सन्तानभन्दा प्यारो आश्रम
आज कुशे औंसी । यस दिनलाई हिन्दू धर्मावलम्बीहरूले विशेष दिनका रूपमा लिने गर्छन् । आजको दिनलाई बुवाको मुख हेर्ने र पितालाई सम्मान गरी यो पर्व मनाउने उनीहरूमा प्रचलन छ ।
‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ ।
तर वृद्धावस्थामा छोराछोरीको माया ममता अनि आड भरोसा हुनुपर्नेमा कतिपयको भने त्यो भरोसा टुटेर सन्तानसुखबाट बञ्चित हुनु परेको छ। गुरुप्रसाद पौडेलले पनि यस्तो सुखानुभूतिबाट बञ्चित हुनुपरेको छ।
धनकुटा : उमेरले ८२ वर्ष पुगेका छन्, गुरुप्रसाद पौडेल। चार सन्तानका बुवा हुन्,उनी। तर, उनका लागि अहिले आफ्नो सन्तानभन्दा प्यारो बनेको छ, मुलघाटस्थित विश्रान्ति वृद्धाश्रम।
पौडेलको पुख्र्यौंली घर छथरजोरपाटी–२ सल्ले हो। पछि धनकुटा–२ भीरगाउँ बसाइसरी आएका हुन्। उनका २ छोरा र २ छोरी छन्। कान्छो छोरा रोजगारीका सिलसिलामा विदेश छन् भने जेठो छोरा भीरगाउँमै छन्। दुई छोरीको विवाह भइसकेको छ।
गाउँमा बस्न चाहना हुँदाहुँदै पनि विश्रामसम्म आउनुपरेको उनी बताउँछन्। ‘अहिले पनि भीरगाउँमा मेरो नाममा ५ रोपनी जग्गा छ। यता आउनु पर्दा गाउँकै मान्छेलाई कमाइ खाउ भनेर छोडेर आएको छु,’ उनले भने, ‘खान दिन छाडेपछि मेरो बिजोग देख्न नसकेर भतिजले आश्रममा ल्याइदियो।’ जेठी छोरीले उनलाई आफ्नै घरमा लगेकी थिइन्। छोरीको ठूलो परिवारमा बस्न मन लागेन र केही महिनापछि उनी फर्किए।
भीरगाउँ रहँदा उनीसँग जेठो छोरा छुट्टिएका थिए। कान्छो छोरा पनि बिहे गरेपछि छुट्टिए। पछि विदेश गए। छोरा÷बुहारीसँग बस्दा मन मिलेन। मनमुटाव भएपछि यहाँ आइपुगे। आश्रमको बसाइ घर जस्तो लाग्ने उनको भनाइ छ। ‘घरपरिवारसँगै भए जस्तो त कहाँ हुन्छ र ? तैपनि यहाँ मजस्तै धेरै साथी÷संगिनी छन्। उनीहरू पनि मजस्तै त होलान् भनि चित्त बुझाउँछु।’ अहिलेसम्म छोराबुहारी कोही पनि उनलाई भेट्न आएका छैनन्। ‘यहाँ आउनेले सन्चो÷बिसन्चो के छ ?, खाना खाए÷नखाएको सोधीखोजी गर्दा आफ्नो सन्तानको याद आउँदो रहेछ।’ छोराछोरी सम्झेर घरिघरि उनको आँखा रसाउँछ। अबको बाँकी जिन्दगी आश्रममै बिताउने उनी बताउँछन्। उनलाई घर जान मन छैन। उनी प्राय सधै सबेरै उठ्छन्। धर्मकर्ममा धेरै चासो राख्छन्। बिहानको नित्यकर्मपछि नजिकै रहेको विश्रान्ति मन्दिरमा गई पूजाआजा गर्छन्। भजनकिर्तन्मा सहभागी हुन्छन्। दिउँसो आश्रमको अन्य काममा सघाउँछन्।
७५ वर्षीया जीवन संगिनी लिलाकुमारी पौडेलले पनि आफूजस्तै दुःख नपाउन् भनि सँगै ल्याएका छन्। ‘यहाँ आउनुभन्दा अघि हिँड्डुल गर्न सक्दिन थिइन्। अहिले अलि अलि मन्दिर सम्म हिँडडुल गर्न सक्ने भएकी छिन्,’ उनले भने। पौडल दम्पतीको हेरचाह बेलाबखत भतिज विष्णु पौडेलले गर्दै आइरहेका छन्। उनले पाउने सामाजिक सुरक्षा भत्ता भजितले नै थापेर ल्याइदिन्छन्।
प्रतिक्रिया दिनुहोस !