आमा-बुवाले गरे ८ महिने छोराको हत्या
![आमा-बुवाले गरे ८ महिने छोराको हत्या](https://annapurnapost.prixacdn.net/media/albums/child-death-mother-father_20210914101101_m51QlOwZnv.jpg)
बुटवल : रुपन्देहीको गैडहवामा आफ्नै आमा बुवाले ८ महिने बालकको घाँटी रेटी हत्या गरेका छन् । भदौ २६ गते बिहान करिब १ बजेतिर रुपन्देही गैडहवा गाउँपालिका ६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनु मल्लाहले आफ्नै घरको छतमा लगेर दूधे छोरा सुरज मल्लाहको घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलको सुक्ष्म अवलोकन गर्ने क्रममा घरको छतमा आलो रगत जमेको, बावु र आमा सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया, ओछ्यान तथा विद्युतको स्वीचमा रगत जस्तो रातो टाटा फेला परेको रुपन्देहीका प्रहरी प्रवत्ता सत्यनाराण थापाले जानकारी दिए ।
मल्लाहको श्रीमती रेनु मल्लाहको शरीर समेत खानतलासी गर्ने क्रममा उनले लगाएको साडी भिजेको अवस्थमा रहेको र सो साडीमा रगत जस्तो रातो पदार्थ लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान तथा सोधपुछ गर्दा मृतक बुवा आमा दुवैले हत्या गरेको स्वीकार गरेका छन् ।
मल्लाह दम्पत्तीलाई घटनास्थलबाटै सोही दिन पक्राउ गरी अदालतबाट जरुरी पक्राउ पुर्जी स्वीकृत गराई २७ गते म्याद थप गरी अनुसन्धान भइरहेको थापाले जानकारी दिए । छोरा हत्याको कारण खुलेको छैन ।
मृतकको परिवारमा जग्गासम्बन्धी विवादको कारणले दैनिक झैझगडा हुने गरेको र घटना सोही कारणले भएको हुनसक्ने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)