सप्तरीमा २५ वर्षीय युवक मृत अवस्थामा भेटिए
सप्तरी: सप्तरीको खडक नगरपालिका–३ गरुराहामा बिहीबार बिहान २५ वर्षीय युवकको शव भेटिएको छ ।
स्थानीय २५ वर्षीय श्यामसुन्दर राम मृत अवस्थामा भेटिएका हुन् । घरदेखि झण्डै ५० मिटरको दूरीमा पर्ने नालामा श्यामसुन्दर मृत अवस्थामा भेटिएका हुन् ।
बुधबार साँझ नै घरबाट निस्किएका श्यामसुन्दर रातभर नफर्किएको र बिहान सडकमै रहेको परिवारजनले बताए । श्यामसुन्दरलाई हत्या गरेर नालामा फालिएको हुनसक्ने भन्दै परिवारजनले घटनाको छानविन हुनुपर्ने माग गरेका छन् ।
परिवारजनले घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन प्रहरीसँग आग्रह गरे । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले शव पोष्टमार्टमका लागि पठाइएको र घटनाबारे अनुसन्धान थालिएको बताएका छन् ।
‘प्रारम्भिक अनुसन्धान अनुसार श्यामसुन्दर मदिरा सेवन गरेर नालामा लडेको हुनसक्ने पनि देखियो, यद्यपि पोष्टमार्टम रिपोर्ट आएसँगै सोही अनुसार अनुसन्धान अघि बढाउँछौं’, उनले भने । मृतक श्यामसुन्दरका पत्नी र अढाई वर्षीया छोरी छन् ।
यसअघि साउन १५ गते धनुषामा लक्ष्मीनियाँ गाउँपालिका–२ का ४० वर्षीय पल्टु रविदासको प्रहरी हिरासतमा रहेको शौचालयभित्र आफ्नै गन्जीले पासो लगाएर झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस !