सडकमाथिबाट खसेको ढुंगाले च्यापेर सहचालकको मृत्यु, चालक घाइते
तानसेन: पाल्पाबाट बुटवलतर्फ गइरहेको लु २ च ७३८७ नम्बरको बोलेरो जिपमा माथिबाट खसेको ढुंगाले च्यापेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको माथिल्लो सिद्धवावा नजिकै सडकमा माथिबाट खसेको ढुंगाले च्यापेर घाइते भएका जिपका सहचालकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिपका सहचालक स्याङ्जा वालिङ नगरपालिका वडा नं ११ का २३ वर्षीय आशिष खाँड रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए ।
यस्तै दुर्घटनामा जिपका चालक स्याङ्जा चापाकोट नगरपालिका वडा नं ५ का २६ वर्षीय डिलु थापा घाइते भएका छन् । चालक थापाको लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा उपचार भइरहेको छ ।
तानसेन बुटवल सडकखण्डको सबैभन्दा जोखिमयुक्त मानिने सिद्धवावा सडक क्षेत्रमा यसअघि पनि माथिबाट यसै गरी ढुंगा खसेर दुर्घटना भएका थिए । यस क्षेत्रमा सुरुङ मार्ग निर्माणको लागि सरकारले अन्तरराष्ट्रिय स्तरमा वोलपत्र आह्वान गरिसकेको छ । सुरुङ मार्ग निर्माणको लागि सरकारले १० अर्ब रुपैयाँ सुनिश्चित गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस !