फोहोर बेलैमा नउठाउने हो भने काठमाडौंमा हैंजा फैलन सक्छ

फोहोर बेलैमा नउठाउने हो भने काठमाडौंमा हैंजा फैलन सक्छ

काठमाडौं : दैनिक १२ सय टन फोहोर काठमाडौंबाट सिसडोल पुग्थ्यो। तर, ती  अहिले सडकमै छन्। फोहोरले पानीका स्रोत दूषित बनाउने गर्छ। फोहोरले पानीजन्य रोग बढ्नुका साथै उपत्यकामा हैंजासमेत फैलन सक्ने देखिएको छ। यसप्रति बेलैमा सचेत रहन विज्ञहरूले सुझाएका छन्।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वातावरण विभागकी प्रमुख रेजिना मास्केका अनुसार उपत्यकामा पानीको सप्लाइ जमिनमुनिबाट हुन्छ। त्यसैले हामीले प्रयोग गर्ने स्रोतहरू फोहोरका कारण दूषित हुन सक्छन्। फोहोरबाट लिचेड निस्कन्छ। लिचेडले जमिनभित्रका पानीका स्रोत बिगार्ने उनले बताइन्।

‘फोहोर बेलैमा नउठाउने हो भने काठमाडौंमा हैंजा फैलन सक्छ,’ मास्केले भनिन्, ‘घाम लाग्दा तापक्रम बढ्छ र हैजाको किटाणु अझै छिटो फैलन्छ। पानी पर्दा पनि किटाणु मिसिएर बग्छ।’ उनका अनुसार फोहोरको थुप्रो वरिपरि बस्नेको स्वास्थ्यमा नकारात्मक असर पर्छ। ‘फोहोरको व्यवस्थित विसर्जन आवश्यक छ,’ मास्के भन्छिन्। फोहोरलाई माटोमा मिसाएर मल बनाउन सकिने उनको सुझाव छ।

उनले ‘ल्यान्डफिल्ड साइट’मा मिसाएर फोहोर लैजानु सबैभन्दा खतरनाक भएको बताइन्। सबै फोहोर एकै ठाउँ मिसाएर फालेकाले ल्यान्डफिल छिट्टै भरिएको उनको दाबी छ। फोहोर छुट्याइएन भने बन्चरेडाँडामा पनि त्यही समस्या आउने उनको भनाइ छ।

स्थानीय सरकारले कडा नियम लागू गरी फोहोर व्यवस्थापन गर्न सक्ने सुझाइन्। उनले भनिन्, ‘हामीले फाल्ने ९० प्रतिशत फोहोरबाट मल बनाउन तथा रिसाइकल  गर्न सक्छौं।’ त्यसैले दण्ड÷सजाय  गराएर भए पनि फोहोर छुट्याएर फाल्ने हो भने काठमाडौंको समस्या घट्न सक्ने उनको भनाइ छ।

त्यस्तै, फोहोरका कारण स्थानीयको मृत्यु हुन थालेपछि विरोधमा उत्रिएको ककनी गाउँपालिका–१ का अध्यक्ष चन्द्रकुमार श्रेष्ठ बलामीले बताए। उनका अनुसार ७० वर्षीया पुतली बलामीको हैंजाका कारण भाद्र ६ गते मृत्यु भयो। त्यस्तै, अर्की  ५५ वर्षीया महिला र दुई जना ११ वर्ष उमेरका बच्चाहरू बिरामी भएर काठमाडौंमा उपचाररत  छन्।

बलामीका अनुसार सिसडोलमा ल्यान्डफिल्ड साइटको सडकमुनि पानीको ट्यांकी छ। त्यहाँ पुरानो बस्ती पनि छ। ट्यांकी पनि त्यही बेलादेखि नै छन्। ३५ घरपरिवारले पानीको सोही स्रोत प्रयोग गर्छन्।

पुतली बलामीलाई हैजा प्रमाणित भएपछि स्थानीयहरू सडकमा उत्रिन बाध्य भएको बलामीको भनाइ छ। बलामीले भने, ‘राज्यले १६ वर्षदेखि हामीमाथि ज्यादती गर्दै आएको छ। उनीहरूको अराजक गतिविधि रोक्न विरोध थालेका छौं।’

आइतबार काठमाडौं महानगरपालिकालाई भेट्न उनको कार्यालयमा गए पनि उनी वार्तामा बस्न नचाहेकोमा गुनासो गरे। कार्यकारी प्रमुखलाई स्थानीयलाई भविष्यमा यस्ता समस्या नदोहोरिउन भनेर औषधी छर्कनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति पाउनुपर्नेलगायतका माग राखेको  बताए। उनले भने, ‘महानगर क्षतिपूर्तिको विषयमा सकारात्मक छैन।’

उनका अनुसार फोहोर भरिएका गाडी १६ वर्षदेखि लामबद्ध भएर सडकमा बस्थे। ती हप्तौंसम्म सडकमा रहँदा बस्तीमा, पानीमा, खेतबारीमा लिचेड गएको, दुर्गन्धले समस्या परेको बताए ।  बस्तीको बीचबाट फोहोरका गाडी हिँड्छन्। तिनले आधा फोहोर सडकमै खासाल्दा झनै समस्या थपिएको बताए।  उनले भने ‘एक दिन पानी पर्दा सात दिन गाडी आउँदैन। हजारौं बस्तीको अगाडि यस्ता फोहोरको गाडी राख्नु हुँदैन भन्ने जनताको माग हो।’

स्थानीय तहसँग कुनै समन्वय नभएको उनले दाबी गरे। काठमाडौं महानगरपालिकाले सिसडोलमा दैनिक डेढ सय सवारी फोहोर लिएर जाने गरेको बताइए पनि दैनिक पाँच सय गाडी त्यहाँ पुग्ने गरेको उनले जानकारी दिए। प्रत्येक गाडीबाट कम्तीमा तीन सय ५० का दरले कर लिए पनि त्यो रकम कसले लैजान्छ जानकारीमा नआएको आरोप लगाए। ‘हामीले सिस्टम र नियममा लैजान खोजेको हो तर राजनितीले थिचिरहेको छ,’ उनले भने। उनका अनुसार फोहोरकै कारण गाउँमा कम्तीमा ३० प्रतिशत मानिस  क्यान्सरबाट पीडित छन्।

काठमाडौं महानगरपालिकाका वातावरण तथा कृषि विभागका प्रमुख हरिकृष्ण श्रेष्ठले महानगरले काम गरिरहेको भए पनि ‘गर्दै गरेन’ भन्ने आक्षेप आएको गुनासो गरे। उनका अनुसार सहरी विकास मन्त्रालयले ल्यान्डफिल साइटको व्यवस्थापन गर्ने, सडक विभागले सडक बनाउने र महानगरले फोहोर व्यवस्थापन गर्ने भन्ने थियो। गत वर्ष नै फोहोर राख्ने ठाउँ छैन भन्ने जानकारी मन्त्रालयलाई गराइए पनि यो वर्षसम्म त्यहीँ व्यवस्थापन गरिदिन समय दिएको हो।

सिसडोलबाट नजिकै रहेको बन्चरेडाँडामा फोहोर जान्छ भन्ने थियो। त्यहाँ जान नसक्दा यो समस्या निम्तिएको श्रेष्ठले स्वीकारे। उनले भने ‘डेढ सय मध्ये दैनिक ५० वटा जति फोहोरको गाडी अझै पनि गइरहेका छन्। सय  गाडी काठमाडौंमा होल्डिङमा छन्।’ तर जुन रफ्तारमा जानुपर्ने थियो। त्यसरी गएको छैन।

अहिले फोहोर थुपारिएको ठाउँमा बाटो बनेको छ। फोहोरमाथि ग्राभेलसमेत भएको थियो। फोहोर भरिएका गाडी जाँदा सडक भासिएको छ। त्यसैले फोहोरका गाडी धेरै दिनदेखि सडकमै थन्किएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.