दार्चुला घटना: घटनास्थल पुगेर प्रत्यक्षदर्शीहरुलाई सोधपुछ गर्दै छानविन टोली

दार्चुला घटना: घटनास्थल पुगेर प्रत्यक्षदर्शीहरुलाई सोधपुछ गर्दै छानविन टोली

दार्चुलाः महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी खसेर वेपत्ता भएको घटनाका लागि गृह मन्त्रालयले गठन गरेको छानविन टोलीले घटनास्थल नजिकैका प्रत्यक्षदर्शीहरुसँग भेटेर घटना बारे सोधपुछ गरेको छ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित पाँच सदस्यीय छानविन टोली मंगलबार दार्चुला सदरमुकाम पुगेको हो। छानविन टोलीका सदस्यहरुले घटनास्थल नजिकैका प्रत्यक्षदर्शीहरुसँग भेटेर घटनाको बारेमा सोधपुछ गरेको गृह सहसचिव जनार्दन गौतमले बताए ।

व्यास २ का ३३ वर्षीय जयसिंह धामी गत साता भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर वेपत्ता भएका थिए ।

प्रत्यक्षदर्शी बिक्रम रंकोली, कल्यान सिंह धामी र अनिता धामीलाई सोमबारनै जिल्ला सदरमुकाम दार्चुला ल्याइएको थियो । उनीहरुलाई सोमबार सदरमुकाम लगिएको भए पनि सोधपुछ र छलफल भने बुधबार भएको गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले बताए ।

"प्रत्यक्षदर्शीहरुसँग कुराकानी भएको छ । उहाँहरुले हामीसँग खुलेर कुराकानी गर्नुभएको छ । तर उहाँहरुले भनेका कुरा यहाँ भन्न मिल्दैन । त्यो कुरा १० दिनपछि प्रतिवेदनले बताउनेछ । हामीले सरकारलाई प्रतिवेदन बुझाउने छौँ त्यसपछि मात्रै सबै कुरा थाहा हुनेछ," उनले भने ।

गौतमका अनुसार यस घटनाको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको प्रत्यदर्शी नै हुन् । बुधबार बिहान प्रत्यक्षदर्शीहरुसँग कुराकानी गरेका टोली सदस्यले घटनास्थलको वस्तुस्थितिबारे जनप्रतिनिधि र स्थानीय नागरिकहरुसँग पनि छलफल गर्ने जनाएका छन् ।

तुइन तर्नुपर्ने यहाँका बासिन्दालाई बाध्यता भएको स्मरण गर्दै टोलीका संयोजक गौतमले पीडित परिवारलाई उचित राहत र क्षतिपूर्तिका लागि पनि छानविन समितिले गम्भीर ढंगले सोचेको बताए ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन् ।

पत्रकार सम्मेलनमा पत्रकारहरुले पनि आआफ्ना धारणहरु व्यक्त गरेका छन् । वक्ताहरुले यस घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीमाथि कारवाही गर्न माग गरेका थिए । साथै भारतीय पक्षप्रति वक्ताहरुले गुनासो समेत गरेका थिए ।

पत्रकार महासंघका प्रतिनिधि तथा स्थानीय अधिकारकर्मीहरुले यस घटनालाई गम्भीर रुपमा लिन छानविन टोलीका सदस्यहरुलाई भनेका थिए । यद्यपि छानविन फितलो हुनेमा उनीहरुले चिन्ता व्यक्त गरेका थिए ।

छानविन समितिका सदस्यहरुले दार्चुलाका पत्रकार तथा मानव अधिकारकर्मीहरुसँग पनि परामर्श गरेको बताएका छन् । यस्तै समितिका सदस्यहरुले घटनास्थलसम्मै पुगेर अनुसन्धान गर्ने र सत्य तथ्य छानविनका लागि कुनै कसुर नराख्ने
बताएका छन् ।

स्थानीय स्तरबाट भारतीय पक्षमाथि आरोप लगाए पनि भारतीय प्रशासनले भने पत्र लेख्दै भारतीय पक्षको संलग्नता नरहेको दावी गरेको थियो ।

साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी राप्लाको मालघाटबाट तुइन तर्ने क्रममा वेपत्ता भएका थिए । यस घटनाको सत्यतथ्य छानविनका लागि संसदमा समेत प्रश्न उठेका छन् 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.