एकैपटक ३६ जना महिलामा कोरोना संक्रमण देखिएपछि माया घर शिल
![एकैपटक ३६ जना महिलामा कोरोना संक्रमण देखिएपछि माया घर शिल](https://annapurnapost.prixacdn.net/media/albums/mayaghar-corona_20210711050650_nusVW5KDrp.jpg)
इटहरी : निःसहाय महिलाको आश्रयस्थल इटहरीस्थित माया घरका ३६ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनअघि ५० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा ३६ जनालाई कोरोना पुष्टि भएको हो । माया घरमा अहिले ८७ जना महिला आश्रय लिइरहेका छन् ।
झण्डै आधा महिलामा कोरोना पोजिटिभ देखिएपछि सबैलाई छुट्टाछुट्टै राखिएको माया घरकी सचिव सुभद्रा प्याकुरेलले जानकारी दिइन् । सिमित चर्पी, धारा भएका कारण भने केही समस्या भएको उनले बताइन् ।
पूर्वका विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएका निःसहाय, बिरामी तथा अपांगता भएका महिलाले आश्रय लिइरहेको माया घरमा रुघा, खोकी र सामान्य ज्वरो फैलिएपछि परीक्षण गरिएको थियो ।
इटहरी अस्पतालका इमर्जेन्सी विभाग प्रमुख तथा कोभिड १९ होम आइसोलेन सर्पोट टिम संयोजक रामकुमार धमलाकाअनुसार ३६ जनामध्ये २८ जनामा सुख्खा खोकी, ज्वरो, वान्ता हुने, खान मन नलाग्ने जस्ता लक्षणहरु देखिएका छन्।
अहिले मायाघरलाई शिल गरिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । ‘ठूलो संख्यामा पोजिटिभ भएपछि मायाघरलाई नै आइसोलेसन बनाउने अवस्था आएको छ,’ उनले भनिन्, ‘माया घरमा थप महिलालाई राख्न र आवतजावतमा बन्द गरिएको छ ।’ उनले बिरामीको उपचारको लागि स्वास्थ्य सामाग्री प्रदान गरिएको जानकारी दिइन् ।
निषेधाज्ञा खुकुलो भएसँगै मायाघरमा विभिन्न व्यक्ति तथा समूहले भेला भएर आफ्नो जन्मदिन, एनिभर्सरी मनाउन सुरु गरेका थिए । आगन्तुकको निर्वाध प्रवेशको कारण कोरोना संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)