युद्धभूमिबाट मातृभूमि टेक्दा...

युद्धभूमिबाट मातृभूमि टेक्दा...

काठमाडौं : ओखलढुंगाका ५० वर्षीय भीममणि राई ६ वर्षअघि अफगानिस्तान पुगेका थिए। त्यहाँको सत्ता तालिबानले कब्जा गरेपछि उनी मंगलबार बिहान नेपाल फर्किएका छन्। अमेरिकाले काबुलस्थित आफ्नो दूतावासमा कार्यरत १ सय २७ जनालाई उद्धार गर्दा भीममणि पनि परेका हुन्। जसमा १ सय १८ नेपाली र ९ भारतीय छन्। 

‘अफगानिस्तानको अवस्था नाजुक छ’, उनले भने, ‘थुपै्र नेपाली अलपत्र अवस्थामा छन्। छिटो उद्धार गर्नुपर्छ।’ उनी दूतावासमा सुरक्षागार्ड थिए। उनका अनुसार काबुलमा कहाँ के भइरहेको छ केही थाहा हुँदैन। ‘कति बेला के हुन्छ, त्रास भइरहन्छ’, उनले भने, ‘जहाँ पायो त्यहीँ फायरिङ भइरहेको हुन्छ। नेपालीहरू आतंकित छन्। 

हामी त आयौं, अरू थुप्रै नेपाली उतै अड्केर बस्नुभएको छ।’ 

तालिबानले ७२ घण्टामा काबुल छाड्न दबाब दिएपछि अमेरिकाले उद्धार गरेका नेपाली र भारतीयलाई कतारको दोहाबाट कुवेत हुँदै नेपाल ल्याइएको हो। अमेरिकी दूतावासमा कार्यरत नेपाली स्वदेश फर्कन पाए पनि अरू मुलुकका दूतावासलगायत क्षेत्रमा रहेका कामदारको अवस्था बेहाल छ। ‘धूवाँको मुस्लो देखिन्थ्यो। गोलीको आवाज सुनिन्थ्यो। तर, कहाँ के भइरहेको थाहा हुँदैनथ्यो’, उनले भने। उनी तत्काल अफगानिस्तान जाने योजनामा छैनन्। ‘अहिले जागिरको कुरा नगरौं। असहज परिस्थिति भएका कारण सकुशल फर्किन पाएकोमा खुसी लागेको छ’, उनले भने। 

अफगानिस्तानबाट उद्धार गरी ल्याइएका नेपालीहरू मंगलबार त्रिभुवन विमानस्थलमा । तस्बिर : दीपेन श्रेष्ठ

सत्ता तालिबानको कब्जामा गइसकेकाले पुराना मान्छेले ठाउँ पाउने नपाउने अन्योल रहेको उनले सुनाए। ‘समयअनुसार चल्नुपर्छ, जागिरभन्दा ज्यान प्यारो छ’, उनले भने।  उनले अफगानिस्तान जानुअघि सेनामा १८ वर्ष काम गरेका थिए। सशस्त्र द्वन्द्वको स्मरण गर्दै उनले भने, ‘यहाँ त भाइचाराको सम्बन्ध हुन्थ्यो। तर, त्यहाँ भाइचारा, मानवता भन्ने हुँदैन।’ त्रासकैबीच काम गर्नुपर्ने बाध्यता भए पनि उद्धारपछि राहत महसुस भएको उनले सुनाए। 

१ सय २७ जनाकै टोलीमा परी सुनसरी धरानका प्रकाश राई घर फर्किएका छन्। उद्धारपछि स्वदेश आउन पाएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘हामी त आयौं तर त्यहाँ भएका धेरै नेपाली असुरक्षित छन्।’ उद्धारका लागि सरकारले तत्काल सोच्नुपर्ने उनले बताए। ‘नेपालीहरू उद्धार पर्खिरहेका छन्, चाँडोभन्दा चाँडो नेपाल फिर्ता ल्याउनुपर्छ’, उनले भने। 

पोखराका रमेश गुरुङले काबुलमा रहेका अरू नेपालीलाई छिटो उद्धार गरिनुपर्ने बताए। अमेरिका शक्तिशाली देश भएकाले आफू तत्काल नेपाल फर्किन पाएको उनको भनाइ छ।

कृष्ण न्यौपानेसहित १ सय ५० जनाको टोली भने दुबई ट्रान्जिट हुँदै लन्डन उडेका छन्। जसमा नेपाली, जर्मन र क्यानडाका नागरिक रहेका न्यौपानेले अन्नपूर्ण पोस्ट्सित बताए। 

मंगलबार उद्धार गरी काठमाडौं ल्याइएका कामदारलाई विमानस्थलबाट सामाखुसीस्थित आइसोलेसन सेन्टरमा लगेर पीसीआर परीक्षण गराइएको थियो। नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौड्यालका अनुसार पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट देखिएकाहरू घर गएका छन्। पोजिटिभ देखिएका एक जनालाई आइसोलेसनमा राखिएको छ। उनको कन्ट्याक ट्रेसिङमा रहेकालाई आइसोलेसनमा राखिने प्रवक्ता पौड्यालले बताए। 

अफगानिस्तानस्थित विभिन्न नियोगमा १ हजार ५ सय नेपाली कार्यरत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। तर, औपचारिक तथा अनौपचारिक रूपमा अफगानिस्तान पुग्ने नेपाली थुप्रै छन्। 

वैदेशिक रोजगार विभागका अनुसार वर्षमा १ हजारभन्दा बढी नेपाली अफगानिस्तान गएका छन्। 

उद्धार गरी ल्याइएका कामदारलाई विमानस्थलमा स्वागत गर्दै अमेरिकी राजदूत ¥यान्डी बेरी । तस्बिर : राजदूत बेरीको फेसबुकबाट

परराष्ट्रकी प्रवक्ता सेवा लम्सालले अफगानिस्तानमा फसेका नेपालीको उद्धार कार्य सुरु भएको बताइन्। ‘हामीले विभिन्न मुलुकका दूतावासहरूलाई अनुरोध गरेका थियौं। केहीले पठाउन सुरु गर्नुभएको छ’, प्रवक्ता लम्सालले भनिन्। 

परराष्ट्रले कार्यदल गठन गरी उद्धारका लागि संख्या यकिन गर्न अनलाइनबाट फारम भराउन सुरु गरेको छ। मंगलबार दिउँसोसम्म २ सय २८ जनाले घर फर्किन फारम भरेका छन्। ‘कार्यदलले गृहकार्य गरिरहेको छ’, उनले भनिन्, ‘तथ्यांक संकलन भएपछि उद्धार गर्न सहज हुनेछ।’ केही नेपालीलाई उद्धार गरी लन्डनसमेत लगिएको अनौपचारिक जानकारी आएको उनले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.