पुस्तौँदेखि सुकुम्बासी बसेको जमिन भूमाफियाको कब्जामा

पुस्तौँदेखि सुकुम्बासी बसेको जमिन भूमाफियाको कब्जामा

बर्दिबास: ६२ वर्षीया सावित्री सदा (मुसहर) महोत्तरी भंगहा ४ थारुटोलमा बस्न थालेको चार पुस्ता भइसक्यो। हजुरबुबाको पालादेखि नै थातथलो बनेको यस ठाउँमा सावित्रीका पनि सन्तान फैलिए ।

तर बस्न थालेको ६७ वर्षपछि सावित्रीसँगै अरु दर्जनौँ सुकुम्बासी परिवारलाई भूमाफियाहरुले थातथलो छाड्न दबाब दिइरहेका छन् । 'मेरो बुबा, हजुरबुबा सबै यहीँ बित्नुभयो । हामीले थाहा पाएदेखि नै यहीँ बसोबास गरिरहेका छौँ । हामीले भोग गर्दैआएको जग्गा अहिले आएर अरुले पास गराइसकेको रहेछ । अहिले हामीलाई यहाँबाट भाग भनेर धम्की दिन थालिएको छ। लालपुर्जा देखाएर हामीलाई उठिबास गराउँदैछन् । अब हामी कँहा जाने ? हामी त घर न घाटको हुन्छौँ नि,' थारुटोलकी सावित्रीले भनिन् ।

थारुटोलकै वीरबहादुर सिंह थारुले गाउँमा २०११ सालेदेखि बसोबास गर्दै आए पनि अहिलेसम्म गाउँका कसैलै लालपुर्जा नपाएको गुनासो गरे । तर पछिल्लो समय अन्यत्रबाट अपरिचितहरु आएर धमाधम जग्गाको लालपुर्जा देखाउँदै बस्ती छाड्न धम्की दिन थालेको थारुको गुनासो छ ।

'जसको तीन पुस्ता यही गाउँमै बित्यो । तिनिहरुले लालपूर्जा पाएनन् । काठमाडौं, खयरमारा, जलेश्वरलगायत अन्यत्रबाट आएका अपरिचित व्यक्तिहरुले लालपुर्जा देखाउँदै जग्गा छोड्न धम्की दिँदैछन् । यदी यो जग्गा हाम्रो हैन भने उनीहरुको नाममा कसरी भयो ? हामी त यहीँ भोगचलन गर्दैआएको पुस्तौँ भयो । तर अचानक कसरी उनीहरुको नाममा भयो ?' वीरबहादुर सिंह थारुले सोधे ।

थारुका अनुसार यो जग्गा सुकुमबासीको नाममा हुकुमबासीले हडपेको भन्दै यहाँका स्थानीयहरु सर्वोच्च अदालत समेत जाने तयारी गरेका छन् । उनीहरुले ती सबैको लालपुर्जा खारेजीको माग गर्दै आफूहरुको नाममा हुनुपर्ने दावी समेत गरेका छन् ।

बर्दिवास नगरपालिका ९ पशुपतिनगरका रामबाबु महतो पनि यस्तै पीडितमध्ये एक सुकुम्बासी हुन् ।आफूले सदियौँदेखि भोग गर्दैआएको जग्गामा घर बनाउन लाग्दा अरुले नै लालपूर्जा देखाउँदै घर नबनाउन धम्की नै आएको गुनासो गर्छन् । एक साताअघि मात्रै गाउँकै रामभजन र जगदिश साहुले घरमै आएर लालपुर्जा देखाउँदै जग्गा आफ्नो भएको दावी गरेको उनले दुखेसो पोखे । 'हामीलाई न्याय चाहियो । आफ्नो जग्गाको लालपुर्जा हामीले पाउनुपर्छ,' महतोले भने ।

पछिल्लो समय सरकारी जग्गाको लालपुर्जा बोकेर भूमाफियाहरु सुकुम्बासी बस्तीमा छिर्न थालेपछि भंगहा र पशुपतिनगरका पीडित सुकुम्बासीहरुले हालै पत्रकार सम्मेलन गरी आफ्नो समस्या सार्वजनिक गरेका थिए । महोत्तरीको बर्दिबासमा गरिएको पत्रकार सम्मेलनमा सहभागी दर्जनौँ पीडितको समस्या सबैको उस्तै थियो ।

आफ्ना समस्या कसैले नसुनेपछि न्यायका लागि उनीहरुले पत्रकारको साथ खोजेको बताए ।राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल महोत्तरीका अनुसार बर्दिबास नगरपालिका ९ पशुपतिनगर र भंगहा नगरपालिका ४ थारुटोल बनरा गरी यहाँ जम्मा ९३ परिवार भूमाफियाबाट पीडित छन् । पत्रकार सम्मेलनको क्रममा मञ्चका सचिव राजकुमार बस्नेतले देशमा भूमिसँग जोडेर राजनीति सुरु भएको बताएका थिए ।

'सुकुम्बासीको जग्गा हडप्ने भूमाफिया गुण्डाहरुले जग्गा फिर्ता नगरे गाउँमै घेराबन्दी गरेर हामी कालोमोसो दल्छौँ' नेकपा एमाले बर्दिबास नगर कमिटीका सचिव देवनारायण महतोले भने, 'बर्दिबास मालपोत कार्यालयका उच्च कर्मचारीहरु पनि भूमाफियाको गिरोहसँग मिलेर गरिब सुकुम्बासीको जग्गा व्यक्तिको नाममा पास गराउँदैछन् । यो हामीलाई मान्य छैन । सरकारले यसको छानविन गर्नुपर्छ ।'

नेपाल भूमीहिन संगठनका केन्द्रीय उपाध्यक्ष गुञ्ज बहादुर खड्काले भूमिहिन सुकुमबासीका हरेक आन्दोलन र संघर्षमा आफ्नो संगठनको साथ सहयोग रहने प्रतिबद्धता जनाए। राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल जिल्ला मञ्च महोत्तरी अध्यक्ष सावित्री बलम्पाकी भन्छिन् 'भूमाफियाहरुले जनप्रतिनिधिसँगकै मिलोमतोमा सुकुम्बासीको उठीबास गराइरहेको छ। यसलाई सरकारले तत्काल कानूनी दायरामा ल्याउनुपर्छ । यो जमिनमा सदियौँदेखि भोगचलन गर्दैआएका सुकुम्बासीकै अधिकार छ।' २०५४ सालमा सुकुम्बासी समस्या समाधान आयोग गठन गरिएको थियो । महोत्तरीमा पनि देवनारायण महतोको अध्यक्षतामा आयोग गठन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.