दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ

दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ

भक्तपुर : महिला पत्रकारसहित दर्जनौं महिलालाई चिमोट्ने, धाप मार्ने, संवेदनशील अंगमा समाउने, जिस्काउने र हैरानी दिने एक युवालाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरले रामेछापको सुनापती गाउँपालिका ५ रुपाकोट स्थायी घर भई हाल भक्तपुर नपा १० कमलविनायक बस्ने ३६ वर्षीय चमारसिं तामाङलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएका तामाङले गएको ७ महिनादेखि भक्तपुर नगरपालिका क्षेत्रअन्तर्गत कमलविनायक, आदर्श चोकलगायतका सार्वजनिक स्थानको भित्री सडक खण्डको एकान्त स्थानमा हिँडडुल गरिरहेका महिलाहरुलाई चिमोट्ने, धाप मार्ने, संवेदनशील अंगमा समाउने, जिस्काउने र हैरानी दिने गर्दै आएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

जसअनुसार २ हप्ताअघि तामाङले नै भक्तपुरको एउटा एफएममा काम गर्ने महिला पत्रकारलाई भक्तपुर नपा ५ आदर्श बसस्टप क्षेत्रमा दुव्र्यवहार गरेका थिए। महिला पत्रकारलाई दुव्र्यवहार गरेपछि नेपाल पत्रकार महासंघ भक्तपुर र यहाँका पत्रकारहरुले ती व्यक्तिलाई नियन्त्रणमा दिन दबाब दिएका थिए।
सोही दबाबअनुसार सक्रियतापूर्वक लागिपरेको भक्तपुर प्रहरी ती व्यक्तिलाई नियन्त्रणमा लिन सफल भएको हो।

नियन्त्रणमा लिएका तामाङले महिलालाई एकान्त ठाउँमा आफ्नो यौनाङ्ग देखाउनेलगायतका अश्लील र उच्छृंखल कार्य गरेको भनी पीडित महिलाहरुले गएको वैशाखदेखि नै महानगरीय प्रहरी वृत्त जगातीमा निवेदन दिएका थिए।

भक्तपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गिरीका अनुसार पीडित महिलाहरुले वैशाख ११, १२, र १५, जेठ १० र असार १ तथा १० गते तामाङको हुलियासहितको निवेदन दिएका थिए। सोही हुलियाको आधारमा तामाङको खोजतलास गर्दा पनि प्रहरी सफल हुन सकेको थिएन। सम्भावित क्षेत्रमा महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी अधिकृतसहितको टोलीको करिब ७ महिनाको प्रयासपछि असार १५ गते तामाङलाई भक्तपुर नपा १० कमलविनायकस्थित भत्केको पाटीबाट नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

‘पीडित महिलाहरुले समेत आफूहरुलाई हैरानी गर्ने व्यक्ति तामाङ नै भएको सनाखत गरिदिएका छन्’, उनले भने, ‘यसैको आधारमा तामाङमाथि अभद्र व्यवहार र सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा मुद्दा दर्ता गरिएको छ।’

प्रहरी नायब उपरीक्षक गिरीले तामाङलाई नियन्त्रणमा लिइसकेपछि अन्य पीडित महिलाहरुबाट समेत जाहेरी दर्खास्त आउने क्रम जारी रहेको जानकारी दिए। उनले तामाङबाट पीडित हुने महिलाहरुको संख्या अझै बढ्न सक्ने भएकाले थप अनुसन्धान भइरहेको सुनाए।

  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.