अन्तरजातीय प्रेमविवाह अस्वीकार गरेपछि दलित युवतीले गरिन् आत्महत्या

अन्तरजातीय प्रेमविवाह अस्वीकार गरेपछि दलित युवतीले गरिन् आत्महत्या

राजविराज: सप्तरी सुरुंगा नगरपालिका–७ पोखरियाकी २० वर्षीया दलित युवतीले प्रेमविवाह अस्वीकार भएपछि आत्महत्या गरेकी छन् । दलित भएकाले केटाका परिवारले विवाह अस्वीकार गरेको र स्वयं केटाले होटेलमै छोडेर गएको डेढ महिनापछि गत शनिबार बिहान ९ बजे घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

एस्तो छ घटना

सप्तरीको सुरुङ्गा नगरपालिका–७ पोखरियाकी २० वर्षीया ज्योति पासवान र छिमेकी २५ वर्षीय कृष्ण मिश्राको प्रेम सम्बन्ध बस्यो । दलित समुदायकी छोरी ज्योती र उच्च जात भनिने ब्राह्मणका छोरा कृष्णको प्रेम गहिरिँदै गयो ।

घरपरिवारमा कसैलाई थाह थिएन । दुवैले सँगै मर्ने बाँच्ने कसम खाए । तर उनीहरूले समाजमा रहेको जातीय भेदभावका कारण आफूहरुको प्रेम सफल हुने देखेनन् । आफू ब्राह्मणका छोरा भएकाले घरपरिवारले कुनै पनि हालतमा नस्वीकार्ने देखेपछि कृष्णले ज्योतीलाई भगाएर बिहे गर्ने योजना बुने ।

फागुन १० गते राति कृष्णले ज्योतीका घरपरिवार र उनको समुदायलाई जानकारी गराए। ज्योतीलाई लिएर जाने र आफू बिहे गर्ने प्रतिवद्धता गरे। ज्योतीको परिवारजनलाई जानकारी दिएर दुवै जना घरबाट हिँडे ।

कृष्ण र ज्योती भागेर तीन महिनासम्म अज्ञातबास जस्तै बसे । कृष्णले आफ्नो फेसबुकमा ज्योतीसँगको तस्बिर बेला बेलामा पोस्ट गर्ने गरेका थिए । तर आफू बसेको ठाउँको जानकारी कसैलाई दिएनन् । ज्योतीले घरपरिवारलाई भागेको केही समय पश्चात जनकपुरको एक मन्दिरमा विवाह गरिसकेको बताएकी थिइन् ।

केही समयपछि ज्योतीले पनि माइतमा फोन गर्न छाडिन् । भागेको झण्डै चार महिनापछि गएको असार २ गते सिरहास्थित लहानको पुष्पाञ्जली लजबाट ज्योतीले आमा इनरदेवी पासवानलाई फोन गरिन् ।

ज्योतीले दुःखी स्वरमा आमालाई भनिन्, ‘मलाई कृष्णले छाडेर दुई दिनदेखि बेपत्ता छन्। मेरो मोबाइल पनि लगेछन्। पैसाको अभावले खान पाइरहेकी छैन। लजवालाले पैसा तिरेर निस्किन दबाब दिइरहेका छन्। म बिचल्लीमा छु। ठूलो समस्यामा छु।’

बुबा प्रमोदले गाउँ समाजमा छोरीले फोन गरेको जानकारी गराए । समाजका केही अगुवासहित भोलिपल्ट इलाका प्रहरी कार्यालय लहानमा पुगे । त्यहाँबाट प्रहरीसहित छोरी अलपत्र परेको लजमा पुगे र त्यहाँबाट ज्योतिलाई जिम्मा लिएर घर लगे ।

झण्डै दुई महिनादेखि आमाबुबासँग घरमै बस्दै आएकी ज्योति कृष्णसँग कुनै सम्पर्क नहुँदा तनावमा थिइन् । शनिबार बिहान उनी खाना पकाइरहेकी थिइन् । घरमा कोही थिएनन् । आमाबुबा घरभन्दा केही पर गाउँमै सानो चियानास्ताको पसल थापेका छन् । प्रमोद र इनर नास्ता पसलकै केही सामान किन्न करमाहा भन्ने ठाउँमा पुगेका थिए।

जेठी छोरी आरतीले बुबालाई फोन गरेर घरमा चाँडो आउनुस् भनिन्। घर पुग्दा छोरीको अवस्था देखेर बुवा आमाको होसहवास उड्यो। करिब ८ बजे भान्छा कोठामा सलले पासो लागेको अवस्थामा ज्योतीको शव फेला पर्‍यो।

घटनापछि ज्योतीका परिवार लगायत दलित समुदायले दोषी कृष्णलगायत उनको परिवारलाई कारबाहीको माग गरेका छन्। ज्योतीलाई प्रेममा पारेर चार महिना यौन शोषण गरेर धोका दिएकै कारण तनावमा ज्योतीले आत्महत्या गरेको दलित समुदायका अगुवाहरूको निष्कर्ष छ ।

ज्योतीका आमा दलित भएका कारण छोरीलाई मिश्र परिवारले अस्वीकार गरेकाले आत्महत्या गर्न बाध्य भएकी भन्दै घटनाको छानविन गरी दोषीमाथि कडा कारबाहीको माग गरिन् । उनले मिश्र परिवारले कृष्णासँग छोरीसँगको सम्बन्ध बिच्छेद गर्न षड्यन्त्र गरी ज्वाईँलाई समेत बेपत्ता पारेको आरोप लगाउँदै उनले छोरीलाई मानसिक यातना दिएका कारण छोरीलाई आत्माहत्या गर्न बाध्य बनाएको बताइन् ।

घटना सम्बन्धमा जानकारी लिन कृष्णाका बुवा अखलेश मिश्रालाई घरमा खोज्दा भेटिएन । उनलाई टेलिफोन सम्पर्क गर्दा जनकपुर काम विशेषले गएको बताउँदै घटनाबारे आफूलाई कुनै जानकारी नभएको बताए । छोरा चार महिनादेखि सम्पर्क विहीन रहेको जानकारी दिँदै उनले घर फर्केपछि अरु कुरा हुने बताए ।

कारबाही गर्न माग

ज्योतीका बुबा प्रमोद पासवानले आत्महत्या दुरुत्साहन र जातीय भेदभाव तथा कसुर सजाय ऐन, २०६८ अनुसार कारबाही गर्न उजुरी दिने तयारी गरेका छन् । इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले घटनाबारे अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘कानुनअनुसार कारबाही गर्न हामीले प्रक्रिया अघि बढाइसकेका छौँ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.