उपल्लो थलोको उपल्लै व्यथा !
गोरखा : गायक प्रकाश सपुतले नयाँ गीत बनाएका छन्, ‘मेरो पनि हैन र ? यो देश’। यो गीत जसले नेपाली नागरिक भएर पनि नागरिक भएको महसुस गर्न पाएका छैनन्, उनीहरूप्रति समर्पित छ। गोरखाको उत्तरी भेगवासीले यो गीत सुन्न नपाएका पनि हुन सक्छन्। तर, गीतले भनेझैं अनागरिकजस्तो भएर बाँच्नुको पीडा कम दर्दनाक छैन।
चुमनुब्री गाउँपालिका–७ का नौ टोलका २ सय ४२ घरमा घरैपिच्छे बिरामी छन्। लक्षण कोरोनासँग मिल्दोजुल्दो छ। गाउँको स्वास्थ्य चौकीले उपचार गर्न सकेको छैन। बिरामीलाई धमाधम सदरमुकाम वा काठमाडौं लैजानुपर्ने अवस्था छ। तर, बाटो अवरुद्ध हुँदा घरेलु उपचार गराउँदै घरमै बस्न बाध्य रहेको वडाध्यक्ष पासाङ फुन्जो लामा बताउँछन्।

चुमनुब्री गाउँपालिका–१ सामा र साम्दो गाउँस्थित मनास्लु पदमार्ग बाढीले बगाएपछि जोखिम मोलेर हिँड्दै पदयात्री।
‘ज्वरो आउने, खोकी लाग्ने, ज्यान दुख्ने, रिंगटा लाग्ने व्यथाले म पनि सिकिस्त छु। गाउँभरि यस्तै छ’, वडाध्यक्ष लामा भन्छन्, ‘गहुँ काट्न मारामार छ। हेल्थ पोस्टका कर्मचारी पनि
मेलापातमा छन्। उपचार गर्न सदरमुकाम जान पाँच–६ दिन पैदल हिँड्नुपर्छ। बूढीगण्डकीले बगाएर बाटो छैन भन्छन्। हेलिकप्टर चार्टर गर्न खर्च छैन। बिजोग छ।’
वडा नम्बर २ मा खाद्यान्न सकिएको धेरै भयो। विगतमा चीनको तिब्बतबाट ल्याउने गरिएकामा दुई वर्षदेखि नाका ठप्प छ। सदरमुकामबाट लैजान बाढीपहिरोले दुई महिनादेखि बाटो अवरुद्ध छ। ‘गाउँमा समस्या छ। खै कसलाई भनौं ? जनप्रतिनिधि भएर पनि गुनासो गर्यो भन्लान्, लाज होला। बेथा कसलाई सुनाऔं ?’, वडाध्यक्ष पेम्बा रेता लामा भन्छन्, ‘राहत कोसित मागौं। राहतले पनि कति दिन टर्छ र ?’

सिर्दिवासबाट बिही जाने बाटो बिग्रिएपछि जोखिमपूर्ण तवरले यात्रा गर्दै स्थानीय ।
वडा नम्बर ४ का क्वाक, छाक, प्रोकमा पनि खाद्यान्न अभाव छ। गाउँका कसैको घरमा चामल नरहेको वडाध्यक्ष पेमा डुन्डुप लामा बताउँछन्। ‘संकटै लागिसक्यो। सिस्नु र फाँडोले छाक टार्न थालेको धेरै भयो’, वडाध्यक्ष लामा भन्छन्, ‘कालले मर्न नपाइने भयो। अब भोकमरीले मर्नुपर्ने भयो।’ आफ्नो वडाका सबै पसलमा एक दाना पनि चामल नरहेको उनी सुनाउँछन्।
एक किलो नुनको २ सय ७५ रुपैयाँसम्म पर्ने गरेको चुमनुब्री–१ का वडा सदस्य मिङ्मार लामा बताउँछन्। ‘बाटोघाटो सबै बन्द छ। सबै सामान हेलिकप्टरले बोकेर ल्याउनुपरेको छ। हेलिकप्टरले प्रतिकिलो २ सय ५० का दरले पैसा लिन्छ’, वडा सदस्य लामा भन्छन्, ‘तलको बजारमा २५ रुपैयाँ प्रतिकिलो पर्ने नुनलाई यहाँ ल्याइपुर्याउँदा २५० रुपैयाँ हेलिकप्टर भाडा जोड्नुपर्यो। अलिकति व्यापारीले नाफा खान्छन्। अनि सस्तोमा पनि एक किलो नुनको २ सय ७५ रुपैयाँ परेन त ?’
वडा नम्बर ६ चुम्चेतका ६० घरमा पनि खाद्यान्न छैन। ‘भूकम्पको बेलाभन्दा अहिले पो बिजोग भयो’, वडाध्यक्ष लोप्साङ लामा भन्छन् ।’ खाद्य संस्थानले गाउँपालिकाभरिका लागि केही समयअघि डेढ सय क्विन्टल चामल हेलिकप्टरबाट ढुवानी गरी फिलिम डिपोमा गोदाम गरेको थियो। तर, बाँड्न नपुग्ने भएकाले लैजान नसकिएको वडाध्यक्ष लामा बताउँछन्।

चुमनुब्री गाउँपालिका–१ सामागाउँका बालबालिका ।
बाटो खुलाउन नसक्दा सात वडा र दुई दर्जनभन्दा धेरै गाउँबस्तीको अवस्था नाजुक रहेको चुमनुब्री–३ जगतका बलबहादुर गुरुङ बताउँछन्। ‘हेलिकप्टरले अलिअलि चामल ढुवानी गरेको थियो। तर, त्यसले खान पुग्दैन। प्रचार गर्न मात्र हो’, गुरुङ भन्छन्, ‘२ हजारभन्दा धेरै घरधुरी रहेको गाउँपालिकामा डेढ सय क्विन्टल चामल ढुवानी गरेर के हुन्छ र ? छिटोभन्दा छिटो बाटो खुलाएर खच्चड हिँड्न सक्ने बनाउन नसके गाउँपालिकाभरि भोकमरी हुन्छ।’
महामारीका बेला छेकम्पारको स्वास्थ्यचौकी पनि स्वास्थ्यकर्मीविहीन छ। चुमनुब्री– ४ नाम्रुङ स्वास्थ्य चौकीमा पनि कर्मचारी छैनन्। दुई जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकामा दुवै जना नरहेको वडाध्यक्ष पेमा डुण्डुप लामा बताउँछन्। ‘दुर्गमका बासिन्दा हामी सबै कुराबाट वञ्चित छौँ। हाम्रो समस्या सिंहदरबारमा राखिदिने पहुँच
भएका मान्छे छैनन्’, उनी भन्छन्, ‘बाउबाजेको पालादेखि हामीले एउटै समस्या भोगिरहनुपरेको छ। के सरकारले हाम्रो समस्या सुनिदिनुपर्दैन ? के हामी पनि नेपाली होइन र ?’
वडा नम्बर २ का वडाध्यक्ष पेम्बा रेता लामा भन्छन्, ‘भारतकै पनि हिमाली भेगका बासिन्दालाई विशेष सुविधाको व्यवस्था छ। हामीलाई विशेष सुविधा चाहिएन । कम्तीमा सबै ठाउँका नागरिकले पाउने सरह गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य पाउन पाए हुन्छ। के हामी यो देशको नागरिक होइन र ?’

गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकाको सिमाना यारु बगरमा बूढीगण्डकी नदीले एक महिनाअघि बाटो बिगारेपछि भीरमा भर्याङ राखेर खाद्यान्न ढुवानी गरिँदै । खच्चडलाई बोकाएर आर्खेतबाट तीन दिन र माछा खोला बजारबाट दुई दिनमा यारु बगरसम्म पुर्याइन्छ । त्यहाँबाट मान्छेले बोकेर एक किलोमिटर दूरीको ठाडो भर्याङसम्म लगी फेरि खच्चडले सिर्दिवाससम्म मात्रै लैजान सकिन्छ । त्योभन्दा माथिल्लो भेगका लागि हेलिकप्टरमार्फत ढुवानी गर्नुपर्छ । तस्बिर सौजन्य : राजेन्द्र कार्की
हातमुख जोर्न कृषिबाहेक आयआर्जनको अर्को स्रोत छैन। सिकर्मी, डकर्मीका कामका साथै जडीबुटी बेचेर नुनतेल किन्नुपर्ने अवस्था छ।
कोही छैनन् सरकारी सेवामा
चुमनुब्री–३ बाहेक वडाका बासिन्दामा सेना, प्रहरीमा भर्ना हुने परम्परा छैन। अन्य सरकारी सेवामा पनि छैनन् स्थानीय। अहेव, अनमी, सब ओभरसियरमा छिटपुट करारमा कार्यरत छन्। तर, लोकसेवा पास गर्ने कर्मचारी नरहेको चुम कल्याण समितिका अध्यक्ष निमा लामा बताउँछन्।
विद्यालय छ, न शिक्षक छन् न विद्यार्थी
हिमालपारिका दुर्गम गाउँका अधिकांश विद्यालय शिक्षक र विद्यार्थी नभएपछि बन्द भएका छन्। ‘विद्यालय त छ तर शिक्षक पनि छैनन्, विद्यार्थी पनि छैनन्’, चुमनुब्री–४ नाम्रुङका छिरिङ याङडुङ भन्छन्, ‘अहिले तपाईं गाउँमा जानुस्, एक जना बालबच्चा पनि गाउँमा देख्न सक्नुहुन्न।’ वडाका तीन विद्यालय बन्द भइसकेका उनको भनाइ छ। वडा नम्बर २ मा स्यालाबाहेक, ६ मा सिद्धगणेश प्राविबाहेक, ७ मा बुद्ध प्रावि लारबाहेक बन्द छन्।
भोटखोला जाने भीरमा भर्याङ
बूढीगण्डकीमा असार १ गते आएको भीषण बाढीले सल्लेरीका ६ घर बगायो। जगत बगरमा करिब सय मिटर बाटो डुबायो। हेलिकप्टरबाट तारजाली बोकेर सो ठाउँमा ग्याभिन भरी हिँड्न मिल्ने बनाउने बित्तिकै यारु बगरको बाटो गण्डकीले काटेर लग्यो। त्यसपछि अवरुद्ध भएको बाटो अहिलेसम्म खुलेको छैन।
भोकमरीको त्रास बढेपछि खच्चड व्यवसायी र जगतका बासिन्दा मिलेर भीरमा भर्याङ हाली यारु बगरबाट माथि जाने बाटो बनाएका छन्। तल्लो भेगबाट खच्चडमा लगेको खाद्यान्न त्यहाँसम्म उतार्ने र त्यहाँबाट मान्छेले बोकेर ठाडो भर्याङसम्म लगेपछि फेरि त्यहाँबाट माथि अरु खच्चडले ओसार्न थालिएको स्थानीय राजेन्द्र कार्की बताउँछन्।
१५ दिनदेखि जोखिम मलेर भीरमा भर्याङ थापेर चामल ओसार्न थालिएको खच्चड व्यवसायी लीला थापा मगर बताउँछन्। ‘यता हामीलाई बिनाकामको खच्चड पाल्न गाह्रो, उता भोटखोलामा भोकमरी हुने डर भयो’, आर्खेतका व्यवसायी मगर भन्छन्, ‘त्यसैले हामीले यारु बगरको क्यान्टिलिभर पुलभन्दा केही माथि बिग्रिएको बाटोमा भर्याङ हालेर त्यहाँबाट उता जाने ठाउँमा फलेक तेस्र्याएर खाद्यान्न ओसार्न सुरु गर्यौँ।’ आर्खेतबाट दुई दिन हिँडाएर यारुसम्म चामल लाने, पहिरोका कारण जगतभन्दा माथि अड्किएका खच्चडले यारुबाट जगतसम्म चामल पुर्याउने गरेको उनी बताउँछन्। उनका अनुसार आर्खेतबाट यारुसम्म खच्चड पुर्याउन पनि महाभारत छ। ‘आर्खेतबाट गएपछि लापुबेंसी पुग्ने बेला भूकम्पमा आएको ठूलो भीर पहिरिएर बाटो छेकेर बसेको छ। सानो बाटो छ। ठेल्यो भने गण्डकीमा खस्छ’, उनी भन्छन्, ‘माछा खोलाको पुलजीपमा ठूलो रूख आएर जीप नै बाँगो बनाएको छ। त्यसलाई ग्याभिन तारले अल्झाएर हिँड्ने गरिएको छ। खोर्लाबेंसीबाट माथि नेपाली सेनाले सडक बनाउँदा ब्लास्टिङ गरेर छोडेको बाटो हिँड्न साह्रै मुस्किल छ। पहरोबाट दुई ठाउँमा ठूलो खोला झर्छ। त्यहाँ भिज्दै हिँड्नुपर्छ।’ यसरी सास्ती खेप्दै दैनिक खच्चडको नौ÷दसवटा बथान हिँड्ने उनी सुनाउँछन्।
जिल्ला सदरमुकाम गोरखाबाट ५२ कोश टाढा पर्छ सामागाउँ। त्यहाँ पुग्न ६ दिन पैदल हिँड्नुपर्छ। ५० कोश टाढा रहेको छेकम्पार पुग्न पाँच दिन हिँड्नुपर्छ। सदरमुकामबाट आरुघाट गाउँपालिकाको सोतीसम्म गाडी चल्छ। त्यहाँबाट पैदल हिँड्नुपर्छ। पहिलो बास धार्चे गाउँपालिकाको खोर्ला बेंसीमा बस्नुपर्छ। दोस्रो दिन सिर्दिवास, तेस्रो दिन ड्याङ, चौथो दिन नाम्रुङ, पाँचौं दिन ल्हो र छैटौं दिनमा सामागाउँ पुग्न सकिन्छ।
त्यसतर्फ जाने बाटो बाढीपहिरोले अवरुद्ध भएका कारण हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने बाध्यता छ। हेलिकप्टरले सामागाउँसम्म ढुवानी गरेबापत प्रतिकिलो २ सय ५० रुपैयाँ भाडा लिन्छ। वडा सदस्य मिङ्मार लामाका अनुसार हेलिकप्टरमा ढुवानी गरिएका दैनिक उपभोग्य सामग्रीको मूल्य प्रतिकिलो यसरी तोकिएको छ। चामल (सोना) प्रतिकलो २ सय ९५ (तर बजारमा अभाव छ), चिनी ३ सय ४०, नुन २ सय ७५, मैदा २ सय ९८, आटा ३ सय १४ र खाने तेल (भटमास) ४ सय ८० पर्छ।
सो क्षेत्रका बासिन्दाले भोग्नुपरेको समस्याबारे आफू जानकार रहेको प्रतिनिधिसभा सदस्य हरिराज अधिकारी स्वीकार गर्छन्। आधारभूत आवश्यकताका रूपमा रहेको बाटोको समस्या वर्षौंदेखि ज्यूँका त्यूँ रहेको अधिकारीको भनाइ छ।
---
हाम्रो सम्मान प्रकाश सपुतप्रति !
यही देशको सीमाभित्र मैले जन्म लिएँ
गोर्खालीको सन्तान भनी गर्व ग¥या थिएँ
जन्माएको आमाले हो, घाँस काट्दा–काट्दै
बाउको जीवन यसै गयो, दुःख साट्दा–साट्दै
हामीलाई के नै सुख छ र
सक्नेले गर, नसक्ने पर
तर, मेरो पनि हैन र ? यो देश, मेरो पनि हैन र ?
घरखेत लग्यो पहिरोले छैन खाने अन्न
अन्न छैन भन्ने कुरा कता जानु भन्न
बरु जन्म लिन पर्नी जापान, जर्मन, चाइना
नेपालमा जन्म लेर कैले सुख पाइनँ
हामीलाई के नै सुख छ र
सक्नेले गर, नसक्ने पर
तर, मेरो पनि हैन र ? यो देश, मेरो पनि हैन र ?
भूगोल पनि विकट मेरो, जाति पनि तल्लो
एकै बारको यो जिन्दगी बनाइदिया खल्लो
ठूलालाई चैन शाहीबाउ सानालाई ऐन
के के तन्त्र आयो भन्छन् मलाई आया छैन
हामीलाई के नै सुख छ र
सक्नेले गर, नसक्ने पर
तर, मेरो पनि हैन र ? यो देश, मेरो पनि होइन र ?
नेपालमै बसम् भने छैन रोजगारी
सात समुन्द्र तरी गए मुटु गाँठो पारी
आत्मसम्मान बेची–बेची विदेशीको गुलाम
देश सम्झेर रुन्छ मन, कसो गरी भुलाम्
हामीलाई के नै सुख छ र
सक्नेले गर, नसक्ने पर
तर, मेरो पनि हैन र ? यो देश, मेरो पनि हैन र ?
खेतीपाती गरम् भने जग्गाजमिन छैन
जागिर गरम्, व्यापार गरम् ठाउँमा मान्छे भइन
अर्ब, खर्ब बजेट आउँछ केले खान्छ केले
मेरो जीवन साइकलसँगै थोत्रो सिसी लेले
हामीलाई के नै सुख छ र
सक्नेले गर, नसक्ने पर
तर, मेरो पनि हैन र ? यो देश, मेरो पनि हैन र ?
टाठोबाठो मान्छेलाई त यो देश फेरि सही हो
हामीजस्तो नागरिक त अनागरिक भइयो
कहिले होला भनेजस्तो नयाँ नेपाल आउने
जे जे भा नि जस्तो भा नि देशकै माया लाउनी
हामीलाई के नै सुख छ र
सक्नेले गर, नसक्ने पर
तर, मेरो पनि हैन र ? यो देश, मेरो पनि हैन र ?
(लोकप्रिय गायक सपुतको यो गीत हाम्रो समाचार सामग्रीसँग मेल खाएकाले यहाँ प्रस्तुत गरिएको हो ।)
(तस्बिर सौजन्य : राजेन्द्र कार्की/वीरबहादुर लामा/पेमा डुन्डुप लामा)
प्रतिक्रिया दिनुहोस !