सामाजिक सञ्जालमा सूचनाको बाढी
सूचनाको बाढीबाट दिग्भ्रमित हुनबाट जोगिन सूचनाको उत्खनन्, संकलन, प्रशोधन र वितरणमा नागरिक सहभागिता अनिवार्य छ
सामाजिक सञ्जालमा सूचना आइरहेकै हुन्छन्। तिनै विषयमा हरेक दिन पक्ष तथा विपक्षका समाचार पनि आइरहेको हुन्छ। एकातिर सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई ज्ञानको भण्डार मान्न सकिन्छ भने अर्कोतिर समाजलाई दिग्भ्रमित पार्ने साधन बन्ने खतरा छ। सूचना छनोट गर्ने अधिकार सबै नागरिकमा छ। फेसबुक, ट्विटर, युटयुब आदि सामाजिक सञ्जाल हुन्। यसमा राजनीतिक दलका नेता, सांसद, उच्चपदस्थ कर्मचारी, समाजका अगुवा र आमनागरिक जो कोहीले आफूले सुनेका र थाहा पाएका सूचना पोष्ट गर्न सक्छन्। त्यस्ता सूचना सही वा गलत दुवै हुन सक्छन्।
सामाजिक सञ्जालमा सत्य र तथ्यपरक समाचार पनि प्रवाह भइरहेका हुन्छन्। सञ्जालमा पहिरो थुप्रिएझैं सूचना थुप्रिन्छन् र बाढीझैं बग्न थाल्छन्। पहिरो र बाढीमा सफा र फोहोर दुवै प्रकृतिका वस्तु थुप्रिन्छन् र वेगवान् भएर बग्न थाल्छन्। थुप्रिएका र बग्न थालेका सूचना क्षणभरमा संसारभर फैलिन्छन्। यसको थुप्रोले नागरिकलाई पुरिदिन र बाढीले बगाइदिन सक्छ। यसमा धेरै समय बिताउनु घातक हुनसक्छ। गलत र अफवाहपूर्ण सूचनाले पुरिँदा र बगाउँदा नागरिकलाई दिग्भ्रमित तुल्याइदिन्छ। त्यस्ता सूचना सेयर गर्दा आफू पनि अरूलाई दिग्भ्रमित गराउने अभियानमा सहभागी भएको ठहर्छ।
बाढीले लामो दूरी पार गर्ने क्रममा फोहोरहरू छोड्दै जान्छ। फोहोर थेग्रिएर पानी सफा भएजस्तै सूचना पनि सामाजिक सञ्जालमा थेग्रिँदै र छलफल तथा बहस हुँदै अगाडि जान्छ। एउटा चरणमा पुग्दा सत्य र तथ्य सूचना पाउने अवस्था आउन सक्छ। यो नियमित प्रक्रियाबाट प्राप्त हुने सूचना हो। यसका लागि हप्ता, महिना र वर्ष लाग्न सक्छ। आपत्–विपद्को बेला गलत सूचनाको प्रवाह सामान्य अवस्थाको भन्दा बढी घातक हुन्छ। त्यस्तो बेला गलत सूचना विष सावित भइदिन्छन्।
सत्य सूचना पाउने प्यास
आपत्–विपद् र उतारचढावपूर्ण राजनीतिक र आर्थिक घटनाक्रम भइरहँदा जुनसुकै समाजमा समाचारको खोजी बढी हुन्छ र यसका उपभोक्ता बढी हुन्छन्। यस्तो अवस्थामा सहज र सही सूचना मात्रै प्रवाह हुँदैनन् यसमा स्वार्थ समूह पनि हुन्छन्। ती स्वार्थ समूहमा रहनेले पनि सूचना प्रवाह गराउँछन्। ती सूचना सत्य नहुन पनि सक्छन् तर तथ्य तथ्यांक ती सूचनामा समावेश गरिएका हुन सक्छन्। आमनागरिकलाई कुन गलत र कुन सही सूचना हो भन्ने थाहा हुँदैन।
आपत्–विपद्का बेला सूचनालाई सत्य र तथ्यमा प्रमाणीकरण गरी तयार गरिएका समाचारले औषधिकै काम गर्छन्। त्यस्तो बेला सत्य समाचार पाउँदा प्यास मेटिँदाको आनन्दानुभूति गर्न सक्छन्। कहिले त्यो समाचारको सन्देशले दुःखी बनाउन पनि सक्छ। सूचनाका उपभोक्ताका लागि त्यो खुसी दिन सक्ने पत्रकार र उत्तरदायी सञ्चारमाध्यम हुन्।
जवाफदेही पत्रकारिताको महत्व
सामाजिक सञ्जालमा पोष्ट भएका सूचना पत्रकारले लिन सक्छन्। ती सूचनालाई प्रमाणित गराएर मात्र समाचार बनाउने दायित्व पत्रकारमा हुन्छ। समाचार कक्षमा सही सूचना मात्रै पुग्दैनन् त्यहाँ पुगेका सबै सूचना प्रमाणीकरण नहुँदासम्म समाचारका रूपमा तयार गर्न योग्य हुँदैनन्। आपत्–विपद्का बेला सही सूचना औषधि जस्तै भइदिन्छन्। त्यसैले जवाफदेही पत्रकारिताको महत्व यस्तो बेला बढी हुन्छ। सत्य र तथ्य जाँच गरिएका सूचना समेटिएका समाचार पत्रकारितामार्फत प्रवाह हुन्छ। पत्रकार आचारसंहिता पालना गरी तयार गरिएका, विभिन्न स्रोतबाट परीक्षण गरिएका र वैधानिक सञ्चारमाध्यम रेडियो, टेलिभिजन, अनलाइन, पत्रिकाबाट प्रवाह हुने सूचना मात्रै समाचार हुन्।
ती सञ्चारमाध्यम जवाफदेही हुन्छन् जसमा समाचारमूलक सामग्री तयार गर्ने दक्ष पत्रकार हुन्छन्। सञ्चारमाध्यम र पत्रकारले सधै पाठक, स्रोता र दर्शकसमक्ष परीक्षा दिइरहेका हुन्छ। पत्रकार र सञ्चारमाध्यमले हरेक क्षण र दिन परीक्षामा उतीर्ण हुन जरुरी हुन्छ। हप्ता, महिना र वर्षपछि थाहा हुने सूचनालाई केही घण्टा र केही दिनभित्रै प्रमाणीकरण गरी समाचार बनाउने सीप र कला पत्रकारमा हुन्छ। त्यसैले पत्रकारले लेखेका समाचार फोहोर मिसिएको पानीजस्तो धमिलो हुँदैन। सफा र कञ्चन पानीजस्तै सन्तुलित र प्रष्ट बुझिने हुन्छ। सफा पानी पिउँदा स्वास्थ्यका लागि हितकर भए जस्तै सन्तुलित र सत्य समाचार ग्रहण गर्दा ज्ञान आर्जन हुन्छ। सूचनाको बाढी आउने बेलामा जवाफदेही पत्रकारिताको महत्व भने बढ्दै गएको हुन्छ।
विश्वसनीयता पत्रकारिताको सम्पत्ति
पत्रकार र सञ्चारमाध्यमको सबैभन्दा ठूलो सम्पत्ति विश्वसनीयता हो। विश्वसनीयता गुमाउने पत्रकार र सञ्चारमाध्यमले दिने समाचार र समाचारमूलक सामग्री पढ्ने, सुन्ने र हेर्ने पाठक, स्रोता र दर्शक घट्दै जान्छन्। सञ्चारमाध्यम र पत्रकार अहिले दोहोरो निगरानीमा हुन्छन्। सञ्चारमाध्यमलाई जवाफदेही बनाउन राज्यका निकायभन्दा शक्तिशाली पाठक, स्रोता र दर्शक सामाजिक सञ्जालमा सक्रिय हुन्छन्। आफ्नो विश्वसनीयता जोगाइराख्न पत्रकार र सञ्चारमाध्यमले सूचनालाई प्रमाणीकरण गरेर मात्रै प्रकाशन तथा प्रसारणमा लैजान्छन्।
सामाजिक सञ्जालमा सक्रिय नागरिक गलत समाचार र समाचारमूलक सामग्री प्रवाह गर्ने पत्रकार र सञ्चारमाध्यमलाई उठ्न नसक्ने गरी बसाल्ने हैसियत राख्छ। सचेत र जागरुक नागरिकले तत्कालै त्यो सूचना सत्य तथ्य हो होइन भनी प्रमाणीकरण गरेर सामाजिक सञ्जालमा पोष्ट गर्न सक्ने क्षमता राख्छन्। गलत सूचना प्रयोग गरी लेखिएका समाचार लेख्दाको परिणामस्वरूप पत्रकार र सञ्चारमाध्यमले भोग्ने त्योभन्दा ठूलो सजाय के हुनसक्छ ? त्यसैले पत्रकार र सञ्चारमाध्यम पहिलेभन्दा अहिले बढी जिम्मेवार बन्नुपर्ने अवस्था छ।
सञ्चार साक्षरता
कुन समाचार अध्ययन गर्ने, कुन समाचार अध्ययन नगर्ने भन्ने निर्धारण गर्ने ज्ञान र सीप अब नागरिक तहमा हुन आवश्यक छ। त्यसका लागि नागरिकमा पनि सञ्चारमाध्यमको साक्षरता चाहिन्छ। त्यो साक्षरता भनेको समाचार प्रकाशन तथा प्रसारण गराउने सञ्चारमाध्यम, समाचारमूलक सामग्री तयार गर्ने पत्रकारको विश्वसनीयता, समाचारमा प्रयोग भएका स्रोत, सञ्चारमाध्यम र पत्रकारको जवाफदेहिताको इतिहास आमनागरिकले थाहा पाउन आवश्यक हुन्छ। त्यसो हुँदा जुन सञ्चारमाध्यम र पत्रकारप्रति आफ्नो विश्वास छ, त्यही सञ्चारमाध्यमले प्रकाशन तथा प्रसारण गरेका र त्यही पत्रकारले लेखेका समाचारमूलक सामग्री पढ्ने, सुन्ने र हेर्ने गर्दा आमनागरिक दिग्भ्रमित हुनु पर्दैन। विश्वसनीय र जवाफदेही सञ्चारमाध्यम र पत्रकारले लेखेका समाचार सही हुन्छन्। त्यसैले पाठक, स्रोता र दर्शकले समाचार पढ्न, हेर्न र सुन्न चलाखीपूर्ण कला प्रदर्शन गर्नुपर्ने हुन्छ।
पत्रकारितामा नागरिक सहभागिता
अब नागरिक, पत्रकार र सञ्चारमाध्यम एकअर्काका परिपूरक भएर अगाडि बढ्न सक्छन्। एकले अर्कोलाई निगरानीमा राख्न सक्छन्। सञ्चारमाध्यमलाई निजीबाट सार्वजनिक निकायमा लैजाने प्रक्रियाको सुरुआत भइसकेको छ। त्यो भनेको सञ्चारमाध्यममा आमनागरिकको सहभागिता बढाउन खोजिएको हो। त्यो सञ्चारमाध्यमको नीति निर्माणमा आमनागरिकको पनि सहभागिता सुनिश्चित गर्दै लैजानुपर्ने हुन्छ। आमनागरिकको सहभागिताबिना अब सञ्चारमाध्यमलाई जोगाउन सजिलो छैन। त्यसैले अब सञ्चारमाध्यम व्यक्तिले होइन, समूहले सञ्चालन गर्नुपर्छ। त्यसो गर्दा सञ्चारमाध्यमको निष्पक्ष हुन्छ। सूचनाको बाढीबाट जोगिन अब आमनागरिकको लगानी, सत्य सूचना खोज्न, वितरण गर्न र उपभोगमा सहभागिता अनिवार्य बन्दै गएको छ। सूचनाका उपभोक्तालाई दिग्भ्रमित हुनबाट जोगाउन, सञ्चारमाध्यमको आर्थिक अवस्थालाई सुदृढ गर्न, पत्रकारलाई श्रम ऐनअनुसार गुणस्तरीय पारिश्रमिक उपलब्ध गराउन, पत्रकारको सामाजिक सुरक्षा गर्न र आमनागरिकले गुणस्तरीय सूचना प्राप्त गर्न सञ्चारमाध्यममा नागरिकको सक्रिय सहभागिता चाहिन्छ।
दिगो विकासका लागि दिगो सोच
पत्रकार र सञ्चारमाध्यमको दिगो विकासका लागि दिगो सोचसहितको योजना चाहिन्छ। दिगो सोचबिना अगाडि बढेका पत्रकार र सञ्चारमाध्यम दिगो हुन सक्दैनन्। क्षणिक लाभ प्राप्तिका लागि पत्रकारिता पेशामा आएका र सञ्चालनमा रहेका सञ्चारमाध्यमले बिश्वसनीयता आर्जन गर्न सक्दैनन्। त्यसैले पत्रकारितालाई दिगो बनाउन सत्य र गुणस्तरीय समाचारका लागि बढी लगानी हुनुपर्छ। पत्रिका छाप्ने, रेडियो, टेलिभिजन र अनलाइन सञ्चालन गर्न पैसा हुने तर त्यो पत्रिका र अनलाइनमा छापिने अनि रेडियो र टेलिभिजनमा प्रसारण हुने सामग्री तयार गर्ने पत्रकार र प्राविधिकलाई दिने पैसा नहुने प्रवृत्तिले दिगो पत्रकारिता हुन सक्दैन। त्यस्तो सञ्चारमाध्यमले त्यतिबेला आम्दानी गर्न सक्छ, जतिबेला त्यो सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने सामग्री गुणस्तरीय हुन्छ। जुन सञ्चारमाध्यमले गुणस्तरीय समाचार सामग्रीलाई प्रसारण तथा प्रकाशन गराउँछ, त्यही सञ्चारमाध्यमले धेरै पाठक, स्रोता र दर्शक पाउँछ। जुन सञ्चारमाध्यममा पाठक, स्रोता र दर्शक धेरै हुन्छन्, विज्ञापन पनि त्यही बढी हुन्छ।
निष्कर्ष
नेपालका सञ्चारमाध्यमले मानवस्रोतलाई दक्ष बनाउन लगानी गरेको पाइँदैन। त्यो महत्वपूर्ण पाटोमा नेपालका सञ्चारमाध्यम चुकिरहेका छन्। मानवस्रोतमा लगानी गर्ने र त्यसलाई टिकाउने वातावरण बनाउन सञ्चारमाध्यमको योगदान हुनुपर्छ। एकातिर मानवस्रोतमा लगानी बढाउनुपर्ने आवश्यकता छ भने अर्कोतिर आम्दानीमा विविधता खोज्नुपर्ने चुनौती नेपालका सञ्चारमाध्यमलाई छ। त्यसैले गुणस्तरीय सूचना प्राप्त गर्न र सूचनाको बाढीबाट दिग्भ्रमित हुनबाट जोगिन सूचनाको उत्खनन्, संकलन, प्रशोधन र वितरणमा नागरिक सहभागिता अनिवार्य बन्दै गएको छ।