तुइन प्रकरण : छानबिन गर्न प्रशासनले भारतलाई पत्र पठायो

तुइन प्रकरण : छानबिन गर्न प्रशासनले भारतलाई पत्र पठायो

दार्चुला : दार्चुला जिल्लाको ब्यास गाउँपालिकामा पर्ने महाकाली नदीमा तुइन तरिरहेका एक नेपाली खसेर बेपत्ता भएका छन्। भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी)ले तुइन काटेर नदीमा खसालिदिएको स्थानीयवासीले नेपाल प्रहरीमा उजुरी दिएका छन्। ब्यास–२ का ३३ वर्षीय जयसिंह धामीको शुक्रबार बिहान हत्या गरेको स्थानीयवासीको भनाइ छ। ब्यास गाउँपालिकाबाट भारतको बाटो हँुदै दार्चुला जिल्ला सदरमुकाम खलंगा आइरहेका उनी पार गरिरहेका थिए।

नेपाल तर्फबाट महाकाली नदीको आधा भागमा पुगेका जयसिंह एसएसबीले भारतपट्टि बाँधिएको तुइन (तार) काटिदिएपछि उनी नदीमा तारसँगै बेरिएर झरी बेपत्ता भएको आफन्त नरेन्द्रसिंह धामीले बताए। मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिनका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापनपत्र दिएका छन्। घटना विवरणअनुसार शुक्रबार बिहान जयसिंह धामीसहित सोही ठाउँका बहादुरसिंह धामी, अमरसिंह धामी, मन्नाम धामी, अनिता धामी, कल्यान धामी र विक्रम रंकोली सहितका सातजना भारतको बाटो हुँदै दार्चुला सदरमुकाम आउन घरबाट हिँडेका थिए। ब्यासबाट सदरमुकाम आउने सडक बन्द छन्। 

नेपालको बाटो भएर जिल्ला सदरमुकाम आए दिनभर पैदल हिँडनुपर्छ। तुइन तरेर भारत पसे त्यहाँबाट पक्की सडकमा भारतीय सवारी साधनबाट डेढ घण्टामै सदरमुकाम पुगिन्छ। नेपाली त्यही भएर तुइन तरेर भारतको बाटो सदरमुकाम आउने गर्छन्।

ब्यास गाउँपालिका–२ का अधिकांश बासिन्दा, नेपालतर्फको माल भन्ने स्थानबाट भारतको पङ्ला गस्कु भन्ने स्थान पुग्न महाकालीमा तुइन लगाउँछन्। भारतको सडकमा पुगेपछि उनीहरू डेढ घण्टाको गाडीको यात्रामा भारतको धारचुला पुग्छन्। धारचुलाबाट नेपालको दार्चुला अथवा सदरमुकाम खलंगा पुग्न १० मिनेट पनि लाग्दैन। प्रत्यक्षदर्शी कल्याणसिंह धामीका अनुसार, बहादुरसिंह धामी र अमरसिंह धामीले माल भन्ने स्थानमा तुइन तरिसकेका थिए। 

उनीहरू भारततिरको सडकमा पुगिसकेका थिए। ‘जयसिंहले तुइन तरिरहेका बेला पाङ्ला गस्कु पोस्टमा कार्यरत एसएसबी आए। उनीहरूले जयसिंहले तरिरहेकै बेला भारततिरको तुइन काटिदिए, एकैछिनमा जयसिंह तारसँगै अल्झिएर महाकालीमा विलिन भए’, तुइन तर्न नेपालतर्फ प्रतीक्षामा रहेका कल्याणले भने। जयसिंहको शव खोज्न स्थानीय र नेपाल प्रहरी खटिएको छ। जिल्ला सदरमुकामबाट पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलतर्फ पठाएको निमित्त प्रमुख जिल्ला अधिकारी जोत्सना भट्टले बताइन्। उनले तीन जना आफन्तले, जयसिंहको भारतीय एसएसबीले तुइन काटेर हत्या गरेको भन्दै आफन्तहरूले निवेदन दिएको जानकारी दिइन्। ‘जिल्ला प्रशासन कार्यालयमा एसएबीले तुइन काटेपछि जयसिंह नदीमा बेपत्ता भए भनेर निवेदन आएको छ तर त्यसको पुष्टि भने भइसकेको छैन। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल गएको छ’, भट्टले भनिन्।

भट्टले यस बारेमा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी (डीएम) लाई शुक्रबार दिउँसो नै यस बारेमा सत्यतथ्य छानबिनका लागि पत्र लेखेको बताइन्। ‘पिथौरागढका प्रमुख जिल्ला अधिकारीलाई घटनालगत्तै सत्यतथ्य बुझेर पठाउन पत्राचार गरेका छौं, नेपालको गृह मन्त्रालयमा पनि जानकारी भइसकेको छ, तर भारतीय पक्षको जवाफ भने आएको छैन’, उनले थपिन्। मृतक जयसिंहका आफन्त नरेन्द्रसिंह धामी, सोही नाम गरेका नरेन्द्रसिंह धामी र नवीनसिंह धामीसहित तीन जनाले घटनाको सत्यतथ्य बुझेर कारबाहीको माग गरेका छन्। आफन्तहरूले जयसिंहभन्दा अगाडि भारतको सडकमा पुगेका बहादुरसिह धामी र अमरसिह धामीलाई एसएसबीले नियन्त्रणमा राखेकाले उनीहरूको रक्षाका लागि पनि प्रशासनलाई निर्देशन दिएका छन्। 

सरकारको तुइन विस्थापित कार्यक्रमअन्तर्गत सो स्थानमा झोलुंगे पुलको ठेक्का भइसकेको छ। तर, पुल निर्माण व्यवसायी धनबहादुर कँुवरले तीन वर्षदेखि त्यहाँ पुल निर्माण अलपत्र छोडेका छन्। पुल नबनेकै कारण ब्यासका बासिन्दा तुइन जिन्दगी बाँचिरहेका हुन्। खाद्यान्न र दैनिक उपभोग्य सामानको अभाव भइराख्ने ब्यास गाउँपालिकामा नेपाली भारतबाटै उक्त सामान लैजान बाध्य छन्। 

नेपाली कांग्रेस र नेकपा एमालेनिकट अनेरास्ववियुले घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै जयसिंह एसएसबीले तुइन काटेका कारण महाकालीमा बेपत्ता भएको उल्लेख गरेका छन्। अनेरास्ववियुका अध्यक्ष ऐन महरले भने, ‘भारतीय एसएसबीको यो क्रुर र आपराधिक घटना हो, के नेपाली जनताले सधैं भारतको ज्यादति सहेर बस्नुपर्ने हो ?’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.