अलंकारका सर्वोत्कृष्ट प्रयोक्ता

अलंकारका सर्वोत्कृष्ट प्रयोक्ता

राष्ट्रकवि माधवप्रसाद घिमिरे विचारका दृष्टिले स्वच्छन्दतावादी कवि हुन् भने शैलीशिल्पका दृष्टिले परिष्कारवादी कवि हुन्।


संस्कृतमा भामहको एउटा सुन्दर भनाइ छ, ‘न कान्तमपि निर्भूषं विभाति वनिता मुखम्।’ अर्थात्, नारीको उज्यालो मुहारमा पनि साजसज्जाबिना चमत्कारपूर्ण सौन्दर्य झल्किँदैन। काव्य आफैंंमा सुन्दर सिर्जना हो तर त्यसभित्र कुँदिएको साजसज्जाले नै काव्यसौन्दर्यलाई अझै चमत्कृत तुल्याउने गर्छ। वस्तुत: साजसज्जायुक्त सिर्जना आफैंंमा सुन्दर, मनोहारी र प्रभावकारी मानिन्छ। राष्ट्रकवि माधव घिमिरे (१९७६–२०७७) भित्रको कुशल काव्यशिल्पीद्वारा कुँदिएका अमर सिर्जनाहरू यस्तै साजसज्जाबाट अनुप्राणित छन्। दीर्घ साधना र बारम्बारको परिस्कारधर्मितासँगै उनका हरेक सिर्जनाहरूमा चमत्कारपूर्ण शिल्पसौन्दर्य स्वत: भरिँदै गएको छ, जसलाई आलंकारिक अभिव्यक्ति मान्न सकिन्छ।

भनिन्छ, जुन कुरा प्रत्येक क्षण नयाँभन्दा नयाँ लागिरहन्छ, त्यही नै सौन्दर्य हो। साहित्यमा त्यसलाई झल्काउन अलंकारको सहयोग लिइन्छ। अलंकारकै माध्यमबाट सिर्जनात्मक सौन्दर्य झल्किने भएकाले कुशल स्रष्टाले स्वाभाविक रूपमा अलंकारहरू प्रयोग गर्छन्। सिर्जनाभित्र शिल्पसौन्दर्यलाई प्रभाव पार्ने तत्व भनेका शब्द र अर्थ हुन्। शब्दका तहमा सुललित पद–पदावली वा अनुप्रासीयताजस्ता विषयहरू प्रमुख मानिन्छन्। त्यसैगरी अर्थका तहमा फरक फरक किसिमबाट व्यक्त हुने उक्तिवैचित्र्यजस्ता विषयहरू प्रमुख मानिन्छन्। तिनलाई उपमा, रूपक, उत्पेक्षा, अतिशयोक्ति, स्वभावोक्ति, दृष्टान्त आदि विभिन्न अलंकारका नामबाट व्याख्या गरिन्छ। राष्ट्रकविका सिर्जनाहरूमा यस्ता शब्द र अर्थका मध्यमबाट चमत्कारपूर्ण अभिव्यक्तिहरू स्वत:स्फूर्त रूपमा भएका छन्। ‘गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली’ होस् कि ‘आएर कैल्यै ऋतु सिद्धिँदैन, लाएर माया मुटु रित्तिँदैन’ जस्तो अभिव्यक्ति होस्। यी शब्द र अर्थ दुवै किसिमबाट चमत्कार सिर्जना भएका छन्। कतै ग–ग र ल–लको आवृत्ति, कतै म–म र न–नको आवृत्ति, कतै प्रारम्भमा त कतै अन्त्यमा समान किसिमका वर्ण वा ध्वनिको आवृत्ति आदि आफैंमा चमत्कारपूर्ण अभिव्यक्ति बनेका छन्। न त ऋतुहरू आएर सिद्धिएका छन्, न त मायालु मुटुहरू माया लाएर रित्तिएका छन्। यहाँभन्दा सुन्दर एवम् अर्थपूर्ण अभिव्यक्तिहरू के हुन सक्लान् र ! यस्तैयस्ता शिल्पसौन्दर्यले भरिएका सिर्जना राष्ट्रकविका उपहारहरू हुन्।

कुशल काव्यशिल्पीले सिर्जनाको कुनै पनि विन्दुमा दाग देखाउन चाहँदैन। अमिट दागलाई पनि कलात्मक सौन्दर्यले ढाकिदिन्छ। सम्भवत: राष्ट्रकविको सिर्जनात्मक कला यसैतर्फ केन्द्रित रहँदै आयो। त्यसैले उनले शब्दाडम्बरका माध्यमबाट न त भावना वा विचारलाई कुण्ठित तुल्याउने प्रयास गरे न त भावनाको गहिराइमा डुबुल्की मारिरहँदा शब्दसौन्दर्यलाई ओझेलमा पार्ने प्रयास गरे। उनको ‘किन्नर–किन्नरी’जस्तो सरलतम गीति संग्रह होस् वा गौरी, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माताजस्ता उच्चस्तरीय काव्य हुन्; ती सबैमा भावना र शिल्पको सुन्दर संयोजन देखापर्छ। अथवा, उनका चैत्र–वैशाखजस्तो कविता संग्रह र मालतीमंगले, अश्वत्थामा, हिमालपारि–हिमालवारिजस्ता अनेकौं गीतिनाटकहरू वैचारिक तथा शैल्पिक सौन्दर्यबाट ओतप्रोत बनेका छन्। 

त्यस्तै ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ भन्ने यो गीतको अंश हो भने ‘कहाँ छ मृत्युञ्जयलाई मृत्यु’ भन्ने यो खण्डकाव्यको अंश हो। दुवैमा जति शैल्पिक सरलता देखिन्छ त्यति नै वैचारिक गहनता पनि पाइन्छ। विस्तृत वा धेरै विषयवस्तुलाई संक्षिप्तताका साथ सूक्तिमयता प्रदान गर्न सक्नेहरू नै यस अवस्थामा पुग्छन्। त्यसैले राष्ट्रकविको एउटा सबल पक्षका रूपमा उनीभित्रको शैल्पिक सिद्धि अर्थात् आलंकारिक चेतना रहेको प्रस्ट हुन्छ।

संस्कृत साहित्यमा कलिदासका सिर्जनाहरूलाई उपमामय मान्ने गरिन्छ भने नेपाली साहित्यमा राष्ट्रकविका सिर्जनाहरूलाई अतिशयोक्तिमय मान्न सकिन्छ। उपमा र अतिशयोक्ति दुवै अलंकारका भेद हुन् अनि दुवैलाई उपमेय र उपमानको सन्दर्भले जोड्ने गरेको हुन्छ। उपमामा उपमेय र उपमानका बिच सादृश्यको वर्णन गरिन्छ तर अतिशयोक्तिमा उपमेयलाई लुकाएर उपमानकै रूपमा वर्णन गरिन्छ। यो एक किसिमको अतिशय वा लोकोत्तर वर्णन पनि हो। कालिदासले रघुवंशमा पार्वती र परमेश्वरको वन्दना गरिरहँदा ती दुवैलाई बोली र अर्थजस्तै अभिन्न रहेको बताएका छन्। उपमाका दृष्टिले यस्तो सन्दर्भ निकै व्याख्येय छ। यस्ता कैयौं स्थानहरू छन् जहाँ कालिदासका उपमामय अभिव्यक्तिहरू पाइन्छन्। त्यस्तै राष्ट्रकविका सिर्जनाहरूमा उपमेयलाई लुकाउँदै उपमान मात्रको अतिशय लोकोत्तर वर्णनका कारण सिर्जनाका धेरैजसो अभिव्यक्तिहरू अतिशयोक्तिमय बनेका छन्। उदाहरणका लागि उनको पछिल्लो चरणमा प्रकाशित काव्य इन्द्रकुमारीभित्रका केही पंक्तिलाई हेर्न सकिन्छ : 
जा हे बादल ! गोर्खामा लैजा है, दिलको चिठी
कतै गाजलले लेखी, कतै सिन्दूरले छिटी । (इन्द्रकुमारी, ६।१) 
आँसुका फूल लैजा हे, उचालेर रुमालमा 
अल्झेझै शीतका थोपा प्रातका तन्तुजालमा ।
(इन्द्रकुमारी, ६।३ 

यहाँ सुरुका दुई हरफलाई हेर्दा अतिशयोक्ति अलंकारका माध्यमबाट काव्यसौन्दर्यलाई स्वत: अभिवृद्धि गरिहेको देखिन्छ। भनिएको छ, हे बादल ! जा, दिलको चिठी कतै गाजलले लेखेर, कतै सिन्दूरले छिटेर गोर्खामा लैजा। वास्तवमा आकाशमा फैलिएको कालो बादलसँग चिठी लैजाने र दिलको चिठीलाई गाजलद्वारा लेखिने आदि कुराको खासै कुनै तथ्यपरक सम्बन्ध हुँदैन। तैपनि, कविले चमत्कारपूर्ण ढंगले सम्बन्ध स्थापित गराएका छन्। 

त्यसरी नै पछिल्ला दुई हरफहरूमा हे बादल ! आँसुका पूmललाई रुमालमा उचालेर लैजा भनिरहँदा उपमेयका रूपमा रहेको आँसुका थोपालाई, उपमानका रूपमा रहेको पूmलमै मात्र केन्द्रित गरेर चमत्कार सिर्जना गराएका छन्। यस्ता अनेकौं प्रसंगहरू छन् जहाँ कविले भावुक बन्दै अतिशयोक्तितुल्य विभिन्न किसिमका अभिव्यक्तिहरू दिएका छन्। यसरी हेर्दा कालिदासले जस्तै राष्ट्रकविले आलंकारिक अभिव्यक्तिका क्रममा एउटा विशिष्ट र पृथक् किसिमको उचाइ बनाएका छन्। 

वस्तुत: राष्ट्रकवि माधवप्रसाद घिमिरे विचारका दृष्टिले स्वच्छन्दतावादी कवि हुन् भने शैलीशिल्पका दृष्टिले परिष्कारवादी कवि हुन्। उनमा कुनै एक पक्षको मात्र आग्रह वा प्रवृत्ति छैन। दुवैलाई समन्वय गर्न सक्ने क्षमताका कारण उनका सिर्जनाहरू निकै लोकप्रिय बनेका हुन्। त्यसैले उनका सिर्जनाहरूमा जति अलंकार पाइन्छन् ती सबै स्वाभाविक र सौन्दर्योत्पादक बनेका छन्। उनी शब्दालंकार र अर्थालंकार दुवैको प्रयोगमा उत्तिकै सिद्ध प्रमाणित भएका छन्। माथि भनिएझैं अनुप्रासीयता उनको सबैभन्दा बढी शब्दालंकारगत चेतनाको उपलब्धि हो भने अतिशयोक्तिपूर्ण अभिव्यक्ति अर्थालंकार प्रयोगको सम्प्राप्ति हो। यसको अभिप्राय अन्य अलंकारको प्रयोगका दृष्टिले उनी कमजोर देखिन्छन् भन्ने होइन।

उपमा, उत्प्रेक्षा र रूपकजस्ता अन्या अर्थालंकारहरूको प्रयोगका सन्दर्भमा समेत उनी निकै कुशल र अग्रणी पाइन्छन्। पद्यलयमा अनुप्रासीयतालाई प्राथमिकता दिनु स्वाभाविक नै मानिन्छ तर त्यसैभित्र विभिन्न किसिमका उपमेय, उपमान अथवा विम्ब–प्रतिविम्ब आदिको सान्दर्भिक प्रयोग गर्न सक्नु निकै ठुलो तपस्याको प्रतिफल हो। विचारलाई समेट्दा लय भङ्ग हुन सक्ने, लयलाई समेट्न खोज्दा विचार नअटाउने अनि विचार र लय दुवैलाई सन्तुलनमा राख्दा आलंकारिक चमत्कृति आउन नसक्नेजस्ता चुनौतीहरूलाई राष्ट्रकविले सहजै जितेका छन्। उनले जहाँ जहाँ जुन जुन विषयलाई साहित्यको जस्तो किसिमको विधाभित्र समेट्ने प्रयास गरेका छन् त्यहाँ कतै पनि आलंकारिक सौन्दर्यलाई निस्तेज हुन दिएका छैनन्। कालिदासकै जस्तो कल्पनाशीलता र आलंकारिक अभिव्यक्तिका दृष्टिले उनका कविता, गीत, काव्य, नाटक आदि विधागत पहिचानमूलक सिर्जनाहरू अमर बनेका छन्। 

माधव घिमिरेका खण्डकाव्यमा अलंकार–योजना शीर्षकको विद्यावारिधि शोधप्रबन्ध तयार गर्ने क्रममा २०५६ सालदेखि राष्ट्रकविज्यूसँग अन्तरंग शिष्य हुने अवसर पाएँ। मैले प्रस्तुत गरेको शोधप्रबन्ध अथवा त्यसमा आधारित भई प्रकाशन गरेका कृतिहरूको निष्कर्ष पनि ‘राष्ट्रकविका हरेक सिर्जनात्मक अभिव्यक्तिलाई स्वाभाविक रूपमा प्रयोग भएका सुन्दर अलंकारहरूले सजाएका छन्’ भन्ने नै हो। 

अलंकारै कारण उनका रचनाहरू बोधगम्य बनेका छन् भने रस–ध्वनि आदिको अभिव्यक्तिका सन्दर्भमा तिनै अलंकारहरू निकै उपयोगी सिद्ध भएका छन्। यसर्थ, राष्ट्रकवि माधव घिमिरे संस्कृतको कालीदासीय परम्पराबाट प्रभावित नेपाली साहित्यका कुशल स्रष्टा मात्र होइनन्, आफ्ना काव्यहरूमा अतिशयोक्ति अलंकारका सर्वोत्कृष्ट प्रयोक्ता पनि हुन्। आलंकारिक चेतकै कारण पनि उनी अमर साहित्यकार बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.