नाम्खा अध्ययनमा सेनालाई सरकारको बेवास्ता, जंगी अड्डा बेखवर

नाम्खा अध्ययनमा सेनालाई सरकारको बेवास्ता, जंगी अड्डा बेखवर

काठमाडौँ: सरकारले चीनसँगको सीमा विवाद अध्ययन गर्न बनाएको समितिमा नेपाली सेनाको भूमिकालाई बेवास्ता गरेको छ । गत साता मन्त्रिपरिषद् बैठकले हुम्लाको नाम्खा स्थित लिमी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रमा चिनियाँ पक्षले नेपाली भूमि अतिक्रमण गरेको भन्दै त्यसको छानविन गर्न बनाएको अध्ययन समितिमा सेना समेटिएको छैन ।

मन्त्रिपरिषद्को निर्णय बमोजिम गृह मन्त्रालयले सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा अध्ययन समिति बनाएको छ । गृहले अध्ययन समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सीमा विज्ञलाई सहभागी गराएको छ । तर उक्त अध्ययन समितिमा सेनालाई सहभागी गराएको छैन । जवकि सेनाले २०७७ साउनमा सीमा अनुगमन, व्यवस्थापन तथा रक्षाका लागि छुट्टै निर्देशनालय गठन गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले  २०७७ साउन ५ गते सेनालाई सीमा अध्ययन गर्न छुट्टै निर्देशनालय बनाउन स्वीकृत दिएको थियो । उक्त निर्देशनालयको कार्यदेश नै सीमा सम्बन्धी संवेदनशील विषयमा सरकारलाई सुझाव दिनु हो । निर्देशनालयको सीमा सम्बन्धी अध्ययन गर्न बेग्लै कार्याविधि छ । वार्ता तथा सीमा अनुगमन र निरीक्षणका लागि गठन गरिने प्रत्येक संयन्त्रहरूमा नेपाली सेनाको अनिवार्य प्रतिनिधित्व हुने कार्यविधिमा उल्लयेख छ ।

सीमा अध्ययन गर्न बनेको समितिमा आफ्नो सहभागिता र भूमिका नदेखेपछि सैनिक नेतृत्व असन्तुष्ट बनेको स्रोतले बताएको छ । वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले सीमा सम्बन्धी अध्ययन गर्ने क्रममा सेनालाई बाहिर राख्न नहुने बताए । अधिकारीले अन्नपुर्णसँग भने, ‘सीमा सम्बन्धी अध्ययन गर्न छुट्टै निर्देशनालय स्थापना भएको अवस्थामा सेनालाई बाहिर राखेर बनाएको अध्ययन समिति र त्यसले ल्याउने निचोड अपुरो हुन्छ ।’

सरकारले अध्ययन समिति बनाउने निर्णय गर्दा सेनासँग परामर्श समेत गरेन । नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी सुरेश शर्माले सीमा अध्ययन समितिमा सेनाका प्रतिनिधि राख्नु वान्छनीय हुने बताए । शर्माले अन्नपुर्णसँग भने, ‘सेनालाई सहभागी नगराउँदा सीमा अध्ययन नै अपुरो हुन्छ ।’  राजनीतिक बाहेकका सीमा लगायत मुलुकको स्वाधिनता र अखण्डतासँग प्रत्यक्ष जोडिएका विषयवस्तुको अध्ययन गर्न बन्ने समितिमा सेनालाई अनिवार्य सहभागी गराउनु पर्ने विज्ञहरुको राय छ ।

अघिल्लो सरकारका पालमा समेत हुम्लाको नाम्खास्थित लिमी लाप्चादेखि हिल्साको सीमा क्षेत्रमा चिनियाँ पक्षले नेपाली भूमि अतिक्रमण गरेको समाचार सार्वजनिक भएपछि अध्ययन समिति बनाएको थियो । उक्त अध्ययन समितिको प्रतिवेदन सार्वजनिक नभए पनि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले नेपाल र चीनबीच सीमा विवाद नरहेको स्पष्ट पारेको थियो । तात्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै नेपाल र चीनबीच कुनै पनि क्षेत्रमा सीमा विवाद नरहेको बताएका थिए । उक्त विज्ञप्ति सार्वजनिक गर्नुअघि तत्कालीन प्रधानमन्त्री ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापासँग समेत छलफल गरेका थिए ।

त्यसअघि नै तत्कालीन प्रधानमन्त्री ओलीलाई प्रधासेनापति थापाले समेत हुम्लामा नेपाल र चीनबीच कुनै सीमा विवाद नरहेको ब्रिफ्रिङ गरेका थिए । नेपालस्थित चिनियाँ दूतावासले समेत नेपाल र चीनबीच कुनै पनि सीमा विवाद नरहेको प्रतिक्रिया दिइसकेको छ ।

निर्देशनालय बनेपछि नेपाली सेनाले भारत र चीनसँगका विभिन्न स्थानमा देखिएका सीमा विवादबारे गहकिलो अध्ययन सुरु गरेको छ । उसले भारत र चीनसँगका सीमा विवाद बारेमा फरक फरक प्रकृतिको दस्तावेज बनाएको छ । भारतसँग कालापानी विवाद निस्कदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई बोलाएर पटक पटक छलफल गरेका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्री छँदा ओलीले प्रधानसेनापति थापासँग भारत र चीनसँगको सीमा विवादका बारेमा नियमित ब्रिफिङ लिने गरेका थिए । निर्देशनालयले सीमा अनुगमन तथा समन्वय र सन्धिसम्झौता अध्ययन तथा अनुसन्धान गरिरहेको छ । संविधानले समेत नेपाली सेनालाई सीमा रक्षा गर्ने जिम्मेवारी दिएको छ । संविधानको धारा २६७(१) मा लेखिएको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि यस संविधानप्रति प्रतिबद्ध समावेशी नेपाली सेनाको एक संगठन रहनेछ ।'

यस्तो छ निर्देशनालयको कार्यादेश:

– सिमानाको संवेदनशील विषयमा सम्बन्धित सरकारलाई सुझाव दिने

– गृह, परराष्ट्र तथा भूमिसुधार मन्त्रालयसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, पुरातत्व विभाग, नापी विभागलगायत निकायसँग समन्वय गरी सूचनाको अभिलेख राख्ने

– सीमासम्बन्धी सन्धिसम्झौता, भौगोलिक विवरण, ऐतिहासिक नक्सा, अन्तर्राष्ट्रिय सीमाअंकित नेपालको आधिकारिक नक्सा र सीमा तथा नेपालको सुरक्षासम्बन्धी संवेदनशील प्रकारका लिखित दस्तावेज संकलन र संरक्षण गर्ने


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.