घटनाको दुई वर्ष भइसक्यो, अझै पत्ता लागेनन् हत्यारा

घटनाको दुई वर्ष भइसक्यो, अझै पत्ता लागेनन् हत्यारा

राजविराज: सप्तरीको खडक नगरपालिकास्थित वृद्ध दम्पतीलाई घरभित्रै जलाएर भएको हत्या घटनाको दुई वर्ष भन्दा बढी भइसक्दा पनि घटना अझै रहस्यमै छ ।

सप्तरीको खडक नगरपालिका–५ खरचुहिया बजारमै घरमा सुतिरहेका ७५ वर्षीय सबुरी साह र उनकी ६५ वर्षीया पत्नी बेचनी देवी साहको ०७५ फागुन १४ गते जलाएर हत्या भएको थियो ।

मृत शरीर पूर्ण रुपमा जलिसकेकाले ईलाका प्रहरी कार्यालय कल्याणपुर, कडरबोना र जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी टोलीले घटनाको प्रारम्भिक चरणमा अनुसन्धान सुरु गरेका थिए । घरभित्र र आँगनभरी ठाउँठाउँमा देखिएको रगतले वृद्ध दम्पतीको हत्या नै भएको विषय प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पुष्टि गरेको थियो ।

ब्याजमा ऋण रकम लगाउँदै आएका साह दम्पतीलाई डकैती गर्ने नियतले आएका लुटेराहरुले हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान थियो । हत्यारालाई कानूनी दायरामा ल्याउनका लागि प्रदेश प्रहरी कार्यालयका विशेष अनुसन्धान टोली र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फोरेनसिक टिमले अनुसन्धान थाले ।

हत्यारालाई अति छिटो पत्ता लगाउन तालिम प्राप्त कुकुरको सहायताले पनि सुक्ष्म अनुसन्धान गरियो । शरीर पूर्ण रुपमा जलिसकेकोले वृद्ध दम्पतीको डिएनए परीक्षण गर्न पनि पठाइयो । सोही क्रममा अनुसन्धान ब्युरो टोलीबाट ५ र सप्तरी प्रहरीबाट ५ र थप २० सुरक्षाकर्मीको विशेष टोलीले केही सातासम्म घटनास्थलमै बसेर अनुसन्धान गरिरह्‍यो ।

शंकास्पद व्यक्तिलाई सोधपुछ, कतिपय स्थानमा खानतलासी, कल डिटेल चेक लगायत अनुसन्धानका धेरै पाटोमा प्रहरीले कार्य गरे । तर, हत्या भएको दुई वर्ष भन्दा बढी बितिसक्दा प्रहरीले हत्यारा पत्ता लागाउन सकेको छैन ।

दुई वर्षसम्म पनि पीडित परिवारले न्याय नपाउनु ज्यादै दुःखद रहेको भन्दै नागरिक अगुवाहरुले प्रहरीमाथि प्रश्न उठाउन थालेको छ । ‘पीडित परिवारले वर्षौँसम्म न्याय नपाएका घटनाहरु धेरै छन् र यो ज्यादै दुःखद हो’ नागरीक अगुवा सुखराम यादवले भने–‘समाजमा शान्ति सुरक्षा कायम राख्नमा प्रहरीले तत्परता देखाउनुपर्ने थियो, तर यसरी वर्षौँसम्म पीडित परिवारले न्याय नपाएको सुन्दा मन दुखेको छ ।’

केही वर्षयता प्रहरी असफल देखिएको भन्दै मानव अधिकारकर्मीहरुले पनि प्रश्न उठाउन थालेका छन् । ‘जघन्य अपराधमा पनि प्रहरीले अनुसन्धानमै वर्षौँ बिताउँछन्’ मानव अधिकारकर्मी जंगबहादुर सिंहले भने ‘घटना लगत्तै प्रहरीको थालेको अनुसन्धान देखेर हत्यारा पत्ता लाग्छ भने विश्वास थियो, तर पछिल्लो समयमा प्रहरीले अनुसन्धानमा तदारुकता देखाएको देखिँदैन ।’

उनले अपराधीलाई कानूनी दायरामा ल्याएर प्रहरीले समाजप्रति बोकेको जिम्मेवारी पुरा गर्न अग्रसर हुनुपर्नेमा जोड दिए । उता, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्ले घटनामा अनुसन्धान भइरहेको बताए । ‘जबसम्म अनुसन्धान पूरा हुँदैन, तबसम्म घटनाको प्रगती शुन्य नै हुन्छ’ उनले भने ‘केही समय लाग्छ प्रगति १ सय पुर्‍याउन ।’

को थिए साह दम्पती ?

स्थानीयहरुमाझ प्रिय थिए साह दम्पती । दुखमा सहयोग गर्ने उनको बानी थियो । लामो समयदेखि खरचुहियामा बसोबास गर्दै आएका सबुरीको मुख्य घर तत्कालीन बनरझुला गाविस वडा नं. ३ हो ।

स्थानीयका अनुसार बनरझुलामा उनको मिलको व्यवसाय थियो । छोराहरू सत्यनारायण र तेजनारायण सरकारी जागिरे भएपछि उनीहरू मिल बेचेर खरचुहिया सरेका थिए । २ दशकदेखि स्थानीयलाई समान्य ब्याजमा ऋण उपलब्ध गराउँदै आएका थिए ।

घटनाको करिब ५–७ वर्षअघि प्यारालाइसिसका कारण सबुरी थला परेपछि पत्नी बेचनीले ऋणको कारोबार गर्दै आएकी थिइन् । उनीहरूको करिब ३० देखि ४० लाख रुपैयाँ गाउँमा लगानी रहेको स्थानीयको अनुमान छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.