बारपाकका तीन जनामा डेल्टा भेरियन्ट पुष्टि
गोरखा : गोरखाको बारपाकका तीनजनामा कोरोनाको नयाँ स्वरुप डेल्टा भेरिएण्ट पुष्टि भएको छ। गत जेठ १४ गते पीसीआर परीक्षण गरिएकामध्ये तीन जनामा ‘डेल्टा भेरियन्ट’ पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख सिनियर अहेब मोदराज भट्टका अनुसार डेल्टा भेरियन्ट पुष्टि भएका भनिएका तीनजना महिलाको अवस्था अहिले सामान्य छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट परीक्षणका लागि गत जेठ ३१ गते काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएका पाँच वटा नमुनामध्ये तीनजनामा डेल्टा भेरियन्ट पुष्टि भएको हो।
‘त्यतिबेला केही लक्षण पनि थियो। परीक्षण गर्दा रिपोर्ट पोजेटिभ पनि आएको थियो’, भट्टले भने, ‘उनीहरु होम आइशोलेसनमा बसेका थिए। तर अहिले केही लक्षण छैन। उनीहरु सबै काममा फर्किसकेका छन्।’ बारपाक गाउँमा नै कोरोना व्यापक भएपछि प्रदेश, जिल्ला र गाउँपालिकाको टोली पुगेर चेकजाँच सहित उपचार गरेको थियो।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयको प्रदेश स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार स्याङजाको कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका दुईजना पुरुषमा पनि डेल्टा भेरियन्ट देखिएको छ। यो भाइरस यसअघिको अल्फा भेरियन्ट भन्दा बढी संक्रमित हुने भएकोले सचेतना अपनाउन आग्रह गरिएको शर्माले बताए।
शर्माका अनुसार पोखराबाट काठमाडौं र काठमाडौंबाट पनि त्यो नमूना परीक्षणका लागि अन्तर्राष्ट्रिय स्तरका प्रयोगशालामा पठाइएको थियो। ‘जिल्लाका समुदायमा संक्रमणको अवस्था बढ्दो भएको र त्यसको कारण नयाँ भेरियन्ट हुन सक्ने आंकलन गर्न नमुना परीक्षण गरेका थियौँ’ उनले भने। अन्तर्राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्नुपर्दा रिपोर्ट आउन समय लागेको हो।
यसैबीच गोरखामा आइतबार १० जना कोरोना संक्रमित थपिएका छन्। एकजना महिला र नौ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
गण्डकी प्रदेशमा आइतबार एकैदिन चार सय १० जनालाई कोरोना संक्रमित थपिएका छन्। सात जनाको मृत्यू भएको प्रदेश स्वास्थ्य आपत्कालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले बताए।
सबैभन्दा धेरै कास्कीमा दुई सय १४ जना र बाग्लुङमा एक सय १९ जनामा संक्रमण पुष्टि भएको छ।
प्रतिक्रिया दिनुहोस !