताको म्याण्डेटविपरीत सत्ताका लागि असफल प्रयत्न गर्दैछन् ? कांग्रेस आज जुन गठबन्धनमा छ त्यो उसको लागि सुहाउँदो गठबन्धन हो ? अवश्य पनि होइन। अहिलेका नेपाली कांग्रेसका नेताले पार्टीलाई सुहाउने काम गरिरहेका छैनन्। कांग्रेस अहिले जुन गठबन्धनमा छ र जे गरिरहेको छ त्यो उसका मतदातालाई चित्त बुझिरहेको छैन। जुन समयमा कांग्रेसले गठबन्धन गरेर सरकारको नेतृत्वका लागि अघि सर्नुपर्ने थियो त्यो समयमा चासो नदेखाएको पनि जनतालाई चित्त बुझिरहेको छैन।

नेपाली कांग्रेस किन आज गठबन्धनमा छ ? के नपाली कांग्रेसलाई आजको दिनमा गठबन्धनको खाँचो थियो। त्योभन्दा पनि महŒवपूर्ण कुरा त के कांग्रेस आज जुन गठबन्धनमा छ त्यो उसका लागि सुहाउँदो गठबन्धन हो ? संसद्मा एक सांसद सदस्यमात्रै भएको राजनीतिक दल र सत्तासीन नेकपा एमालेको विद्रोही गुटका नेता र तत्कालीन नेकपाबाट अलग्गिएको माओवादी केन्द्रजस्ता दल र समूहसँग नेपाली कांग्रेसले गठबन्धन गर्नु अनि समान भोटिङ राइटको गठबन्धन सदस्य बन्नु दुर्भाग्यपूर्ण हो। के नेपाली कांग्रेसको हैसियत एमालेको विद्रोही समूहको बराबरी हो ? जुन समूहका नेताहरूले आफ्नो मूल पार्टी एमाले त्याग्ने हिम्मत गरिरहेका छैनन् तिनै नेताहरूलाई समान हैसियत कांग्रेसले किन दिइरहेको छ ? दिनभर भौंतारिएका यी नेताहरू बेलुका आफ्नै घर फर्किए भने त्यो बेला कांग्रेसले के गर्छ ?

कांग्रेसका वर्तमान नेताले यी आठदस लाख क्रियाशील सदस्य, कार्यकर्ता, शुभचिन्तक, पेशागत व्यावसायी बुद्धिजीवीहरू, भातृ तथा भगिनी संगठनहरू यी सबका प्रति आज विश्वासघात गरेको भान भएको छ। नेताको गतिविधिले यी सबै शुभचिन्तकको मन दुखाएको छ र नैराश्यता सृजना गरेको छ। कांग्रेससँग सम्वद्ध कार्यकर्ता, जनताको बुझाइ र भनाइ अझै पनि एउटै छ– नेपाली कांग्रेस आफैंमा सक्षम छ, जनआधार भएको राजनीतिक शक्ति हो। लोकतान्त्रिक शक्ति हो। विश्वले पत्याएको एकमात्रै लोकतान्त्रिक दल हो। यस्तो दलले आफ्नो नीति, सिद्धान्त र कार्यक्रमको आधारमा अगाडि बढ्नुपर्छ। आफ्नो बाटो हिँड्नुपर्छ, जनसमक्ष जानुपर्छ।

कसैसँग गठबन्धन गर्न आवश्यक छैन। राजनीतिमा अगाडि एक दुई दशक सत्ता बाहिर वा सत्तामा बसे पनि राजनीतिक रूपले मुलुकको नेतृत्व लोकतान्त्रिक विचारले नै गर्छ। नेपाली कांग्रेसले नै गर्छ। अहिलेको राजनीतिक परिदृष्यले पनि त्यही देखाएको छ। त्यसो हुँदा कांग्रेसले भारत र चीनसँगको मित्रवत् सम्बन्धलाई समय र परिस्थितिअनुसार असल बनाउँदै लैजानुपर्छ। जब दुई देशको सम्बन्धलाई मजबुद बनाउन सकिन्छ, त्यसले शक्ति सन्तुलन गर्छ। यसैगरी दाता राष्ट्र, शक्ति राष्ट्र र संसारका सबै मित्रराष्ट्रसँगको सम्बन्ध सुमधुर बनाउने हो भने त्यसले कांग्रेसलाई निकै फाइदा पुर्‍याउँछ।  त्यसपछि लोकतान्त्रिक संसदीय प्रणालीलाई सुदृढ बनाउन, संविधानसभाले जारी गरेको नेपालीको संविधान २०७२ को सवल कार्यान्वयनका लागि आउने संसदीय निर्वाचनमा कसैसँग गठबन्धन र सिट तालमेल नगरी नेपाली कांग्रेस एक्लै अगाडि बढ्न र जनसमक्ष जानुपर्छ।

त्यसका लागि लोकतान्त्रिक विधिद्वारा वडादेखि केन्द्रसम्मका सबै महाधिवेशन सम्पन्न गर्ने तथा पार्टी र नेतृत्वले नयाँ नेतृत्व तथा उर्जा लिएर आगामी संघीय संसद्को निर्वाचनमा आफूलाई प्रचण्ड बहुमतका साथ निर्वाचित भएर देश हाँक्ने अठोट र आँटका साथ अगाडि बढ्नुपर्छ। दुईचार महिना ढिलो छिटो संघीय संसद्को चुनाव हुन्छ नै। संसद् पुनस्थापना भएमा पनि छिटै नै चुनाव हुन्छ। त्यसमा शंका गर्नुपर्ने ठाउँ छैन। अब नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अहिले आएर ससाना बामपन्थीहरूसँग गठबन्धनमा बाँधिने गठबन्धन कै आधारमा चुनावमा जाने सिट तालमेल गर्ने काम कदापि गर्नु हुँदैन। कांग्रेसलाई गठबन्धनमा बाँधिएको कांग्रेसको हित चाहनेहरूले देख्न चाहेका पनि छैनन्। यसरी गठबन्धनमा बाँधिएर चुनावमा जाँदा कांग्रेसलाई ठूलो घाटा हुने निश्चित नै छ।

अब यसरी चनावमा गएमा जुन क्षेत्रमा कांग्रेसको पकड छ, त्यस्तो क्षेत्रहरू बामपन्थीहरूले आफू लिन खोज्ने र नेपाली कांग्रेसलाई साइजमा ल्याउने गर्छन्। अब पनि प्रचण्डसँग सिट तालमेल गर्ने वा नेकपा एमाले बाट फुटेर गएका माधम नेपाल समूहसँग तालमेल गर्ने हो भने तालमेलको चक्करमा कांग्रेसले कुन ठाउँबाट, कुन क्षेत्रबाट चुनाव लड्ने अनि कति सिटका लागि लड्ने ? त्यसैले कांग्रेसले आफ्ना खुट्टामा आफैं बन्चरो हान्नु हुँदैन। तालमेलमा गएमा जनताले त होइन तर कांग्रेस आफैंले आफूलाई नै आकारमा झार्ने छ। त्यस्तो काम कांग्रेसको नेतृत्वले गर्नु हुँदैन। कांग्रेसले जित्ने चितवनको चुनावी क्षेत्र प्रचण्डको छोरीलाई छोड्नुपर्ने, कांग्रसले जित्ने गोर्खाको क्षेत्र बाबुरामलाई सहयोग गरीदिनुपर्ने, कांग्रेसले जित्ने सप्तरीको क्षेत्र उपेन्द्र यादवलाई दिनुपर्ने यसरी जिताउने सिट तालमेल गर्ने काम गर्दा कांग्रेसको सिट संख्या उल्टै झर्ने छ।

कांग्रेसले अब पनि गठबन्धन गराउने चुनावी तालमेल गर्ने काम गर्‍यो भने बहुमतको सरकार बनाउने हैसियत राख्दैन। कांग्रेस आफंैमा सक्षम पार्टी हो। १० लाखभन्दा बढी क्रियासिल सदस्य भएको पार्टी कांग्रेसको ०४६ सालयता कुनै पनि निर्वाचनमा भोट घटेको छैन। झरेको भोटमा कांग्रेसको भोट अझ बढी नै आएको छ। बामपन्थीहरू मिलेर उनीहरूको उमेद्वारले चुनाव जित्यो होला तर कांग्रेसको भोट घटेको छैन। परिणाममा कांग्रेस हारे पनि मतदाता बढेकै छा्। त्यो गणितलाई कांग्रेसको नेतृत्वले बुझ्नुपर्छ।

नेकपा माओवादी अहिले निकै कमजोर छ। नेकपा एमाले पनि फुटको संघारमा पुगेका कारण चुनाव जित्ने सम्भावना छैन। मधेसी दलका नेताहरूले पनि एकले अर्कोलाई कारबाही गरेर पार्टी फुटाउन तमतयार छन्। यसको अर्थ एक त नेपाली कांग्रेस आफैं बलियो पार्टी। त्यसमा झनै अन्य पार्टीहरू कमजोर हुँदै गएका छन्। यस्तो अवस्थामा पनि कांग्रेसले तालमेल गर्छौं भनेर अन्य कमजोर पार्टीलाई उकास्न खोज्छ भने आफैं हिलोमा फस्ने निश्चित छ। त्यसैले कांग्रेसले यो गणितलाई बुझ्नुपर्छ। चुनावमा एक्लै भिड्नुपर्छ र नेपालको बलियो प्रजातान्त्रिक पार्टीको हैसियतले जनमत लिएर नेपालको नेतृत्व गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.