मन घोच्छ, शरणार्थी नभनियोस्
मनमा घोचिरहन्छ शरणार्थी भनिदिँदा, अब नभनियोस्। मान्छे ठाउँ फेर्छ, नाम फेर्छ, जात फेर्छ, धर्म फेर्छ– यो उसको अधिकार हो। जंगबहादुर राणा निरंकुश शासक थिए होलान्। उनका सन्तानलाई त्यही विशेषणले बोलाउन सकिन्न, हुँदैन। सुहार्तो अर्का निरंकुश थिए होलान्। अब उनका नातिलाई त्यसै भन्न पाइन्छ र ? नेपालीले अमेरिका आएर यतैको नागरिकता लियो भने ऊ राष्ट्रिय–मूलमा नेपाली होला तर राष्ट्रियता अमेरिकी हुन्छ।मान्छे चलायमान छ। सर्ने मात्र होइन, मान्छे। परिवर्तनशील छ। हो, हिजोका दिनमा नेपालमा शरणार्थी जीवन बिताएको मानिस सधैंका लागि शरणार्थी हुँदैन।
सन्दर्भ, कोरोना महामारी, नेपालको अवस्था, अमेरिकाबाट पुगेको सहयोगको। नेपाल जान नपाएर यतैबाट सहयोग गरिरहेका गायक रामकृष्ण ढकालले गरेको राहत संकलनबारे छापिएको समाचारले केही नेपाली–भाषी भुटानी साथीहरूको मन दुख्यो। समाचार प्रयोग भएको शरणार्थी भन्ने शब्दप्रति उनीहरूको दुःखेसो हो। भयो के भने लकडाउनका कारण नेपाल फर्कन नपाएका उनले अमेरिकामै सहयोग संकलन अभियानको थालनी गर्दै पहिलो चरणमा १५ हजार २ सय ८८ अमेरिकी डलर नेपाल पठाए। उनको सक्रियतामा सञ्चालित सहयोग अभियानमा त्यहाँ रहेका नेपाली र नेपाली–भाषी भुटानीले सहयोग गरेको समाचार सम्प्रेषण हुँदा ‘नेपाली–भाषी भुटानी’ लेखिनुको सट्टा ‘भुटानी शरणार्थी’ लेखिएको थियो। नेपालबाट
पुनर्स्थापना भएर अमेरिकालगायत आधा दर्जन बढी मुलुकमा पुगेका करिब १ लाख १५ हजार नेपाली–भाषी भुटानी अब शरणार्थी होइन। म पनि त्यस वर्गमा पर्दिनँ। अरू पनि पर्दैनन्।
अमेरिकामा एउटा चलन छ, एसियाबाट आएको मानिसलाई एसियाली अमेरिकी (एसियन अमेरिकन), अफ्रिकाबाट आएको मानिसलाई अफ्रिकी अमेरिकी, नेपालबाट आएकोलाई नेपाली अमेरिकी आदि भनिन्छ। यहाँ कुन हैसियत बोकेर को आयो खोजिँदैन।
अहिलेको दुःखेसो पोख्नेमा कमल धिमाल पनि हुन्। यसै विषयलाई लिएर मध्यस्थकर्ताको काम गरिदिनुपर्ने भयो। गायक ढकाल धिमालका मनपर्ने कलाकार हुन्। तर उहाँको नाम जोडिएको समाचारमा शरणार्थी शब्द प्रयोग भएको पाइएपछि धिमाल निराश भए। आजकल समाचार सामाजिक सञ्जालमा साँच्चै जाल बनेर आउँछन्। थाहा नपाउँदै घाँटीमा बेरिन्छन् र अँठ्याउँछन्। यही भयो, गायक ढकाललाई। दुईजनालाईराखेर बीचमा बसें। मध्यस्थता गराउने प्रयासमा जुटे। यो मध्यस्थका क्रममा ढकालले शरणार्थी शब्द आफूले नभनेको बताए। वार्तालापमा पटकपटक उनले त्यसो भन्नै सक्दिनँ, भनेकै होइन भनेर जिकिर गरे। ‘भुटानीमाझ धेरै कार्यक्रम गरेको छु, उहाँहरू नेपाली–भाषा र संस्कृतिप्रति धेरै माया गर्नुहुन्छ, जगेर्ना गर्नुहुन्छ’ढकाले भने। उनको बुझाइ भनाइ दुवै सही पनि छ।
ढकालमा मात्र यो सन्दर्भ जोडेर नहेरौं। अरू कलाकारले पनि शरणार्थी शब्द प्रयोग गरेका उदाहरणधिमाललगायत धेरै नेपाली–भाषी भुटानीले ख्याल गरेका छन्। उनीहरूको जिकिर अब शरणार्थीको बिल्ला नभिराइयोस् भन्ने हो। समाचार लेख्नेले पनि नेपाली माटोमा टेकेर सोच्नु भएन, परदेशिएपछिको पीडा महसुस गर्नुपर्छ। अब नेपाली मूलको अमेरिकी होला, बर्मेली नेपाली होला, नेपाली–भाषी भुटानी होला, नेपाली–भाषी भारतीय होला आदि।
अमेरिकामा एउटा चलन छ, एसियाबाट आएको मानिसलाई एसियाली अमेरिकी (एसियन अमेरिकन), अफ्रिकाबाट आएको मानिसलाई अफ्रिकी अमेरिकी, क्यानडाबाट आएकालाई क्यानडियन अमेरिकन, नेपालबाट आएकोलाई नेपाली अमेरिकी आदि भनिन्छ। यहाँ कुन हैसियत बोकेर को आयो खोजिँदैन। खोजिन्छ त, ऊ कुन मूलको हो। हामी पनि यस्तै सम्मानजनक शब्द प्रयोग गर्न सिकौं। संसारभर रहेका नेपालीको भाइचारालाई जीवित राखौं।
-लेखक अमेरिकामा पुनर्स्थापित नेपाली–भाषी भुटानीहुन्।
प्रतिक्रिया दिनुहोस !