आधुनिक समाजमा तेस्रो आँखा

आधुनिक समाजमा तेस्रो आँखा

इमान्दारिताका साथ स्वच्छ पत्रकारिता गरौं, समाज र राष्ट्रलाई अघि बढाऔं। यो नै वर्तमान समयको माग हो।


सञ्चारमाध्यम समाजको ऐना हो। सबै प्रकारका सामाजिक सुधारका लागि यसको महत्व अत्यन्त बढी छ। आजको युगमा सञ्चारमाध्यमहरू अत्यन्त प्रभावकारी सावित भएका छन्। समाजमा भइराखेका क्रियाकलापलाई निरन्तर रूपमा प्रचार प्रसार गरी सुसूचित गर्ने र पारदर्शिता निर्वाह गर्नमा यो सशक्त माध्यमको रूपमा स्थापित भएको छ। सञ्चारमाध्यमले अन्तर्राष्ट्रिय सिमानालाई निस्प्रभावी बनाउँदै यो विश्वलाई नै सानो टोलछिमेकको रूपमा रूपान्तरण गरिदिएको छ। सूचना सञ्जालमाथि नागरिकको अधिकार जति बढी स्थापित गर्न सकियो त्यति बढी लोकतन्त्र सुदृढ भएको मानिन्छ। विकसित र विकासशील दुवै प्रकारका मुलुक भ्रष्टाचार, पद र अधिकारको चरम दुरूपयोगबाट आक्रान्त छन्। सञ्चारमाध्यमले यी समस्याको उजागर गरी समाजमा व्याप्त असमानता, अन्याय, पक्षपात एवं गलत व्यवहारमा सुधार ल्याई सरकारी र निजीक्षेत्रमा सकारात्मक परिवर्तन गर्न प्रयत्नशील छ। यसले गलत क्रियाकलापविरुद्ध निगरानीसमेत गर्दै आएको पाइन्छ।

आधुनिक जटिलताबाट गुज्रिएको समाजमा भ्रष्टाचार नियन्त्रणका दिशामा सञ्चारमाध्यम प्रभावकारी साधन प्रमाणित हुँदै गएको छ। भ्रष्टाचारमा संलग्न व्यक्ति स्रोत, साधन, शक्ति सबैको पूर्ण उपभोग गर्ने हुँदा वैभवशाली भइराखेको हुन्छ, यस्ता प्रतिष्ठित व्यक्तिविरुद्ध गरिने प्रचार प्रसारले स्वतः समाजको चासो सिर्जना गरी दिने भएकाले पनि सञ्चारमाध्यमको सम्प्रेषणलाई जनताले स्वीकार एवं समर्थन गर्छन्। पत्रकारिताले भ्रष्टाचारका आरोपीलाई कानुनी अनुसन्धान गर्ने होइन, कारबाही पनि गर्दैन। अपराधविरुद्धको न्यायले कानुनी बाटो अवलम्बन गर्छ, कुनै सार्वजनिक पदाधिकारीमाथि आरोप लाग्दछ। सञ्चारका माध्यमले त्यसलाई प्रचार प्रसार गरिदिन्छ। लामो अन्तरालमा त्यस पदाधिकारीको जीवन स्तर र रहन सहनको मूल्यांकन समाजले राम्ररी गरिराखेको हुन्छ। त्यस पृष्ठभूमिमा आएका सम्प्रेषणलाई समाजले स्वतः स्वीकार्छ। अभियुक्तले कानुनी आधारमा सफाई पाउन सक्छ तर गलत व्यक्तिलाई सञ्चारमाध्यम र जनताले सधैं शिर निहुर्‍याउने परिस्थिति बनाइदिएका हुन्छन्। जसले गर्दा समाजमा विस्तारै शुद्धिकरण आउन थाल्छ।

भ्रष्टाचार रोकथामका लागि सञ्चारमाध्यमको उल्लेखनीय योगदान रहने विषयमा सन्देह छैन। यद्यपि सो क्षेत्रमा समस्या नभएका होइनन्। पत्रकारका चाहना अत्यन्त निष्पक्ष हिसाबले अपराधकर्मीमाथि छानबिन तदारुकताका साथ होस्। त्यसको सूचना यथाशिघ्र उपलबध होस् भन्ने रहन्छ तर सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि हुने छानबिन तथा अनुसन्धानमा कानुनसम्मत तरिकाले निजको इज्जत र मर्यादालाई पनि सोचमा राख्ने गरिँदा अनुसन्धानकर्ता र पत्रकारहरूका बिच यदाकदा विवादास्पद स्थिति बन्ने गर्दछ। बजारमा रहेका सञ्चारमाध्यम बिचको प्रतिष्पर्धाका कारण छिटोभन्दा छिटो समाचार सम्प्रेषण गर्ने होड चल्छ। पर्याप्त समय अमुक केशको तथ्य संकलन र विश्लेषणमा दिन नसक्दा यसबाट पर्न जाने अन्य प्रभावका बारेमा सोच पुर्‍याउन सकिराखेको देखिँदैन। भ्रष्टाचारविरुद्धको छानबिनका विषयहरूमा पूरा गर्नुपर्ने प्रकृया र कानुनी सिद्धान्त एवं मूल्यमान्यताका विषयमा विशेषज्ञता प्रायः सबै पत्रकारसँग नहुँदा पनि सञ्चारमाध्यमका प्रचार प्रसार विषय कमजोर वन्दै गएका अनुभव छन्।

प्रचार प्रसारले सार्वजनिक दबाबको स्थिति पैदा गर्छ। जसले गर्दा निर्णय प्रभावित बन्ने गर्छ। यस सन्दर्भमा प्रचार प्रसार गर्नुपूर्व पर्याप्त ध्यान जानु आवश्यक हुन्छ। अन्यथा व्यक्तिको अधिकारमा अतिक्रमण हुनसक्छ। तेस्रो आँखा मानिएको सञ्चारमाध्यम पनि दुरूपयोग हुनसक्छ। प्रचार प्रसारका माध्यमबाट व्यक्तिको सामाजिक प्रतिष्ठा र इज्जत धरासायी पनि बन्नसक्छ। पत्रकारहरूले पनि विवेक गुमाउन सक्छन्। तसर्थ समुच्च पत्रकारिता बचाउन प्रत्येक मुलुकले आचारसंहिता बनाउँछन्। जसले निर्वाध रूपमा व्यावसायिक क्रियाकलाप अघि बढाउन पाउने र सो गर्दा नागरिकको मानवअधिकारको संरक्षण पनि गम्भीर बनी पत्रकारितालाई मर्यादित एवं सर्वस्वीकार्र्य बनाउन प्रयत्न गरिएको हुन्छ। व्यक्तिगत रूपमा स्वार्थ प्रेरित भई पत्रकारितालाई सम्बन्धित व्यक्तिको सामाजिक प्रतिष्ठामा आँच आउने हिसाबले बदलास्वरूप कलम चलाउने, पेशाको आडमा विभिन्न आर्थिक आर्जनलगायत काम गर्ने विषयले पित पत्रकारिता मौलाउने गरेको छ। समाजका विकृतिजन्य विषयहरूमा सुधार ल्याउनुको सट्टा अझ विकृति र विसंगति अभिवृद्धि गर्न सञ्चार जगत् उद्यत हुन सक्ने स्थिति बन्न सक्छ। सञ्चारमाध्यमहरूले सामान्य विषयलाई अतिरञ्जित गरी प्रचार प्रसार गरी व्यक्तिको अधिकारमाथि अतिक्रमण गरेका घटना पनि चर्चामा आएका छन्।

तसर्थ पत्रकारिता जगत्ले कलम चलाउँदा अत्यन्त गम्भीर हुनु जरुरी छ। पत्रकारका लागि केही आचारसंहिता राज्यले निर्धारण गरी पालना गराउनुपर्छ। पत्रकारले सूचना सार्वजनिक गर्दा कुनै पूर्वाग्रह राख्नु हुँदैन। सत्यमा आधारित भएर संप्रेषण गर्नुपर्छ। तथ्यमा आधारित भएर सूचना प्रवाह गर्न बढी मेहनत र समय लाग्ने गर्छ। प्रकाशनका तरिकाहरू अत्यन्त इमान्दारितापूर्वक निर्वाह गरी अघि बढाउनुपर्छ। आफूले गने सूचना सम्प्रेषणबाट पर्न सक्ने असरका बारेमा विश्लेषण जरुरी छ। यसले व्यक्तिलाई असर गर्न सक्छ, संस्थाको ख्याति बढ्न वा धरासायी जे पनि हुनसक्छ। सञ्चारमाध्यमप्रति सर्वसाधारणको धारणा सकारात्मक र नकारात्मक दुवै हुनसक्छ। तसर्थ जिम्मेवारीका साथ कर्तव्य निर्वाह गर्नु जरुरी छ।

समाजमा व्याप्त विकृतिको निराकरणका दिशामा सञ्चारमाध्यमले योगदान गर्न सक्नुपर्छ। विद्यमान सामाजिक, आर्थिक र मानवीय समस्याहरूको पहिचान गरी निश्चित समाचार सम्प्रेषणबाट के कस्तो प्रभाव पर्न जान्छ, सकारात्मक दिशामा अघि वढ्न आफ्नो योगदानले थप मद्दत पुर्‍याउन सक्छ सक्दैन ? यस्ता समस्याको समाधानमा दत्तचित्त रहने गरी यो जगत् अघि बढ्नुपर्छ। विश्वव्यापी रूपमा मान्यता प्राप्त मौलिक हकको सम्मान र पूरै विश्वशान्ति सुरक्षा र अमनचयनका विषयमा सोच राख्नुपर्छ। यसरी अघि बढेमा मात्र सञ्चारमाध्यमले  प्रतिष्ठा आर्जन गर्छ र यो जगत्को योगदान मानव मात्रको कल्याणका लागि हुन जान्छ। यही मूलमन्त्रमा रहेर प्रत्येक राष्ट्रले संवाद जगत्का लागि आचारसंहिता निर्धारण गर्नुपर्छ। सबै प्रकृया र व्यवस्था भ्रष्टाचारसम्बन्धी मानिसको छानबिन गरी सर्वसाधारणसमक्ष सुसूचित गराउने सन्दर्भमा पनि लागू गर्नु नितान्त आवश्यक छ।

पत्रकारको कलम सेनाको गोलीभन्दा धेरै गुणा शक्तिशाली हुने गर्छ। तर समस्या कुनै पनि विषयको सतही छानबिन र विश्लेषणमार्फत सूचना प्रवाह हुनुमा छ।

सञ्चार प्रणालीले समाजमा प्रभाव विभिन्न किसिमले पार्ने गर्दछ। यसका लागि जनताका अधिकार पूर्णरूपमा उपभोग गर्न सक्ने परिस्थिति निर्माण त्यतिखेर संम्भव हुन्छ, जब सूचनामा आमजनताको पहुँच निर्वाध र सरल रूपमा हुने गर्दछ। यसले आफ्ना अधिकारप्रति सचेतना जागृत गराउँछ। सार्वभौम अधिकारको प्रयोग आत्मविश्वासका साथ गर्न सक्छन्। सार्वजनिक चासोका विषयमा खुलेर आलोचना गर्ने र विकल्पहरू प्रस्तुत गर्न सक्षम बन्छन्। यसका लागि पनि सञ्चार सुविधाहरूको भरपूर प्रयोग जरुरी हुन्छ, प्राप्त सूचनाहरूको विश्लेषणबाट नागरिकले इच्छाआंकांक्षाको गन्तव्यमा पुग्ने अवसरहरूको आँकलन राम्ररी गर्न सक्ने हुन्छन्। यदि गन्तव्यका लागि यात्रा सुगम छैन भने यसका लागि थप प्रयासतर्पm अभिमुख हुन्छन्। समग्रमा सूचनाबाट आत्मविश्वास बढ्छ, क्षमतामा अभिवृद्धि हुन्छ। कमी कमजोरीहरूको लेखाजोखा एवं विश्लेषण राम्ररी गर्न सकिन्छ। तसर्थ सूचनाको भरपूर प्रयोगबाट राष्ट्र एवं समाज सम्वृद्ध बन्न सक्छ। समाजमा विद्यमान विकृति र विसंगतिको निराकरणका लागि रामवाण सावित हुनसक्छ। तसर्थ सञ्चारमाध्यमको सुदृढीकरण राष्ट्रिय प्राथमिकतामा पर्नुपर्छ।

सञ्चारको प्रभावकारी प्रयोगद्वारा कानुनी कारबाही ढिलो हुँदाहुँदै पनि समाजले तुरुन्तै प्रतिकृया दिन थाल्छ। भ्रष्टाचारीहरूको टिकाटिप्पणी, सामाजिक विभेद, सामाजिक अस्वीकार्यता जस्ता अवस्थाहरू सिर्जना हुने गर्छन्। राजनीतिज्ञहरू मतदाताबाट वहिष्कृत हुन पुग्छन्। यस अर्थमा पत्रकारको कलम सेनाको गोलीभन्दा धेरै गुणा शक्तिशाली हुने गर्छ। तर समस्या कुनै पनि विषयको सतही छानबिन र विश्लेषणमार्फत सूचना प्रवाह हुनुमा छ। उदाहरणका लागि सञ्चारमाध्यमले कुनै व्यक्ति विशेषविरुद्ध भ्रष्टाचारका आरोपहरू लगाइरहँदा उसको सामाजिक प्रतिष्ठा र व्यक्तिगत जीवन अस्तव्यस्त हुने गर्दछ। अभियुक्त चरम मानसिक यातनाबाट पीडित हुनपुग्छ। निर्दोष व्यक्तिमाथि यस्तो आरोप लागेमा आत्महत्यासमेत गरिएका घटना छन्। यसरी सञ्चारमाध्यममार्फत लगाइएको अभियोग कानुनी रूपमा गलत सावित भएका र यसरी निर्दोष प्रमाणित भएपश्चात् पनि समाजले अभियुक्तउपर गरेको व्यवहारबाट पुग्न गएको नोक्सानीको पूर्ति पुनः समाजले सरकार वा न्यायालय र सञ्चारमाध्यम कसैले पनि गर्न सक्दैन।

कारणवश यस्तो परिस्थिति निर्माण हुनु भनेको सबैका लागि दुःखपूर्ण अवस्था हो। समाजलाई सुधार गर्ने क्रममा सञ्चारका साधनहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुनु पनि उल्लेखित परिस्थिति सिर्जना नगराउनेतर्फ विशेष ध्यानाकर्षण सम्बन्धित क्षेत्रको हुनुपर्छ। यसै संन्दर्भमा स्मरण गर्दा स्वच्छ पत्रकारिता गर्दा पनि इमान्दार पत्रकारहरू अपराधी समूहको निशाना बनेका छन्। तिनको निर्मम हत्या गरिएको छ। पित पत्रकारिताबाट केही इमान्दार व्यक्तिको चरित्र हत्या भएको पनि छ। बेलाबखत सञ्चार आतंकको चर्चा परिचर्चा पनि सुन्ने गरिएको छ। यस्तै पृष्ठभूमिमा केन्द्रीत रहेर हामीले कलम चलायौं भने पत्रकारिता पेशा अत्यन्त मर्यादित हुनेछ।

यस्तो कामले राष्ट्र र समाजलाई सही दिशातर्फ उन्मुख गराउन सक्नेछ। सम्बन्धित सबै पक्ष गम्भीर बनी अघि बढ्नु सञ्चारमाध्यमलाई सशक्त वनाउनुपर्नेमा मतैक्यता रहने विषयमा भने द्विविधा छैन। इमान्दारिताका साथ स्वच्छ पत्रकारिता गरौं, समाज र राष्ट्रलाई अघि बढाऔं। यो नै वर्तमान समयको माग हो। निष्पक्ष र तथ्यमा आधारित सूचना सम्प्रेषणले विश्वमा सामाजिक परिवर्तन सम्भव भएको यथार्थता हामी सामु प्रष्ट छ। सञ्चारजगत्लाई सबै क्षेत्रको सहयोग जरुरी देखिएको छ जसले गर्दा स्वच्छ र निष्पक्ष पत्रकारितालाई प्रोत्साहन मिल्ने वातावरण बनोस्। स्वच्छ पत्रकारितामार्फत राष्ट्रप्रति योगदान गर्ने सञ्चारकर्मीहरू र सञ्चारमाध्यमहरूको सुरक्षाको विषयमा पनि सम्बन्धित पक्ष अत्यन्त गम्भीर हुनु अपरिहार्य देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.